काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार विगत केही दिनदेखि शेयरबजारमा लगातार होल्ड कायम गर्दै आएको बिमा समूहको सूचक तेहेरो अंकले बढेको छ । समूह सूचकमा बिमा अगाडि भए पनि कारोबारको हिसाबले स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट बैंक, नेपाल लाइफ लगायतका कम्पनी अगाडि रहे ।

अरु बेला दोहोरो अंकले बढिरहेको बिमाको सूचक तेहेरो अंकले बढ्दा बुधबारको तुलनामा कारोबार रकम समेत बढेको छ । 
बिहीबार अन्य बाहेकका सबै समूहको सूचक हरियो हुँदा नेप्से परिसूचक ६.५३ अंकले उकालो लाग्दै १४६४.९१ अंकमा पुगेको हो । 

सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीमको मात्र १ लाख ३८ हजार ३ सय ८५ कित्ता शेयर कारोबार भयो । तारागाउँ रिजेन्सी होटलको शेयरले सर्किट ब्रेक गर्यो । 

बिहीबार बिमा समूहको सूचक १११.८४ अंकले उकालो लाग्यो । जलविद्युत समूहको सूचक ९.७४ अंकले उक्लिँदा होटल समूहको सूचक पनि ८.०६ अंकले बढ्यो । डेभलपमेन्ट बैंक समूहको सूचक ७.९९ अंकले उकालो लाग्दा वाणिज्य बैंकको सूचक पनि २.३२ अंकले उक्लियो । बिमा समूहको सूचक पनि ५ अंकले माथि लाग्यो । 

बिहीबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको मात्रै १७ करोड ७३ लाख मूल्यका ४९ हजार ७ ३६ कित्ता शेयर किनबेच भएको छ । बैंकको अन्तिम कारोबार ३५ सय ९५ रुपैयाँ रहेको छ । यो बैंकले राष्टबैंकबाट तोकिएको ८ अर्ब चुक्तापूँजी पुर्याउन मर्जरलाई छाडेर बोनस र हकप्रद शेयरको बाटो रोज्ने तयारी गरेको खबर बाहिरिनासाथ लगानीकर्ता यसको शेयर खरीदमा झुम्मिएका हुन् । 

एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक लिमीटेडको शेयर कारोबारले पनि बजारलाई माथि उचाल्न सहयोग गरेका छन् । 

बिहीबार १२९ कम्पनीका १२ लाख ७१ हजार ६ सय २८ कित्ता शेयर कारोबार हुँदा ९६ करोड ६२ लाख पुँजी परिचालन भयो । साताको अन्तिम दिन फ्लट इण्डेक्स र सेन्सेटिभ इण्डेक्स क्रमशः ०.२ र ०.२७ अंकले उक्लिए ।