काठमाण्डौ । एमालेको मेची–काली अभियानमा अवरोधमा उत्रिएको समूहको अगुवाई सिके राउतका कार्यकर्ताले गरिरहेको खुलेको छ । 

प्रहरी हेडक्वार्टरस्थित उच्च स्रोतकाअनुसार सिके राउतका कार्यकर्ताको अगुवाईमा सप्तरीमा सामान्य माहौललाई समेत हिंसात्मक बनाइएको पाइएको हो । 

ती कार्यकर्ताहरुले प्रदर्शनको क्रममा साथमा हतियार समेत बोकेका पाइएको प्रहरीले दाबी गरेको छ । राउतका कार्यकर्तासँग पेट्रोल बम, धारिला हतियार, कटुवा पेस्तोल, ग्रिनेड समेत रहेको भरपर्दो सूचना आएको प्रहरीको दाबी छ । 

प्रहरीको यो दाबीपछि मधेशमा एमालेको मेची महाकाली अभियानको प्रतिकार गर्न तयार समूह हतियारले सुुसज्जित रहेको र अघि–अघि तालिमप्राप्तलाई सारेर पछि पछि मधेशवादी दलका कार्यकर्ताहरु ब्याकअपको रुपमा प्रयोग भएका देखिएको छ । 

‘सप्तरी घटनामा सिके राउत र मधेशवादी दलका कार्यकर्ताहरुबीच साँठगाँठ देखियो ।’ एक उच्च प्रहरी अधिकारीले बिजशालासँग भने–‘तराईमा देखिएको साँठगाँठ तथा योजना निकै डरलाग्दो र संवेदनशील छ, यसले मधेशवादी दलहरुको भूमिकामा समेत प्रश्न उठाइदिएको छ ।’ 

एमालेको मेची–काली अभियानलाई बिफल पार्नैका लागि भनेर भारतबाट ठूलो मात्रामा सहयोग र हतियार आएको सूचना समेत प्राप्त भएको प्रहरी स्रोतको दाबी छ । प्रदर्शनकारीको नाममा सडकमा उत्रिएको समूहले प्रहरी उत्तेजित बनाउने र हिंसा भड्काएर एमाले अभियान अवरुद्ध पार्ने र समग्र स्थानीय निर्वाचनको वातावरण बिथोल्ने रणनीति मधेवशादीहरुले लिएका स्रोत बताउँछ ।

उनीहरुलाई मेची काली अभियान सुरु भएकै दिन भारतीय दूतावासका उच्च अधिकारीहरुले काठमाण्डौमा केही घण्टा क्लास लिई मधेशमा एमालेलाई गतिलो झापड दिने र सोहीअनुरुप स्थानीय कार्यकर्तालाई निर्देशन दिन आग्रह गरेका थिए । यही ग्राण्ड डिजाइनअन्तर्गत सप्तरीमा एमाले प्रवेश गरेलगत्तै बितण्डा मच्चाइएको हो । 

भारतको समेत सबै खालको सहयोग पाएपछि एमाले अभियानलाई विफल बनाउने, मधेशमा आफूहरुको मात्र पकड रहेको देखाउने र संसदमा पेश भएको संविधान संसोधन प्रस्तावलाई जसरी भए पनि अगाडि बढाउने रणनीति मधेशवादीको छ ।  भारतको संस्थापन पक्ष समेत संसोधन प्रस्ताव पास भएपछि मात्र निर्वाचन होस् भन्ने चाहन्छ । यहीकारण मधेशवादी दलहरुलाई उचालेर उसले आफ्नो दूनो सोझ्याउने काम गरिरहेको कतिपय स्रोतको दाबी छ । 

सप्तरीमा सोमबार प्रहरीको गोली लागी चार प्रदर्शनकारीको मृत्यु भएको छ । यो घटनापछि मधेशवादी दलहरुले काठमाण्डौमा आकस्मिक बैठक बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छन् । यसले राजनीतिक समीकरण परिवर्तन हुने र देशमा नयाँ खालको संकटको बादल मडारिएको आभास दिलाएको छ । 

Photo : Myrepublica.com

.........................................................................................

