काठमाण्डौ । २५ मेगावाट क्षमताको अरुण काबेली पावर लिमीटेडले पाँचथर र ताप्लेजुङका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १ सय दरका १५ लाख कित्ता शेयर आइपीओ गर्ने भएको छ । 

कम्पनीले १५ करोड मूल्य बराबरको आइपीओ आयोजना प्रभावित दुई जिल्लाका बासिन्दाका लागि जारी गर्न लागेको हो । आइपीओका लागि आवेदन भर्ने समयत २०७३ जेठ ३ गतेदेखि हुने बताइएको छ । 

कुल १५ लाख कित्ता शेयरमध्ये ६ लाख कित्ता शेयर आयोजनाबाट अति प्रभावित मुख्य क्षेत्र पाँचथरको नागी, अमरपुर र थाप्रु गाविस तथा ताप्लेजुङका सबलखु, सिनाम, थुम्बेदिन र चक्सीबोटे गाविसका बासिन्दाले पाउनेछन् । बाँकी रहेको ९ लाख कित्ता शेयर चाहि दुई जिल्लाका बाँकी गाविसका बासिन्दाले पाउनेछन् । 

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडको अरुण काबेली पावर लिमीटेडमा २४.१३ प्रतिशत लगानी छ । अरुण भ्यालीले ‘काबेली बी–१’ योजनाका लागि पनि काबेली नदीमा संभाव्यता अध्ययनको काम थालिसकेको छ । यो नदी ताप्लेजुङ र पाँचथर जिल्लाको सीमानामा पर्छ । यो आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले नै अरुण काबेली पावर लिमीटेड नामको कम्पनी ७ जनवरी २०११ मा सहायक कम्पनीको रुपमा स्थापित गरेको थियो । 

यो कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २९ मे २०१२ मा त्यहाँ उत्पादित विद्युत ग्रीडमा जडान सम्झौता गरिसकेको छ । विद्युत प्राधिकरणसँग यो आयोजनाले विद्युत खरीद सम्झौता भने १३ जुलाई २०१२ मा गरेको थियो । 

कम्पनीका अनुसार आइपीओका लागि आवेदन दिने सुरुवातको अन्तिम मिति जेठ १७ गतेलाई तोकिएको छ । त्यसपछि छुटपुटका लागि असार ५ गतेसम्मको समय हुनेछ । 

आइपीओका लागि इच्छुकहरुले न्यूनतम ५० युनिटदेखि अधिकतम १० हजार यूनिट शेयरका लागि आवेदन दिन सक्नेछन् । सिद्धार्थ क्यापिटल लिमीटेड आइपीओ प्रबन्धकको रुपमा नियुक्त भएको छ । 

कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । आइपीओ पछि कम्पनीको चुक्तापूँजी १ अर्ब २० करोड पुग्नेछ । 

अरुण काबेली पावर लिमीटेडको आइपीओलाई नेपालका एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘आइपीओ ग्रेड ४ प्लस’को सर्टिफिकेट दिएको छ । 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ जारी गरेपछि कम्पनीले ३० लाख कित्ता शेयर सर्वसाधारणका लागि र कर्मचारीका लागि जारी गर्नेछ । कम्पनीस्थित उच्च स्रोतका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ जारी गरेर आवेदनको काम बन्द भएको २ महिनाभित्र सर्वसाधारणका लागि समेत आइपीओ जारी हुनेछ । 

अरुण काबेली पावर लिमीटेडमा प्रोमोटरहरुको ७० प्रतिशत, आयोजना प्रभावित क्षेत्रका स्थानीयको १० प्रतिशत र सर्वसाधारण तथा कर्मचारीहरुको २० प्रतिशत शेयर स्वामित्व हुनेछ । 

कम्पनीले स्थानीयका लागि १० प्रतिशतको १५ करोड मूल्यको जारी पुँजीको योजना समेत ल्याउनेछ । बाँकी ३० करोडको जारी पूँजी सर्वसाधारण र कर्मचारीका लागि छुट्याइएको छ । स्रोतका अनुसार सबै शेयर धनीले आफ्नो स्वामित्वको शेयर पाएपछि कम्पनीको शेयर किनबेचका लागि नेप्सेमा सूचिकृत हुनेछ ।