काठमाण्डौ । उच्च अंकको पहिरोको सामना गरिरहेको बजारमा साताको अन्तिम कारोबार दिन थोरै भए पनि राहात मिलेको छ । 

बजार परिसूचक ४.७८ अंकले बढेसँगै कारोबार रकम पनि करिब २ करोडले वृद्धि भएको छ । साताको अन्तिम दिनको कारोबारमा सामान्य राहात देखिए पनि आगामी दिनमा बजार सहजै बाउन्स ब्याक हुने अवस्था भने छैन । 

बिहीबार नेप्से परिसूचक १४७५.४१ अंकमा बन्द भयो । ४ समूहको सूचक उक्लियो भने अन्य समूह गिरावटको मारमा परे । 

अन्य समूह र उत्पादनमूलकको सूचक सबैभन्दा धेरै बढ्यो । अन्य समूह १९.९६ र उत्पादनमूलक ३४.०१ अंकले बढे । यस्तै, वाणिज्य बैंक २.९२ अंकले बढ्यो भने विकास बैंकमा ५.८४ अंकको बढोत्तरी देखियो । बाँकी सबै समूह ओरालो लागे । बित्त समूह ३.५६अंकले घट्यो भने जलविद्युत, होटल र बिमा समूह क्रमशः  १५.३१, २३.३१ र ९.४८ अंकले ओरालो लागे । 

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार १३८ कम्पनीको ७ लाख ६९ हजार ९ सय २० कित्ता सेयर ५० करोड २२ लाखमा किनबेच भयो । 

वाणिज्य बैंकहरुको कारोबार बिहीबार निकै घट्यो । यो समूहले १५ करोड ५५ लाखको मात्र कारोबार गर्यो । बिमा कम्पनीहरुले ११ करोड ४१ लाख र विकास बैंकहरुले ७ करोड बराबरको कारोबार गरे । 

कम्पनीगत हिसाबले बिहीबार ४ करोड ४२ लाखको सनराइज बैंकको प्रोमोटर सेयर किनबेच भयो । नेका इन्स्योरेन्सले ४ करोड २७ लाख, नेपाल टेलिकमले ४ करोड, चिलिमे हाइडोले ३ करोड ८९ लाख, एभरेष्ट बैंकले १ करोड ८७ लाख, नेपाल एसबीआई बैंकले १ करोड ४५ लाखको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थानमा वाणिज्य बैंक, २ स्थानमा बिमा, एक जलविद्युत, एक विकास बैंक र एक अन्य समूहको कब्जा रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
बिहीबार पनि एनबी इन्स्योरेन्सले नै कमायो । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो । ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि कमाए । यो कम्पनीको सेयर मूल्यमा ६.५८ प्रतिशतको वृद्धि भयो । अन्य तीन कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीको दरले वृद्धि भयो । 

माउण्ट मकालू डेभलपमेन्ट बैंक, आइएलएफसीओ माइक्रो फाइनान्स बित्तीय संस्था र सप्तकोसी डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाए । माउण्ट मकालुुको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा, आइएलएफसीओको साढे ५ प्रतिशतको हाराहारी तथा सप्तकोसीको ५ प्रतिशतले घट्यो ।