काठमाण्डौ । मंगलबार अमेरिकी डलर १७ महिनाकै सस्तो भएको छ । नेपाल राष्ट्रबैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ १७ महिनाकै सस्तो भएको हो । 

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी अर्थतन्त्र कमजोर बनिरहेको छ, यहीकारण समेत डलरको मूल्य तीव्र अवमूल्यनमा परेको छ । अर्कोतर्फ, बेलायतले युरोपियन युनियनबाट बाहिरिने निर्णय गर्न लागेकोले समेत डलरमा त्यसको प्रभाव देखिएको बताइएको छ ।

मंगलबारका लागि अमेरिकी डलरको खरीद र बिक्री दर क्रमशः १०४ रुपैयाँ ३४ पैसा र १०४ रुपैयाँ ९४ पैसा तोकिएको छ । 

यसअघि सन् २०१५ को नोभेम्बर १ को दिन एक अमेरिकी डलरको खरीद तथा बिक्री दर क्रमशः १०४ रुपैयाँ १२ पैसा र १०४ रुपैयाँ ७२ पैसा तोकिएको थियो । त्यसपछि कुनै पनि दिन अमेरिकी डलरको भाउ यति सस्तो भएको थिएन । 

गत शुक्रबार नेपाल राष्ट्रबैंकले एक अमेरिकी डलरको खरीद दर १०४ रुपैयाँ ४२ पैसा र बिक्री दर १०५ रुपैयाँ २ पैसा तोकेको थियो । आइतबार अझ घटेर खरीद तथा बिक्री दर क्रमशः १०४ रुपैयाँ ५६ पैसा र १०५ रुपैयाँ १६ पैसा तोकिएको थियो । सोमबार केही घटेर १०४ रुपैयाँ ४४ पैसा खरीद दर तथा १०५ रुपैयाँ ४ पैसा बिक्रीदर कायम भएको डलरको भाउ मंगलबार अझ घटेको हो । 

यो वर्ष चाहि डलरको अवमूूल्यन यात्रा २० माघदेखि सुरु भएको थियो । सो बेला माघ १९ मा १०८ को स्तरमा रहेको डलरको मूल्य १०७ को स्तरमा झरेको थियो । त्यसपछि डलरको खरीद दर १०६ को स्तरमा निरन्तर रहिरहेकोमा चैत २ गते बुधबार केही तल झरेको थियो । सो दिन डलरको खरीद दर १०५ रुपैयाँ ५८ पैसा र बिक्री दर १०६ रुपैयाँ १८ पैसा कायम भएको थियो । 

विज्ञहरुका अनुसार डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी अर्थतन्त्र कमजोर बनिरहेको छ, यहीकारण समेत डलरको मूल्य तीव्र अवमूल्यनमा परेको छ । अर्कोतर्फ, बेलायतले युरोपियन युनियनबाट बाहिरिने निर्णय गर्न लागेकोले समेत डलरमा त्यसको प्रभाव देखिएको बताइएको छ । त्यस्तै, पछिल्लो समय नेपाली अर्थतन्त्रमा सुधार भइरहेको छ, यो प्रभावले नेपाली रुपैयाँ बलियो बन्दै गएको हो । 

नेपालमा के प्रभाव पर्छ ?
डलरको भाउ वर्षभरिकै तल्लो स्तरमा झर्दा हाम्रो जस्तो देशलाई नाफा पनि छ र घाटा पनि । विदेशबाट आयात हुने सामान डलरको भाउ घट्दा सस्तिनेछ भने निर्याततर्फको आम्दानी घट्नेछ।

यस्तै, देशले तिर्नुपर्ने वैदेशिक ऋणको भार डलरको भाउ घटेपछि कम पर्नेछ भने विदेशबाट रेमिटान्सको रुपमा नेपाल भित्रिने रकमको आकार घट्नेछ । देशको अर्थतन्त्र रेमिटान्समा आधारित छ, यसको अर्थ डलरको भाउ घटेर रेमिटान्स घट्दा यसले धेरै पक्षलाई नकारात्मक प्रभाव पार्नेछ । डलरको भाउ घट्दा पेट्रोलियम मूल्य समेत केही घट्नसक्छ । यसो हुन सकेको खण्डमा सार्वजनिक यातायात तथा ढुवानी खर्च कम भई उपभोक्ता मुद्रास्फिति समेत कम हुनेछ ।