काठमाण्डौ । अरुण काबेली पावर कम्पनीले ४५ लाख कित्ता (रू. ४५ करोडको) शेयर जारी गर्ने भएको छ । कम्पनीले १५ लाख कित्ता स्थानीय बासिन्दाका लागि र ३० लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो । शेयर प्रतिकित्ता १ सय अङ्कित मूल्यको दरमा विक्री गरिनेछ । कम्पनीले शेयर निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । यस कम्पनीको शेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

पाँचथर जिल्लामा रहेको काबेली नदीबाट कम्पनीले २५ मेगावाटको काबेली बी १ हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण गरिरहेको छ । ४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनामा बैङ्क कर्जाबाट २ अर्ब ८० करोड रुपैयाँ लगानी भइसकेको छ । कम्पनीले १ अर्ब २० करोड रुपैयाँ ऋण जुटाएका छन् भने सञ्चालकले हालसम्म १ अर्ब ५ करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी रकम भने शेयर जारी गरेर उठाउन लागिएको हो ।

अरुण भ्याली हाइड्रोपावरको ३५ प्रतिशत लगानी रहेको यस कम्पनीले उत्पादन गर्ने बिजुली विक्रीसम्बन्धी सम्झौता सन् २०१२ मा भइसकेको छ । तर, उत्पादन हुने विद्युत् विक्रीका लागि प्रसारण लाइन निर्माण भइनसकेको, २५ प्रतिशत मात्र निर्माण काम सम्पन्न भएको र ५० प्रतिशतभन्दा बढी खर्चको दायित्व देखिइसकेको क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले उल्लेख गरेको छ । यहीलगायत कारण इक्राले कम्पनीलाई ग्रेड फोर प्लस रेटिङ प्रदान गरेको छ ।

१ सय ३१ केभीए प्रसारण लाइनमा उत्पादित विद्युत् जोड्ने लक्ष्य रहेको कम्पनीले त्यो लाइनको कण्ट्र्याक्टर अस्टर टेली सर्भिससँग आयोजना स्थलसम्म टावरलगायत पूर्वाधार निर्माणको सम्झौता भने गरिसकेको छ । सन् २०१३ जुलाई १२ मा लाइसेन्स पाएको यो आयोजनाले बैङ्कबाट पाउने कन्सोर्टियम लोनका लागि फाइनान्सियल क्लोजर गरिसकेको छ । समयमै विद्युत् उत्पादन र प्रसारण लाइनमा जडानले कम्पनीबाट आउने प्रतिफलमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।  

कम्पनीमा अनुभवी लगानीकर्ता हुनु सकारात्मक पक्षको रूपमा रहेको इक्रा नेपालले उल्लेख गरेको छ । अरुणभ्याली समूहले निर्माण गरेर सञ्चालन गरेका आयोजनाबाट हाल १४ दशमलव ४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

अभियानबाट