काठमाण्डौ । अमेरिकासहित केही देशमा बढेको उत्पादन र विश्व बजारमा आपूर्तिमा वृद्धि भएसँगै एक महिनाको अवधिमा कच्चा तेल(क्रूड)को मूल्य १० प्रतिशत सस्तो भइसकेको छ । बिहीबार कच्चा तेल प्रति ब्यारेल ४९ डलरमा झरिसकेको छ । यो मूल्य पछिल्लो चार हप्ताको सबैभन्दा न्यून भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

यहीबीच इराकले स्पष्ट रुपमा भनिसकेको छ कि आगामी दिनमा उसले समेत कच्चा तेलको उत्पादन बढाउनेछ । विज्ञहरुको विश्लेषणमा केही अन्य तेल उत्पादक राष्ट्रहरु समेत इराककै बाटोमा हिँड्नसक्छन् । यसरी अहिले जे अवस्था बनेको छ, यसले कच्चा तेलको मूल्य अझ सस्तो हुने संभावना देखिएको छ । जुन महिनासम्म यो मूल्य ४३ डलर प्रति ब्यारेलसम्म आउनसक्ने प्रक्षेपण गरिएको छ । आगामी हिउँदयामसम्म कच्चा तेलको मूल्य ४३ देखि ५६ डलर प्रति ब्यारेलकै रेञ्जमा रहने प्रक्षेपण समेत गरिएको छ ।

यी कुरा कच्चा तेलका लागि दुर्भाग्य
अमेरिकामा कच्चा तेलको उत्खनन् लगातार बढिरहेको छ । आगामी दिनमा समेत ट्रम्प प्रशासनले जारी उत्पादनमा कटौति गर्ने कुनै संभावना छैन ।

त्यसो त गत नोभेम्बरमा तेल उत्पादक देशहरुको संगठन ओपेकले उत्पादन कटौतिको निर्णय लिएको थियो । तर ओपेक बाहिरका देशहरुमा कच्चा तेलको उत्पादन बढेपछि ओपेकको यो निर्णय निस्प्रभावी साबित भइसकेको छ ।

ब्जार पुँजीकरणमा गिरावट हुने डरले इराकले कच्चा तेलको उत्पादन बढाउने निर्णय लिइसकेको छ । यस्तै लिबियामा फेरि थप २ वटा आयलफिल्ड फेरि खुल्ला गरिएको छ ।

इराकजस्तो इरान तथा अन्य केही ओपेक देशहरुले समेत उत्पादन बढाउने निर्णय लिने अधिक संभावना छ ।

रुसमा समेत कच्चा तेलको उत्पादन तथा उत्खनन् पहिला भन्दा धेरै बढेको बताइएको छ ।

यो पनि कारण
विज्ञहरुका अनुसार कच्चा तेलको मूल्यमा अझै गिरावट आउनसक्छ । अमेरिकामा समेत कच्चा तेलको उत्पादन बढेपछि ओपेक देशहरुले उत्पादन घटाउने निर्णय थप प्रभावकारी बन्न पाएन । यसले कच्चा तेलको आपूर्ति धेरै प्रभावित हुन पाएन । यस्तै अर्का एक विज्ञका अनुसार इराकले बजार पुँजीकरणमा गिरावट आउने डरका कारण क्रूडको उत्पादन बढाउने निर्णय गरिसकेको छ । रुसले समेत उत्पादन बढाएपछि तेलको रिजर्ब अझ बढ्नेछ । मागभन्दा बढी आपूर्ति भएपछि कच्चा तेलको मूल्यमा अझ गिरावट आउनेछ । कच्चा तेल आयात गर्ने देशहरुका लागि सबैले उत्पादन बढाउँदा धेरै विकल्पहरु ऋगाडि आएका छन्, जसले एउटा मात्र देशका कारण मूल्य बढ्ने संभावना सकिएको छ । यसकारण समेत आगामी दिनमा कच्चा तेलको मूल्य अझ घट्ने भनिएको विश्लेषक बताउँछन् ।

नेपाली उपभोक्तालाई फाइदा
विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि यसको फाइदा नेपाली उपभोक्तालाई पनि हूनेछ । त्यति मात्र होइन, सिंगो देशलाई समेत यसले फाइदै गर्नेछ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएसँगै नेपाली रुपैयाँ मजबुत बन्ने क्रम पनि जारी छ । अमेरिकी डलर पहिलाको  तुलनामा धेरै नै अवमूल्यन  भइसकेको छ । यसले समेत नेपालीहरुलाई विश्व बजारमा कच्चा तेलको मूल्य घट्दा बढी फाइदा हुने देखिन्छ । कच्चा तेलको मूल्य घट्दा भारतले सस्तोमा खरीद गर्ने र त्यहाँ रिफाइन गरी नेपाल पठाइने तेलको मूल्य समेत घट्छ । यसले पेट्रोलियम पदार्थमा नेपालको निकै ठूलो आयात बजेट घट्न गई यसले समग्र अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्नेछ ।

ढुवानीका साधनका लागि आवश्यक पेट्रोलियम पदार्थको मूल्य घटेपछि यसले उपभोग्य र अन्य वस्तुहरुको ढुवानी खर्च कम हुनेछ र बजारमा महंगी समेत कम हुनेछ । यसले समग्र नेपाली उपभोक्तालाई फाइदै पुग्ने देखिन्छ । पेट्रोलियम पदार्थको  मूल्य घट्दा नेपालीहरुको यातायात खर्च समेत कम हुनेछ, यस्तै औद्योगिक उत्पादनहरुको समेत उत्पादन खर्चमा कटौति भई यसले बजारको संभावित महंगीलाई समेत नियन्त्रण गर्न निकै ठूलो सहयोग पुग्नेछ ।