नेपालमा हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गर्दै आएका एकजना योगी भारतको उत्तरप्रदेश राज्यको मुख्यमन्त्री पदका लागि चयन भएका छन्।

भारतीय जनता पार्टी बीजेपीको संसदीय दलको बैठकले योगी आदित्यनाथलाई मुख्यमन्त्री पदका लागि चयन गरेको थियो।

गोरखपुरको सांसद रहेका योगी आदित्यनाथ नेपालसँग सीमा जोडिएको भारतकै सबैभन्दा ठूलो राज्यको मुख्यमन्त्रीमा चयन हुनुलाई निकै चासोका साथ हेरिएको छ।

गोरखपुरबाट पाँचौपटक सांसद बनेपनि गत वर्षदेखि मात्र उनी मुख्यमन्त्री बन्नसक्ने चर्चा हुन थालेको थियो।

उत्तराखण्डस्थित गढवालको गाउँका अजय सिंह विष्टबाट योगी आदित्यनाथ बनेका उनको जीवनको पूर्वार्धबारे धेरैलाई जानकारी छैन।

उनीविरुद्ध सामाजिक सद्‍भावलाई नोक्सान पुर्याएको, धर्मस्थलाई क्षति पुर्याएको लगायतका तीनवटा मुद्दा छन्।

नेपालमा राजतन्त्र र हिन्दुराष्ट्र समाप्त भएकोमा दुःख प्रकट गर्ने उनी नेपालमा राजतन्त्र फर्कनुपर्ने मत राख्छन्।

गत कार्तिक महिनामा पाशुपत क्षेत्रस्थित पर्ने वनकालीमा आयोजित 'विराट विश्व हिन्दु सम्मेलन' मा पूर्वराजा ज्ञानेन्द्र र आदित्यनाथ एउटै मञ्चमा थिए।

त्यहाँ राजतन्त्र पुनर्स्थापनाका पक्षधरलाई हौस्याउँदै आदित्यनाथले भनेका थिए, "आखिर अढाई करोड जनतासँग जोडिएको नेपाल, जुन नेपालका राजालाई सनातन हिन्दु राजाको रुपमा मान्यता प्राप्त छ। कतिपय तीर्थस्थलमा शंकराचार्य र हिन्दु राजामात्रै जान पाउने अवसरबाट नेपाललाई किन बञ्चित गरियो?"

तर, विश्लेषक सीके लाल नेपालको आन्तरिक राजनीतिमा प्रभाव राख्ने भारतको विदेश नीतिमा परिवर्तन नभई यहाँको गणतन्त्रमा तत्काल कुनै किसिमको संकट नपर्ने बताउँछन्।

उनी भन्छन्, "विदेश नीति भनेको कुनै प्रान्तको मुख्यमन्त्रीले मात्र परिवर्तन गर्ने होइन। त्यसैले दिल्लीले के गर्छ त्यसमा पनि भर पर्छ। तर एउटा संकेत चाहिँ पक्कै गएको छ कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो हिन्दुत्वको एजेन्डालाई आक्रामक ढंगले अगाडि लैजान चाहेका छन्।"

गोरक्षनाथ पीठको लामो समयसम्म नेतृत्व गरेका र पटक-पटक सांसद रहेका योगी आदित्यनाथले हिन्दुराष्ट्रको पक्षमा खुलेरै वकालत गरेका थिए।

पृथ्वीनारायण शाहलाई स्मरण गर्दै उनले भनेका थिए, "कुनैबेला बाइसी र चौबिसी राज्यलाई जोडेर पृथ्वीनारायण शाहले सार्वभौमसत्ता सम्पन्न हिन्दुराष्ट्रका रुपमा स्थापित गरेका थिए। तिनले भन्दै होलान् आखिर संसारको कुनै धर्म वा सम्प्रदायको के बिगारेको थियो नेपालले कि हिन्दुराष्ट्रको पहिचान मेटाइयो?"

भारतको केन्द्रीय संसद्‍मा महत्वपूर्ण प्रतिनिधित्व हुने उत्तर प्रदेशको मुख्यमन्त्रीमा आदित्यनाथको चयन हिन्दुराष्ट्रका पक्षपातीलाई उत्साहित बनाउने देखिन्छ।

विश्लेषक सीके लालका अनुसार त्यसका मूल चारवटा कारण छन्।
पहिलो: आदित्यनाथको नेपालका हिन्दुवादीहरुसँग सम्बन्ध छ।
दोस्रो: उनी गोरखनाथ पीठका महन्त हुन्। त्यो भनेको आफूले आफूलाई गोरखासँग जोडेर हेर्ने। गोरखनाथसँग जोडेर हेर्ने चलन छ।
तेस्रो: गोरखनाथ पीठमा नेपालको हिन्दुवादीहरुको बाक्लो आउजाउ छ।
चौथो: केही मधेशवादीहरुसँगपनि उनीहरुको सम्बन्ध राम्रो छ।

लाल भन्छन्, "त्यसैले अहिले कमल थापाले संघर्ष गर्ने जुन मुद्दा उचालेका छन्। त्यसको लागि सकारात्मक सन्देशको रुपमा लिन सकिन्छ।"

भारतको शक्तिशालीमध्येमा पर्ने राज्य उत्तरप्रदेशको कार्यकारी प्रमुखमा आदित्यनाथको आरोहणले विवादको दलदलमा फसेको धर्मनिरपेक्ष गणतन्त्रात्मक नेपालको आन्तरिक राजनीतिलाई प्रभावित तुल्याउने कतिपयको आंकलन पाइन्छ।

-BBC