काठमाण्डौ । प्रधानमन्त्रीमा १७ पटक हारेर इतिहास बनाएका, संस्थापन पक्षको समर्थन पाएर पनि पार्टी महाधिवेशनमा सभापति पदमा शर्मनाक हार व्यहोरेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको निर्वाचनमा पनि शर्मनाक हार व्यहोर्ने परिस्थिति बनेको छ । 
 

मंगलबार संसदीय दलको नेतामा शेरबहादुर देउवालाई टक्कर दिने उद्देश्यसहित उम्मेद्वारी दर्ता गराएका पार्टीका वरिष्ठ नेता पौडेललाई उनकै क्याम्पका भनेर टाउको गनिएका २० सांसदले नै साथ छाडेका छन् । १०४ सांसदलाई आफ्नो पक्षमा पार्ने प्रयासमा लागेका पौडेलले संस्थापन पक्षका करिब ९५ जनाको मत आफूलाई आउने पक्का भएको ठानेका थिए । यही हिसाबले देउवा क्याम्पका केही सांसदबाट आफूलाई मत आउने आशामा रहेका पौडेललाई ९५ जनामध्येकै २० जनाले अन्तिम अवस्थामा साथ छाडेका हुन् । 
 

कांग्रेस उच्च स्रोतका अनुसार पौडेललाई संसदीय दलको नेतामा शर्मनाक हार व्यहोर्ने गरी परिस्थिति निर्माण गर्ने प्रमुख भूमिका पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले निर्वाह गरेका छन् । केसीकै पहलमा संस्थापन पक्षले टाउको गनेकामध्ये २० जनाभन्दा बढी सांसदहरुले मंगलबार देउवासँग समेत भेट गरी उनलाई सघाउने वचन नै दिएका छन् । 
 

स्रोतकाअनुसार केसीको सामाखुशी गोंगबुस्थित निवासमा संस्थापनका केसी निकटका सांसदहरुलाई बोलाइएको थियो । मंगलबार दिउँसो ३ बजे पुगेका सांसदहरु त्यहाँ साँझ ६ बजेसम्म बसेका थिए । सो क्रममा केसीले उनीहरुलाई ब्रिफिङ गरेका थिए । केसीले सेटिङ मिलाएपछि सभापति शेरबहादुर देउवा केही समयपछि केसीकै निवास पुगेर करिब ४५ मिनेट जति पौडेल क्याम्पमा रहेका भनिएका सांसदहरुसँग छलफल गरेका थिए । सो क्रममा सांसदहरुले पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको विभेद अन्त गर्ने, पार्टीले भोलिका दिनमा पनि आफूहरुको संरक्षण गर्ने वातावरण बनाउने र पार्टीका लागि दिलोज्यान दिएकाहरुको राजनीतिक भविष्यको ग्यारेण्टी लगायतका मुद्धामा देउवाको स्पष्ट प्रतिबद्धता मागेका थिए । सभापति देउवाले समेत सांसदहरुको सवाललाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि २० सांसदहरुले देउवालाई मतदान गर्ने प्रतिबद्धता जनाएका स्रोतले बताएको छ । 
 

‘पौडेल जीले संसदीय दलको नेताको निर्वाचनमा समेत शर्मनाक हार व्यहोर्नुपर्ने अवस्था भयो ।’ केसी निवास पुगेर फर्किएका संस्थापन पक्षका एक सांसदले भने–‘निभेको आगो किन ताप्ने ? फेरि स्पष्ट भिजन, संभावना भएको व्यक्तिलाई हामीले सघाउने हो । यी सबै गुण सभापति देउवामै देख्यौं र सघाउने वचन दिएर फर्कियौं ।’ स्रोतले केसी निवास पुग्ने सांसदहरुको नाम भने खुलाएको छैन । 
 

कांग्रेस संसदीय दलको नेताको निर्वाचन चैत २४ गते र संसदीय समितिको निर्वाचन चैत २६ गते हुने निर्वाचन कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको छ ।