गृहमन्त्रीको शंकास्पद भूमिका
सप्तरीमा हिंसा भड्किएलगत्तै एमालेका नेताहरुले गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा मागेका छन् । एमालेले केही दिनअघिदेखि नै गृहमन्त्रीको चेतावनीको शैलीमा कटुु आलोचना गर्दै आइरहेको छ । एमाले अध्यक्ष केपी ओलीले त यस्ता गृहमन्त्री धेरै देखेका छौ भन्नेसम्मको अभिव्यक्ति दिएका थिए । पछिल्लो पटक गृहमन्त्रीसँग एमाले यसरी चिढिनुुमा पनि विशेष कारण रहेको स्रोत बताउँछ । ‘एमालेलाई पहिलादेखि नै गृहमन्त्री भारतीय डिजाइन अनुसार प्रयोग भएका र उनले जसरी भए पनि एमाले अभियान विफल बनाउने योजनामा पूर्ण साथ दिएका आभास थियो ।’ स्रोतले भन्यो–‘यही रणनीति अनुसार गृहमन्त्रीले सप्तरीको प्रदर्शन नियन्त्रणमा लिनसक्ने अवस्था हुँदा हुँदै केही प्रहरीलाई प्रयोग गरी गोली प्रहार गर्नेसम्मका लागि तयार गराए, यसमा ठूलो षड्यन्त्र छ ।’ 

मधेशलाई छुट्टै देश बनाउने अभियान हाँकिरहेको राउतका तालिमप्राप्त लडाकूहरुले मधेशको प्रदर्शनको नेतृत्व गरिरहेको, गृहमन्त्री निधिले प्रहरीलाई गलत ढंगले परिचालन गरेका र अवस्था अझ अप्रिय बन्नसक्ने भन्दै सोमबार नै सप्तरीमा बसेको एमाले स्थायी कमिटी बैंठकले ३ दिनसम्मका लागि अभियान स्थगित गर्ने निर्णय गरेको छ । तर, त्यसपछि पुनः सुरु हुने अभियान उसले सोचेजस्तो सहज अझ नहुुने देखिन्छ । तीनजनाको ज्यान गइसकेका कारण मधेशका अन्य जिल्लामा समेत यसको सेन्टीमेन्टले काम गर्ने र अवस्था अझ संकटपूर्ण हुनसक्ने विश्लेषक बताउँछन् । 

कांग्रेसको दोहोरो चरित्र, माओवादी सिध्याउने दाउ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समय निर्वाचनको मिति घोषणा गराउनमा निकै दृढ देखिए । उनले प्रधानमन्त्री प्रचण्डले खुट्टा कमाउँदा समेत कि निर्वाचनको मिति घोषणा गर्न, कि त सरकार छाड्नेसम्मको चेतावनी दिए । यो योजना अनुसार नै भएको थियो । भारतीय पक्षको डिजाइन अनुसार नै देउवा प्रयोग भएका देखिएको छ । देउवाले अब गृहमन्त्रीलाई प्रयोग गरेर चुनाव पनि हुन नदिने र चुनाव गराउन नसकेको सम्पूर्ण दोष प्रचण्डको टाउकोमा थुुपारेर माओवादी केन्द्रलाई सत्ताच्यूत गरी साफ गराउने खेल खेलिरहेका स्रोतहरु बताउँछन् । 

एमाले अभियान विफल बनाउन सरकारी संयन्त्रहरुलाई गोप्य रुपमा परिचालन गर्दा उसको पक्षको माहौल बिग्रिने, गृहमन्त्रीले शक्तिको दुरुपयोग गरी केही मान्छे प्रहरीबाट मार्न लगाउँदा त्यसबाट एमालेको छवि मधेशमा अझ धुमिल हुने र यसको एकहोरो फाइदा कांग्रेसले लिने देउवाको रणनीति छ । यही रणनीतिका कारण केही दिनअघि मधेशवादी दलका नेताहरुले कांग्रेसको नेतृत्वमा सरकार बनेको खण्डमा र त्यसले निर्वाचन गराउने हो भने त्यसमा सहभागी हुने संकेत गरेका थिए । यसको मुख्य उद्देश्य भारतीय डिजाइन सफल बनाउने भन्ने नै हो । कारण, कांग्रेसको नेतृत्वमा सरकार बन्दा यसले भारतीय योजना सफल हुने र त्यसबाट मधेशवादी दल र स्वयम् कांग्रेसलाई पनि फाइदा पुुग्ने उनीहरुको विश्लेषण छ । 

आफ्नो नेतृत्वमा चुनाव गराउँदा परिणाम आफ्नो पक्षमा पार्न सहज हुने कांग्रेसको बुुझाई छ भने आफ्ना एजेण्डा कांग्रेसको सहयोगमा पास भए भने त्यसले मधेशमा आफूलाई मसिहा बनिराख्ने जग बनाउने मधेशवादी दलका नेताहरुको बुुझाई छ । सत्ता सहयात्री दल भए पनि सत्ताको नेतृत्व कम्युनिष्ट पार्टीका नेताले गरिरहेकोले एमालेसँग उसको गोप्य सहकार्य हुने र यसले मधेशवादी तथा कांग्रेस दुवै शक्तिलाई स्थानीय निर्वाचनमा घाटा हुने कांग्रेसको बुुझाई छ ।