काठमाण्डौ । नेपाल राष्ट्रबैंकको ठाडो निर्देशनमा नेपाल बैंकर्स एशोसिएसनका सदस्य बैंकहरुको बिहीबार बसेको बैठकले अटोमोवाइल क्षेत्रलाई ‘अनुत्पादक क्षेत्र’ भन्दै त्यसमा प्रवाह हुने कर्जा बन्द गर्ने निर्णय गरेपछि व्यवसायी आक्रोशित भएका छन् । 

‘यो क्षेत्र त विकासको सूचक हो, कारण मानिसको मोविलिटी जति बढ्छ, उति अर्थतन्त्र चलायामान हुन्छ । यस्तो महत्वपूर्ण क्षेत्रलाई अनुुत्पादक किन भनियो ?’

-शेखर गोल्छा

अटोमोवाइल क्षेत्रका व्यवसायीहरुले आफूूहरुको व्यवसायलाई बैंकर र राष्ट्रबैंकका जिम्मेवार अधिकारीहरुले समेत अनुत्पादक क्षेत्र भनेर अवमूल्यन गरेका आरोप लगाएका छन् । 

‘अटोकर्जा बन्द गर्ने निर्णय दुुर्भाग्यपूर्ण छ ।’ नेपाल अटोमोवाइल डिलर्स एशोसिएसनका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले बिजशालासँग भने–‘सर्वसाधारणलाई अर्थतन्त्रको गतिसँग जोड्ने अटोमोवाइल क्षेत्र कसरी अनुुत्पादक क्षेत्र भयो ? के आधारमा यसलाई अनुुत्पादक भनिदैछ ?’

गोल्छाले देशले उठाउने कुल राजश्वमा अटोमोवाइल क्षेत्रको ४० प्रतिशत योगदान रहेको, तर तरलता अभावको समस्या समाधानको नाममा यही क्षेत्रलाई निरुत्साहित पार्न खोजिएकोमा आपत्ति जनाए । ‘मुुलुुकको विकास बजेटमा मुख्य योगदान पनि अटोमोवाइल क्षेत्रकै छ ।’ उनले थपे–‘अटोमोवाइल क्षेत्रलाई यो वा त्यो बाहानामा रोक्ने हो भने नेपालको विकास खर्च जुट्दैन, अर्थतन्त्र नै चौपट हुन्छ ।’ 

उनले अर्थतन्त्र बुुझेका बैंकर र राष्ट्रबैंकका अधिकारीले अटोमोवाइल क्षेत्रलाई अनुत्पादक भनेर परिभाषित गर्नुलाई दुुर्भाग्यपूर्ण भन्दै प्रश्न गरे–‘यो क्षेत्र कसरी अनुत्पादक भयो ? ट्रक, बस, गाडी, मोटरसाइकल कसरी अनुत्पादक हो ? यी साधनले कुनै न कुनै तरिकाले उत्पादनशीलता बढाएकै छ । सार्वजनिक सवारी साधनको कमीमा मानिस गन्तव्यमा कसरी पुुग्नसक्छ ? कुनै साधन त चाहियो होला । सवारी आवागमनबिना विकास कसरी संभव छ ?’ 

राष्ट्रबैंकको निर्देशनमा बैंकर्सहरुले गरेको निर्णयले तत्काल अटोमोवाइलको बिक्री घट्ने र यसले देशको राजश्वमा सोझै हिट गर्ने उनको भनाई छ । ‘अटोमोवाइल क्षेत्रलाई यसरी रोक्दा सरकारको लक्षित राजश्व समेत उठ्न सक्दैन ।’ उनले भने–‘यो क्षेत्र त विकासको सूचक हो, कारण मानिसको मोविलिटी जति बढ्छ, उति अर्थतन्त्र चलायामान हुन्छ । यस्तो महत्वपूर्ण क्षेत्रलाई अनुुत्पादक किन भनियो ?’ उनले अटोमोवाइल क्षेत्र उत्पादनमूलक हो कि अनुुत्पादक हो भन्ने बिषयमा अर्थशास्त्रीहरुलाई राखेर बहस गर्नुपर्ने आवश्यकता औंल्याए । ‘कुनै पनि अर्थशास्त्रीलाई सोध्नुुहोस्, अटोमोवाइल क्षेत्र अनुत्पादक क्षेत्र हुनैसक्दैन ।’ उनले थपे–‘मानिसको मोविलिटी प्रवद्र्धन गर्ने यो क्षेत्रलाई संकुचित पार्न खोज्नु वा सकस दिनुु अर्थतन्त्रको वृद्धिलाई रोक्नु हो । अटो कर्जा प्रवाहलाई कुनै पनि हालतमा रोक्नुुहुन्न ।’ 

नेपाल अटोमोवाइल डिलर्स एशोसिएसन(नाडा)का अध्यक्ष अञ्जन श्रेष्ठले बैंकर्सहरुको निर्णयले आफू आश्चर्यमा परेको प्रतिक्रिया दिए । उनले तरलता अभावको समस्या समाधानका लागि गलत बाटो रोजिएको टिप्पणी गरे । ‘रोग लागेको छ एउटा औषधि चलाइँदैछ अर्को ।’ उनले भने–‘यो निर्णय यदि भएको हो भने सर्वथा गलत छ ।’ उनले अटोमोवाइल क्षेत्रको व्यापार संकुचित हुने गरी कर्जा रोकिएको भन्ने बिषयमा आफूूले संभवत शुुक्रबार नै गभर्नर र बैंकर्स एशोसिएसनका अध्यक्षलाई भेट्ने जानकारी दिए । ‘त्यसपछि मात्रै बाँकी कुरा बोल्छु।’–उनले भने ।