काठमाण्डौ । अफिसमा तपाईलाई आफ्नो काम मनपर्छ, तर अफिस मन पर्दैन । यस्तै भइरहेको छ हैन ? धेरै मानिसलाई यस्तै हुन्छ । 

त्यसो त हिजोआज अफिसको व्यवस्थापन गर्दा सानो ठाउँमा धेरै मानिस अटाउन खोजिन्छ । एकै ठाउँमा धेरै सामान राखी भद्रगोल पार्न खोजिन्छ, जुन गलत हो । 

ठाउँको कञ्जुुस्याईका कारण कतिपय अफिसमा झ्याल राखिन्न, अफिस पूर्ण रुपमा बन्द हुन्छ, कम प्रकाश कोठामा छिर्छ, कोठामा एउटा कुर्सी, टेबल र कम्प्युुटर मात्र हुन्छ । धेरैको अफिसको यही समस्या हुन्छ । यसको ठाडो असर कर्मचारीको स्वास्थ्य, सिर्जनशीलतामा पर्न जान्छ र यही कारण कर्मचारीले भनेको गतिमा काम गर्न सक्दैनन् । 

तर, यदि अफिस स्पेशलाई सुन्दर र फराकिलो बनाउन जोड दिइयो भने यी सारा समस्याबाट छुट्कारा पाउन सकिन्छ । जस्तो, अफिसको भित्तामा राम्रो रंग लगाइयो, आसपास राम्रा फूल तथा प्लान्ट रोपियो तथा सफ्ट लाइट्स प्रयोग गरियो भने अफिसको माहौल नै परिवर्तन भइदिन्छ । कर्मचारीहरुको काममा पनि यसको राम्रो असर देखिन्छ । यी सारा कुरा बायोफिलियाको सिद्धान्तमा आधारित छ । यो सिद्धान्तका अनुसार मानिसको प्रवृति तथा आनीबानी सुन्दरता तथा दोश्रो जिवसँग गहिरो सम्बन्ध हुन्छ । 

बीबीसी हिन्दीले प्रकाशन गरेको एक आलेखमा इंग्ल्याण्डका म्यानेचस्टर युुनिभरसिटीका प्रोफेसर सर केरी कपूरलाई उद्धृत गर्दै लेखिए अनुसार कुनै पनि व्यक्ति यस्तो अफिसमा काम गर्न चाहदैन, जहाँ उज्यालो नहोस् । आसपास फूल तथा वनस्पतिहरु नहुन् । 

प्रोफेसर केरीले सन् २०१५ मा १६ देशका करिब ७ हजार ६ सय व्यक्तिबीच एक सर्वेक्षण गरेका थिए । सो क्रममा अफिसको स्वरुपमा सामान्य परिवर्तनले कर्मचारीको सिर्जनशीलतामा १५ प्रतिशत तथा उत्पादन क्षमतामा ६ प्रतिशतको वृद्धि भएको पाइयो । एकतिहाई मानिसले भनेका थिए कि उनीहरुको अफिसको डिजाइन परिवर्तनको निर्णय लिएपछि धेरै कुरामा परिवर्तनको आभास भयो । यस क्रममा ७ प्रतिशत मानिसले भनेका थिए कि उनीहरुको अफिसमा प्राकृतिक प्रकाश छिर्दैन । 

करिब ५८ प्रतिशत मानिसले उनीहरुको अफिसमा कुनै वनस्पति नरहेको बताएका थिए । सोचौं त यस्तो अफिसमा काम गर्न कति गाह्रो होला ? कति उकुुसमुकुुस होला ?

सन् २०१४ मा एक अर्को अध्ययन भएको थियो । सो क्रममा पनि पत्ता लागेको थियो कि जुन ठाउँमा फूल तथा वनस्पतिहरुको बोटबिरुवा छन्, त्यहाँका कर्मचारी धेरै खुशी हुन्छन । साथै जानकारहरुका अनुसार बायोफिलियाको सिद्धान्तमाथि अझै धेरै काम गर्न बाँकी नै छ । 

यसमा कुनै दुुईमत छैन कि हरियाली र प्राकृतिक प्रकाश स्वास्थ्यका लागि राम्रो मानिन्छ । जो मानिस प्रकृतिको नजिक बस्छ, उसको स्वास्थ्य ठूला ठूला शहरको आलीसान महलमा रहनेहरुको स्वास्थ्य भन्दा राम्रो हुन्छ । 

सन् २०१५ मा स्पेनको बार्सिलोनामा गरिएको एक अध्ययनको क्रममा पनि स्कूल परिसरमा धेरै हरियाली हुँदा बच्चाको दिमागी विकासमा बढोत्तरी भएको पाइएको थियो । हरियालीमा नांगो पाइतालाले हिँड्दा तपाईभित्रको नकारात्मक सोंच दूूर हुन्छ र तपाई तनावमुक्त हुनुहुनेछ । डाक्टरहरुले अक्सर यस्तो सल्लाह दिइरहेका हुन्छन् । 

