काठमाण्डौ । अन्यौलको कालो बादलले छाएको बजारमा मंगलबार आशाको किरण देखिएको छ । यो दिन बजार परिसूचकमा सामान्य गिरावट आए पनि कुल कारोबार भने बढेको छ । सोमबारको तुलनामा कुल कारोबार करिब ८ करोडले बढेको हो । बजार घट्ने दर केही खुम्चिनु र बजारलाई टर्नओभरको साथ प्राप्त हुनुुले बजार स्थिर हुुने र निरन्तर नघटिरहने संकेत गर्ने विश्लेषक बताउँछन् । यहीकारण समेत मंगलबारको कारोबार र बजारको प्रस्तुतीले आशाको किरण देखाएको उनीहरुको भनाई छ । 

बजार परिसूचक ४.२४ अंकले घटेर १३४४.६० अंकमा पुुगेको छ । बित्त र अन्य समूहको सूचकमा सामान्य बढोत्तरी भए पनि बाँकी सबै समूहमा रातो पोतिएको छ । 

सबैभन्दा बढी होटल समूहको सूचक घटेको छ । यो समूह ४१.७ अंकले घटेको हो । यस्तै, वाणिज्य बैंक समूह ५.१५ अंकले घटेको छ भने विकास बैंक, बिमा र जलविद्युत समूहमा क्रमशः ३.२६, २३.५६ र ६.२१ अंकको गिरावट आएको छ । बित्त समूह ०.३७ अंकले बढेको छ भने अन्य समूहमा ३.१८ अंकको वृद्धि देखिएको छ । 

सेन्सेटिभ इण्डेक्स १.०४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.३५ अंकले ओरालो लागेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार १ सय ३२ कम्पनीका ११ लाख ८५ हजार ७ सय ६४ कित्ता सेयर ३१ करोड ९८ लाख ८० हजारमा किनबेच भयो । सोमबार करिब २४ करोडको मात्र कारोबार भएको थियो । 

मंगलबार प्रभूू बैंकले उच्च कारोबार गर्यो । यो बैंकको २ करोड २१ लाख बढीको सेयर किनबेच भयो । यस्तै, नेपाल लाइफको २ करोड ७ लाख, नेपाल टेलिकमको १ करोड ९७ लाखको सेयर कारोबार भयो । यस्तै, चिलिमे हाइडोपावर कम्पनीले १ करोड ३९ लाख, एभरेष्ट बैंकले १ करोड २६ लाख, नवील बैंकले १ करोड ३ लाख ९२ हजार, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ३ लाख ६९ हजारको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थानमा वाणिज्य बैंक, २ स्थानमा जलविद्युत कम्पनी, एक स्थानमा बिमा र एक स्थानमा अन्य समूहको बर्चश्व रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा उच्च नाफा कमाएको नेपाल बैंक लिमीटेडले सबैभन्दा बढी कमाएको छ । यो बैंकको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै, सानिमा माई हाइडोको सेयर मूल्य ४.५० प्रतिशत र सिनर्जी फाइनान्सको सेयर मूल्य ४.३५ प्रतिशतले बढेको छ । 

मंगलबार सबैभन्दा बढी महिला सहयात्रा माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य घटेको छ । यो कम्पनीको सेयर मूल्यमा ७.१३ प्रतिशतको गिरावट आयो । तिनाउ डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.५५ प्रतिशतले घट्यो भने एनआइबिएल समृद्धि फण्ड १ को मूल्य पनि ५.३५ प्रतिशतले घट्यो । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य पनि ५.३३ प्रतिशतले घट्यो ।