काठमाण्डौ । कैलालीको बेद उप्रेती ट्रष्टले टर्किस एयरबाट खरिद गरेको एयरबस विमानको बडीलाई सिनामंगलमा राखिने भएको छ। 

कैलालीको धनगढीमा रहेको ट्रष्टलाई नागरिक उड्डयन प्राधिकरणले वार्षिक ५४ लाख भाडा तिर्ने सर्तमा सिनामंगलमा रहेको खाली जग्गा उपलब्ध गराएको छ। 

यो खाली जमिनमा ट्रष्टले कम्तीमा ६ करोड लगानीमा विमान संग्रहालय स्थापना गर्दै छ। संग्रहालयका लागि ३ हजार वर्ग मिटर जमिन प्रयोग हुने छ। प्राधिकरणले संग्रहालयलाई हाल ५ वर्षका लागि सिनामंगलको खाली जमिन उपलब्ध गराएको हो। 

२०७१ फागुन १९ गते साँझ इस्तानबुलबाट उडेको यो विमान २० गते बिहान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमै दुर्घटना भएर चौरमा धस्सिएको थियो। नौ महिना मात्रै उडेको यो विमान काठमाडौंमै मर्मत गर्दा आर्थिक व्ययभार जहाजको मूल्य हाराहारी पुग्ने भएपछि गत कार्तिकमा टर्किसले ट्रष्टका कार्यकारी प्रमुख क्याप्टेन बेद उप्रेतीलाई जहाजको बडी बिक्रि गरेको थिए। विमानको विक्री मूल्य भने दुवै पक्षले सार्वजनिक गरेका छैनन्। 

तर ब्रान्ड न्यू खरिद गर्दा यो विमानको बजार मूल्य कम्तीमा २३ अर्ब रुपैयाँ हाराहारी हुन्छ। विमानस्थलको पूर्वी भागमा राखिएको यो जहाजलाई १० वटा टुक्रा बनाई लरीमा राखेर सिनामंगल ल्याइएको हो। ‘हरेक रात १२ बजेदेखि ३ बजेसम्म लरीमा राखेर ल्याउँदा ५ दिन लाग्यो,’ क्याप्टेन उप्रेतीले भने। उनका अनुसार, अबका ६ महिनाभित्र संग्रहालय तयार भइसक्ने छ। 

सिनामंगल ल्याइएका टुक्राहरु जोड्न टर्कीबाटै ४ जना इन्जिनियर र प्राविधिकहरु काठमाडौं आएका छन्। यो विमानसँगै एउटा फिस्टेलको लाङटाङमा दुर्घटनामा परेको हेलिकप्टर पनि राखिने छ। यो एयरबसको लम्बाई २ सय ८ फिट, उचाइ ५५ फिट र पखेटाको चौडाई १ सय ९७ फिट छ।  ‘विश्वमै एयरबसको ए–३३० विमान संग्रहालयमा राखिएको छैन, दुर्घटनामा जहाज परिहाले प्राय: ध्वस्त नै हुन्छन् नेपालका लागि यो घटना दुखद भएपनि एयरबसको ए ३३० विमान संग्रहालयमा प्रयोग हुनु दुर्लभ हो,’ प्राधिकरणका एक उपमहानिर्देशकले भने। 

उनका अनुसार, ठूलो विमानमा चढ्ने मौका नपाएका नेपालीहरुका लागि यो राम्रो पर्यटकीय तथा सिकाईको गन्तव्य हुनसक्छ। यो संग्रहालयसँग प्राधिकरणले पनि सहकार्य गरेको छ। प्राधिकरणले संग्रहालय मुलुकभरका सबै माध्यामिक र उच्च माध्यामिक तहका विद्यार्थीका लागि नि:शुल्क अवलोकन गर्न सकिने ट्रष्टसँग सम्झौता गरेको छ। 

अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले विश्वभर संचालन गर्दै आएको आगामी पुस्ताका नागरिक उड्डयनकर्मी कार्यक्रम (एनग्याप) अन्र्तगत यो संग्रहालय संचालन गरिने प्राधिकरणले सम्झौतामा उल्लेख गरेको छ। ‘विश्वभर हवाई क्षेत्रमा दक्ष जनशक्तिको अभाव भइरहेकाले आइकाओले जारी गरेको आगामी पुस्तालक्षित कार्यक्रमको मोडल अनुरुप यो संग्रहालय संचालनमा ल्याउन लागेको क्याप्टेन उप्रेतीले बताए। उनले नेपाली हवाई उद्योगमा पनि क्याप्टेन/प्रशिक्षक पाइलट लगायतको अभाव बढ्दै गइरहेकाबेला यो कार्यक्रमले उड्डयन विषय पढ्ने विद्यार्थीको संख्या बढाउन सघाउने बताए। हाल इन्डोनेसियाको लायन एयरमा एटीआर विमान उडाउँदै आएका उप्रेतीले दुई वर्षअघि धनगढीमा डेढ करोड रुपैयाँ लगानीमा स्थापना गरेको एयरक्राफ्ट म्युजिम त्यस भेगमा लोकप्रिय छ। 

बन्द भएको नेपाली एयरलाइन्स कस्मीक एयरको १ सय १० सिट क्षमताको फोकर विमानलाई काठमाडौंबाट तीन टुक्रा बनाई लरी ट्रकमा राखेर उनले स्थापना गरेको म्युजियम हेर्न भारतको उत्तर प्रदेश र उत्तराखण्डबाट पनि पर्यटकहरु पुग्छन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ ।