दमौली ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले भूकम्प र नाकाबन्दीपछि तरल अवस्थामा रहेको अर्थतन्त्रमा सुधार आउन थालेको बताएका छन्।

ग्लोबल आइएमई बैंक लिमिटेड दमौली शाखाको उद्घाटन गर्दै डा नेपालले व्यापार घाटा रु ३९३ अर्ब रहेको र ४२७ अर्बको विप्रेषण नेपालमा भित्रिने गरेको जानकारी गराए। मुलुकको आर्थिक वृद्धिदर २ प्रतिशत मात्रै रहेकाले आगामी आर्थिक वर्षमा ५ प्रतिशत वृद्धिदर पुर्‍याउने लक्ष्य सरकारको राखेको उनको भनाइ छ।

घरखेत बाँझो राखेर युवा विदेशिएपछि वार्षिक रु ८ अर्बभन्दा बढीको तरकारी नेपाल भित्रने गरेको उनले बताए। अहिले पुनःनिर्माणका काम सुरु हुन लागेकाले पीडितलाई रकम उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा सहयोग पुर्‍याउने उनको प्रतिबद्धता छ।

नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले बैंकको स्थापनापछि लगानीका अवसर बढ्ने र अर्थतन्त्रमा सुधार आउने बताए। ६ लाख ग्राहक रहेको ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी रु ६ अर्ब १६ करोड रहेको बताइएको छ।