यदि प्रकृतिसँग बस्दा तपाईलाई यति धेरै फाइदा हुन्छ भने आफ्नै फ्ल्याट वा अफिसमा यी चिजहरुलाई किन स्थान नदिने ? किनकि घरपछि अफिस नै त्यस्तो ठाउँ हो, जहाँ तपाई धेरै समय बिताउनुहुन्छ । 

तर आफ्नो डेस्कमा एउटा सानो बिरुवा वा प्लान्ट राखेर मात्र यस्तो परिवर्तन संभव हुन्न । अफिसलाई नै हरियालीमय बनाउनुुपर्छ । 

जस्तो पछिल्लो समय अमेजन कम्पनी यस्तो अफिस बनाउन गइरहेको छ, जहाँ ठूलो पार्कको जस्तै माहौल हुनेछ । बैठक कक्ष यस्तो तयार गरिदैछ, जहाँ ठूला ठूला रुखहरु आफैं हुर्किएका जस्तो लाग्नेछ । 

यसका लागि अमेजनले ३० देशबाट ३ हजार वनस्पति तथा बिरुवा मगाइसकेको छ । यति मात्र होइन, यहाँ बस्नका लागि यस्तो कुर्सीको डिजाइन गरिँदैछ, जसले कुनै जंगलभित्र बसेको आभास हुनेछ । 

यस्तो माहौल तयार गर्न मोटो रकम खर्च हुन्छ, यो स्वभाविक हो । यदि तपाईंसँग ठूलो रकम यसका लागि छैन भने कर्मचारीसँग सल्लाह गर्नुहोस कि उनीहरुलाई काम गर्न कस्तो माहौल उचित हुन्छ भनेर । त्यसपछि सोही अनुसार अफिसको डिजाइन गर्नुहोस् । तर अफिस यस्तो नहोस् कि जहाँ मेसिनले मानिसमाथि काबुु जमाइरहेको छ जस्तो देखियोस् । 

जानकारहरुका अनुसार यदि तपाईंसँग अफिसमा राम्रो बोटबिरुवा र फूल राख्ने बजेट छैन भने पनि अफिसको भित्तामा फूल वा बोटबिरुवाको ठूला तस्विर झुुण्ड्याउन सक्नुुहुन्छ । 

भुुइँमा यस्तो कार्पेट बिछ्याउनुहोस्, जहाँ हिँड्दा घाँसमा हिँडेको जस्तो लागोस् । अफिसमा माछा देख्दा समेत सकारात्मक इनर्जी प्राप्त हुन्छ । यसका लागि अक्वारियम लगाउन सकिन्छ ।

 

सिर्जनशीलता बढाउन रंगको पनि निकै ठूलो भूमिका हुन्छ । यसकारण अफिसमा पेन्ट गराउने क्रममा रंगमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यदि अफिसको भित्ता सादा सेतो रंगले रंगिएको छ भने हुनसक्छ त्यहाँका कर्मचारीहरु आफ्नो प्रतिभालाई पूूर्ण रुपमा प्रयोग गर्न पाइरहेका हुँदैनन् । 

रंगको प्रयोग भौगोलिक स्थितिमा पनि निर्भर हुन्छ । जस्तो क्यानडामा बैजनी रंग कर्मचारीको खुशीसँग जोडिन्छ । जब कि चीनमा खैरो रंग राम्रो मानिन्छ । 

अमेरिकाको क्यालिफोर्नियाको एक कल सेन्टरमा सबै कर्मचारीहरुलाई सानो सानो क्यूबिकलमा बसाएर काम गराइयो । एक कर्मचारीले सधैं झ्यालबाट बाहिरको सुन्दर प्रकृति हेर्न पाउँथे । पछिबाट देखियो कि ती कर्मचारीको कामको रफ्तार अन्य कर्मचारीको तुलनामा ७ प्रतिशतसम्म बढी थियो । 

त्यसपछि कम्पनीले हरेक कर्मचारीको काम गर्ने ठाउँमा १ हजार डलर खर्च गर्ने निर्णय लियो । परिणामतः कम्पनीको मुनाफामा समेत निकै ठूलो बढोत्तरी भयो । 

त्यसकारण यदि तपाई पनि आफ्नो कम्पनीको मुनाफा बढाउन चाहनुुहुन्छ भने कर्मचारीहरुले काम गर्ने स्थानमा आमूल सुधारतर्फ ध्यान दिनुुहोस् । कामदारको स्वास्थ्य राम्रो हुन्छ भने स्पष्ट छ कि कम्पनीको स्वास्थ्य समेत राम्रो हुनेछ । यसको अर्थ यी कुरामा ध्यान दिने कम्पनीको मुनाफा पनि निकै राम्रो हुन्छ । त्यसकारण विलम्ब केका लागि ? थोरै लगानी गरेर धेरै फाइदा आर्जन गर्ने कुरामा ढिला नगरौं ।