काठमाण्डौ । स्थानीयवासीले मुआब्जाको कारण देखाई अवरोध गरेपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गकाे निर्माणकाे काम राेकिएकाे छ ।

विसं २०४५ मा सर्भे भई २०४६ सालमा सरकारले दिएको क्षतिपूर्ति अपर्याप्त भएको, कतिपयले नपाएको र सडक निर्माण गर्दा आफूहरुको घर जग्गा, रुखपात, सिँचाइ एवम् खानेपानीमा बाधा पुगेको भन्दै स्थानीयबासिन्दाले त्यसकाे मुअाब्जा मागेका हुन्।

निर्माणकाे  ठेक्का पाएको लुम्बिनी–एमके–सिंह एन्ड ब्रदर्स कम्पनीसंग स्थानीय बासिन्दाले थप मुअाब्जा माग गरेर काम राेकेपछि कम्पनीले  सम्बन्धित निकायमा समस्या समाधानका लागि अनुरोध गरेको छ । बाटाेमा मठ मन्दिर पर्ने भएकाले त्यसको समेत उचित मुआब्जा नदिएसम्म सडक निर्माण नदिने स्थानीयवासीकाे अडान भएकाे कम्पनीले जनाएकाे छ ।

पन्ध्र महिनाभित्र सङ्खुवासभाको छ्याकुटीदेखि विद्युतगृहसम्मको ठेक्का नं १ र २ गरी जम्मा २८ किमी सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएकामा स्थानीयवासीको अवरोधका कारण निर्धारित समयमा सम्पन्न गर्न नसकिने भएकाले त्यसबापतको क्षतिपूर्ति आयोजनाले दिनुपर्ने पनि कम्पनीको दाबी छ ।

कम्पनीले सो सडक छ्याङ्कुटीदेखि लप्सेसम्म एक खण्ड र लप्सेदेखि विद्युतगृहसम्म अर्को खण्ड गरी निर्माण सुरु गर्न लाग्दा स्थानीयवासीले अवरोध गरेका हुन् । खण्ड–एक अन्तर्गत छ्याङ्कुटीबाट छ किमी सडक निर्माण भइसकेको छ, लप्सेदेखि छ्याङ्कुटीतर्फ बढ्न खोज्दा स्थानीयवासीले अवरोध गरेपछि निर्माण कार्य स्थगित गर्नुपरेको कम्पनीका प्रतिनिधि माधव खनाल बताउँछन् – उनका अनुसार “खण्ड ‘ख’ को  निर्माणको काम नै सुरु गर्न दिइएको छैन।

सडक निर्माणकालागि लप्सेमा क्याम्प खडा गरी स्काभेटर, डोजरलगायत उपकरण लगेर राखिएको छ भने प्राविधिक र मजदुर गरी करिब २०० जना काम गर्न नपाएर अलपत्र रहेकाे  समेत उनले बताए ।

आफूहरुले उचित मुआब्जा र क्षतिपूर्ति नपाएसम्म सडक निर्माण गर्न नदिने भन्दै स्थानीयवासी प्रभावित सङ्घर्ष समिति र अरुण सरोकार मञ्चले गत मङ्सिर १ गते स्थानीय प्रशासनमा जानकारी गराएका थिए । सडक निर्माणमा अवरोध भएको डेढ महिना बितिसक्दा पनि समाधानको ठोस पहल नहुँदा आफूहरुले दैनिक रु पाँच\छ लाख नोक्सानी व्यहोरिरहनु परेको खनालले गुनासो गरे।

अरुण तेस्रो प्रवेश मार्ग आयोजनाका डिभिजनल इन्जिनियर जीवेन्द्र मिश्रले समस्या समाधानकालागि स्थानीयवासी, लगानी बोर्ड, विद्युत् आयोजनासँग वार्ता भइरहेकाे जानकारी दिए।  केही दिनभित्रै निकास निस्किनेमा आफू विश्वस्त रहेको  पनि उनले बताए।

सो विद्युत् आयोजनाअन्तर्गत तीन भागमा सडक निर्माणकालागि ठेक्का भई काम सुरु भएको छ । फासिन्दादेखि सुन्तलेसम्म अर्थात् बाँधस्थलदेखि विद्युत् गृहसम्मको १६ किमी तथा फासिन्दादेखि बाँधको माथिल्लो भेगसम्म जाने २.३८ किमीको सडकको निर्माण कार्य भने चालु नै रहेकाे छ ।