काठमाण्डौ । प्राइभेट नोकरीमा सधैं अनिश्चितताको बादल मडारिरहेको हुन्छ । मन्दी, घाटा, वा तपाईको प्रदर्शनलाई निहुँ बनाएर यदि कम्पनीले तपाईलाई अप्रत्यासित रुपमा जागिर छाड्ने सूचना थमाइदियो भने तपाई के गर्नुहुन्छ ? हालै मन्दीका कारण कयौं विदेशी कम्पनीहरुले सयौं कामदारलाई विदा दिए । चीनका प्राइभेट कम्पनीमा काम गर्ने लाखौंको अचानक जागिर गयो । नेपालमा पनि यस्ता प्राइभेट कम्पनीहरुमा बेला–बेला यस्तो संकट आउँछ र अचानक जागिर छाड्नुुपर्ने हुनसक्छ । 

यदि तपाई जतिसुकै राम्रो कम्पनी भए पनि प्राइभेटमा काम गरिरहनुुभएको छ भने यो जागिरले तपाईलाई सधैं साथ दिइरहन्छ भनेर सोच्ने भूल कहिल्यै नगर्नुहोस् । तपाईको तलब हजारमा होस् या लाखमा तपाईले बेलैदेखि जागिर छाड्ने संभावित परिस्थितिका लागि आफूलाई तयार त गर्नैपर्छ । अचानक सोच्दै नसोचेको अवस्था आयो भने तपाई को कोसँग चाहि सहयोग माग्दै हिड्नुहुन्छ ?यसकारण प्राइभेट नोकरी गर्ने हरेक व्यक्तिले ब्याकअप प्लान बनाउनुु अति आवश्यक हुन्छ । 

आधारभूत फाइनान्सियल प्लानिंग बनाउन सक्नुुभयो भने त्यसबाट तपाई चिन्तामुक्त मात्र बन्नुुहुन्न, बरु यदि साच्चिकै खराब दिन आए भने पनि त्यसमा सहज ढंगले आफूलाई टिकाउन सक्नुुहुन्छ । यहीकारण अन्तराष्टिय विज्ञहरुले निश्कर्षको रुपमा निकालेको यस्तै ४ प्रारम्भिक स्टेपको बिषयमा बताउन गइरहेका छौ । यी चरणहरुलाई फलो गरेर कुनै पनि बेला आउनसक्ने संकटबाट तपाईले आफू र आफ्नो परिवारलाई बचाउन सक्नुुहुन्छ । 

ब्याकअप फण्ड बनाउने
संभावित खराब दिनको बिषयमा तपाईले पहिलादेखि नै आफ्नो दिमागलाई तयार राख्नुुपर्छ । यदि तपाई प्राइभेट नोकरीमा हुनुहुन्छ भने पहिलादेखि नै सोच्नुुपर्छ कि यदि तपाईको जागिर गयो भने नयाँ जागिर खोज्न कम्तीमा कति दिनको समय लाग्छ होला । विज्ञहरुको अनुसार यस्तो बेलामा ४ देखि ६ महिनाको समय हातमा लिएर अगाडि बढ्नुुपर्ने हुन्छ । अर्थात, तपाईले ४ देखि ६ महिनासम्मको तलबको ब्याकअप बनाएर अगाडि बढ्नुुपर्ने हुन्छ । मानौं, तपाईको मासिक तलब २० हजार रुपैयाँ हो भने तपाईले कम्तीमा ८० हजारदेखि बढीमा १ लाख २० हजारसम्मको ब्याकअप फण्ड बनाइराख्नुपर्ने हुन्छ । 

