काठमाण्डौ । सुन देख्दा जति चमकदार र आकर्षक हुन्छ, अफ्रिकाको खानीबाट निकाल्ने कथा उत्तिकै कालो र डरलाग्दो छ । अस्ट्रेलिया र क्यानडा जस्ता देशमा आधुनिक तरिकाले सुनको उत्खनन् हुने गरे पनि अफ्रिकामा भने आज पनि पुरातन तरिकाबाटै सुन उत्खनन् गर्ने चलन छ । अफ्रिकी देशमा सुनको खानी निकै गहिरो, डरलाग्दो र खतरनाक हुन्छ । यहाँका मानिस मरुभूमिमा समेत सुन खोजिरहेका हुन्छन् । यस्ता खानीको चारैतिर डरलाग्दो मरुभूमि हुन्छ । मानिस यसैमा सुन खोज्न ज्यानको बाजी लगाएर मरिहत्ते गरिरहेका भेटिन्छन् । 

अफ्रिकामा बेरोजगारी दर उच्च छ । चरम गरीबीमुनि पिल्सिएका युवाहरु ज्यानको बाजी राखेर दयनीय अवस्थामा सुन खोज्ने कार्यमा तल्लीन हुन्छन् । पश्चिमी अफ्रिकी देश घाना, टोगो, बेनिन, रियेरा लियोनमा सुन उत्खनन्को क्रममा कयौं युवाहरु मृत्युको मुखमा पनि परेका छन् । यति मात्र होइन, सुन निकाल्ने खास तालिम र सुरक्षाको उपाय नअपनाउँदा समेत यहाँका युवाहरु मृत्युमा मुख पर्ने गरेका छन् । 

अफ्रिकी देशमा हाल सुनको खानी रहेको क्षेत्र आसपास करिब ६० देखि ७० हजारको संख्यामा रहेका मानिस कयौं अभावहरुसँग झेल्दै बसिरहेका छन् । यहाँको पूरा उत्खनन् नै पुरातन ढंगले गर्ने गरिन्छ । सुनको खानी आसपासको यी गरीब मानिसहरु झुपडी बनाएर बसेका हुन्छन् । यहाँ उनीहरुले डरलाग्दो आँधी र कयौं समस्याहरुको सामना गर्नुपर्छ । 

डिटेक्टरले पनि खोजिन्छ सुन
सूडानमा नागरिक हरेक बिहान डिटेक्टर लिएर सुन खोज्न मरुभूमिमा निस्कन्छन । सुनको खोजीको क्रममा निकै गहिरो र डरलाग्दो खानी क्षेत्रमा समेत जानुपर्ने हुँदा उनीहरुले हरेक मिनेट ज्यानको बाजी खेलिरहेका हुन्छन् । एक डोरीको साहारा लिएर मानिस सुनको खानी रहेको खाल्डोमा जान्छन् र त्यहाँ सुन खोज्छन । तपाईलाई जान्न मन लागिरहेको होला, आखिर यहाँका मानिस मरुभूमिमा कसरी सुन पत्ता लगाउँछन वा भेट्लान् भन्ने कुरा । आउनुहोस्, यो बिषयमा समेत जानौं ।

यसरी खोजिन्छ
मरुभूमिको बीचमा जहाँ सुनको खानी भेटिन्छ, त्यहाँ बालुवा र गिटी तथा ढुंगालाई पानीमा मिसाइन्छ, ताकि त्यहाँ रहेको सुनको भागलाई अलग गर्न सकियोस्  जहाँ–जहाँ सुनको खानी हुन्छ, त्यहाँ–त्यहाँ निकै गहिरो खाल्डो हुन्छ । कहीँ–कहीँ चाहि चट्टानमा दरार समेत हुन्छ । तर पनि मानिस सबै जोखिम मोलेर आफ्नो पेट भर्नैका लागि डरलाग्दा खानीमा उत्रन्छन् र सुन निकाल्ने काम गर्छन । भित्र गएर खन्ने काम सुरु हुन्छ । चट्टानलाई फुटाइन्छ, ताकि सजिलै ढंगले सुन प्राप्त होस् ।

बालुवाको रुपमा प्राप्त हुन्छ सुन
खानीलाई खनेपछि त्यहाँ बालुवाको रुपमा सुन प्राप्त हुन्छ । चट्टानमा ज्यादा हिस्सा ढुंगाको हुन्छ र त्यहाँ सुन पनि हुन्छ । जब बालुवाबाट सुन निकाल्नुपर्ने हुन्छ, तब त्यसलाई पहिला कपडाको मद्धतले छान्ने काम गरिन्छ, पानीले धोएपछि सुनको सजिलै पहिचान हुन्छ । कयौं दिन लाग्ने यो प्रक्रियाका लागि अफ्रिकी परिवार टेन्टमा बस्छन । पानी पर्दा यी परिवार सामान लिएर सुरक्षित स्थानतर्फ भाग्छन् र चिल्लीबिल्ली हुन्छन् । 

