काठमाण्डौ । अन्ततः स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओको प्रदर्शन अपेक्षा गरेजस्तो उत्साहप्रद हुन सकेन। अन्तिम दिन शुक्रबार मात्रै १९ अर्ब २५ करोडको आवेदन पर्यो ।

यो बैंकको एफपीओमा कुल २९ अर्बको आवेदन परेको र देशभरका परम्परागत तथा आस्वा संकलन केन्द्रबाट १ लाख ८३ हजारले आवेदन दिएका बिक्री प्रबन्धक एनएमबी क्यापिटलका सीइओ श्रीजेश घिमिरेले जानकारी दिए । 

यसअघि बजारमा तहल्का मच्चाएको नेपाल लाइफको एफपीओको तुलनामा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ औसत  देखिएको छ । कुल प्रस्ताव परेको रकम र आवेदकहरुको संख्याको हिसाबले स्ट्याण्डर्ड चार्टर्ड केही कमजोर देखियो । यसको मुख्य कारण, यो बैंकको पछिल्ला वर्षहरुमा खस्कदो अवस्था नै हो । यो बैंक अधिकांश प्रमुख सूचकहरु धराप बन्दै जाँदा लगानीकर्ता कुनै बेलाको मार्केट मेकरबाट बिमुख बन्दै गएका देखिएको छ । 

नेपाल लाइफको एफपीओमा अन्तिम दिन ३७ अर्बको हाराहारीमा आवेदन परेको थियोे । देशभरबाट नेपाल लाइफमा अन्तिम दिन मात्रै १ लाख ४२ हजार आवेदन परेका थिए । जबकि स्ट्याण्डर्ड चार्टर्डको कुल आवेदन संख्या नै १ लाख ८३ हजार मात्र छ । नेपाल लाइफको एफपीओमा अढाई लाख आवेदकबाट ५२ अर्बको हाराहारीमा प्रस्ताव परेको थियो । इन्स्योरेन्स कम्पनी र बैंकबीचको तुलना कतिपय अवस्थामा असान्दर्भिक भए पनि नेपाल लाइफको भन्दा उच्च चुक्तापूँजी भएको र ब्राण्डको हिसाबले समेत निकै माथि मानिएको स्ट्याण्डर्ड चार्टर्डको यो प्रदर्शनलाई बलियो वा उत्साहजनक मान्न सकिन्न । 

तुलनात्मक रुपमा कम आवेदन परे पनि यसको फाइदा भने एफपीओमा सहभागी लगानीकर्तालाई हुने देखिन्छ । नेपाल लाइफको उच्च आवेदन पर्दा कतिपयको भागमा एकै कित्ता पनि परेको थिएन । 

तथापि, यो बैंकले माग गरेभन्दा ९ गुणा बढी आवेदन भने परेको छ । बैंकको अन्तराष्ट्रिय ब्राण्डको कोणबाट हेर्दा मात्र अपेक्षा भन्दा कम आवेदन परेको देखिएको हो । धेरैले यो बैंकमा नेपाल लाइफको भन्दा बढीको प्रस्ताव आउने अनुमान गरेका थिए, तर सबै गलत साबित भए । 

यो बैंकले प्रिमियमसहित १२ सय ९० प्रतिक कित्ताको दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ निश्कासन गरेको थियो । चैत १ गतेदेखि आवेदन आह्वान गरिएकोमा चार गते(शुक्रबार) अन्तिम दिन थियो ।