बिमामा ध्यान दिने
प्राइभेट नोकरी गर्ने हरेक व्यक्तिका लागि अर्को महत्वपूर्ण स्टेप हो टर्म इन्स्योरेन्स । निश्चित अवधिका लागि बेलैमा जीवन बिमा गर्नुपर्छ । यदि भोलिको दिनमा तपाईलाई केही भइहाल्यो भने तपाईको परिवार कसरी चल्छ ? उनीहरुको आर्थिक आधार के होला ? बच्चा कसरी पढ्लान् ? घर कसरी चल्ला ? यो बिषयमा बेलैदेखि तपाई चिन्तित हुनुपर्छ । यी बिषयलाई ध्यानमा राखेर हरेक प्राइभेट नोकरी गर्ने व्यक्तिले बिमाको टर्म प्लान लिनुपर्छ । यस्तो योजना लिइयो भने र यदि तपाईको अचानक मृत्युु भयो भने तपाईको परिवारलाई राम्रो आर्थिक सहायक बिमा कम्पनीबाट प्राप्त हुन्छ । टर्म प्लानमा तपाईलाई कुनै रिटर्न प्राप्त हुँदैन, यही कारण कतिपय मानिस यस्तो गर्न मान्दैनन् । तर मृत्युभएपछिको अवस्थामा सबैभन्दा राम्रो फाइदा बिमाको टर्म प्लानमै हुन्छ । विज्ञका अनुसार तपाईको टर्म प्लान तपाईको वार्षिक तलब स्केलको २० गुणा बढी हुन आवश्यक हुन्छ ।

सञ्चयकोष
हुन त बजारमा स्किमहरुको कुनै कमी छैन, तर सञ्चयकोषको स्किम यस्तो स्किम हो, जहाँ कुनै जोखिम हुँदैन । अहिले एकजना कर्मचारी रहेको प्राइभेट कम्पनी वा व्यक्तिगत रुपमा समेत सञ्चयकोषमा सहभागी हुन पाइने व्यवस्था छ । यसमा हरेक वर्ष निश्चित दरमा ब्याज प्राप्त हुन्छ । कम्पनीको सहयोगमा सहभागिता भयो भने त्यसबाट अझ बढी फाइदा हुन्छ । यसमा तपाईले १५ वर्षसम्म पैसा जम्मा गर्न सक्नुहुुन्छ, कुल कमाईको १० प्रतिशत मात्र पनि हरेक महिना जम्मा गर्न सक्नुुभयो भने पनि यसबाट तपाईलाई ठूलो आर्थिक सहायता प्राप्त हुनसक्छ । 

स्वास्थ्य स्किम
हिजोआज उपचार निकै महंगो भएको छ । ठूला अस्पतालमा उपचार गराउनुु एउटा प्राइभेट कम्पनीमा मध्यम खालको जागिर खानेहरुको काबुुमा हुन्न । यस्तो अवस्थामा स्वास्थ्य बिमामा समेत सहभागी हुन सकिन्छ । कतिपय कम्पनीले आफ्ना कर्मचारीलाई मेडिक्लेम पोलिसी दिइरहेका हुन्छन्, यस्ता बिषयमा काम गरुञ्जेल अपडेट भइरहनुुपर्छ । कम्पनीको तर्फबाट उपचारको जे सुविधा प्राप्त भइरहेको हुन्छ, के त्यो पर्याप्त छ भन्ने बिषय हेर्नुपर्छ । तपाईले लिइरहेको स्किम भन्दा अझ टपको अर्को कुनै  स्किम छ भने थोरै बढी प्रिमियम दिएर त्यसमा सहभागी हुन सकिन्छ । यो संभव भएन भने तपाईले छुट्टै ढंगले स्वास्थ बिमा गर्नुसक्नुुहुन्छ । विज्ञहरुले प्राइभेट नोकरी गर्ने व्यक्तिले आफ्नो कमाईको बढीमा ४० प्रतिशत रकम विभिन्न योजनाहरुमा बचत गर्नुपर्ने हुन्छ । यसबाट तपाई तथा तपाईको परिवारलाई सधैं आर्थिक सुरक्षाको ग्यारेण्टी भइराख्नेछ, कुनै जोखिमको बहन गर्नुपर्ने हुन्न ।