बालुवाबाट सुन अलग गरेपछि त्यसलाई जाँच केन्द्रमा लगिन्छ । यो क्षेत्रमै सुनको सही वजन लिइन्छ । त्यहाँका कर्मचारीले जसले सुन लिएर आएको छ, त्यो कति खरो र शुद्ध छ भन्ने कुरा चेकजाँच गरेर पत्ता लगाउँछन । यो केन्द्रबाट कर्मचारीको रुपमा खटिएका अफ्रिकीहरुले आफूले ल्याएको सुन यहाँ जम्मा गरिदिन्छन । 

ढुंगामा चम्किन्छ सुन
चट्टानको टुक्राहरुमा सुन चम्किन्छ । शुद्ध सुनका लागि सबैभन्दा पहिला सुन रहेको चट्टानलाई मज्जाले धोइन्छ र त्यसलाई मिल्समा पठाइन्छ । मिल्समा यो चट्टानबाट सुनका साना–साना कणहरु पानीको साहारामा अलग पार्ने काम गरिन्छ । त्यसपछि पारोको मद्धतबाट सुनलाई अझ खार्ने काम गरिन्छ । सुन र पारो मिलेर अमलगम बन्छ । एकपटक अमलगम बनेपछि यसलाई त्यसबेलासम्म तताइन्छ, जतिबेलासम्म सुनमा मिसिएको पारो ग्यास बनेर उड्नेछ । यसपछि बाँकी रहन्छ सुनको हिस्सा । 

मेसिनबाट निखारिन्छ
पारोको मद्धतबाट अमलगम बनाई सुन निकालेपछि मेसिनको मद्धतबाट सुनलाई निखार्ने काम गरिन्छ । यो तरिकाबाट निकै चमकदार र बहुमूल्य सुन बन्छ । यही सुनलाई खरीद गरेर गहनाको रुपमा लगाई मानिस आफ्नो शान सौकत बढाउँछ । 

खानीमै मर्छन् कयौं युवा
एक रिपोर्टका अनुसार अफ्रिकामा प्रत्येक वर्ष निकै ठूलो परिमाणमा सुनको उत्खनन् गरिन्छ र यो क्रममा सयौं युवाहरुले ज्यान समेत गुमाउँछन । हालसम्म सुनको खानी उत्खनन्को क्रममा ४ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । यति ठूलो मृत्यु र हजारौं मजदूर लगातार बिरामी भएका कारण उनीहरुको हितका लागि अफ्रिकामा रहेका अदालतहरुले हालसम्म ३.२० करोड अमेरिकी डलर बराबरको जरीवाना सुन खोज्न कामदार खटाउने कम्पनीहरुलाई लगाइसकेका छन् । विज्ञहरुका अनुसार सुनको औद्योगिक उत्खनन्मा निकै ठूलो मात्रामा साइनाइड प्रयोग गरिन्छ, यो सुनलाई ढुंगाको टुक्राबाट अलग पार्ने एक खतरनाक रसायन हो । यसको असरले मजदूर बिरामी पर्छन् र उनीहरुको असामयिक मृत्यु भइदिन्छ । 

सुन छैन, पैसा छैन
अफ्रिकाको खतरनाक खानीहरुमा सुन खोज्ने काम केही घण्टाको काम होइन र सहज पनि छैन । कतिपय समयमा त मजदूरहरुलाई थोरै सुन भेटाउन समेत कयौं हप्ता लाग्छ । यति मात्र होइन, यसरी थोरै सुनका लागि हप्तौ टहलिने क्रममा यी मजदूरहरुलाई माइनिङ कम्पनीको तर्र्फबाट नियमित तलब पनि हुन्न । आफूले फेला पारेको सुनको परिमाणको आधारमा मात्र यिनीहरुले पैसा पाउँछन । यहाँको नियम प्रष्ट छ, सुन भेटियो भने यी गरीब र भोकाहरुले पैसा पाउँछन, नभए पाउदैनन्, भोकै मर्नुपर्ने हुन्छ । 

बिजशाला / एजेन्सी

सुन उत्खनन्को हृदयविदारक फोटोकथाका लागि तलका फोटोहरुमा क्लिक गर्नुहोस् ।