काठमाण्डौ । सरकारले निर्यात बढाउन अलैंची र गलैंचाको छुट्टाछुट्टै सामूहिक व्यापार चिन्ह (कलेक्टिभ ट्रेडमार्क) दर्ता गर्ने भएको छ । चिया, कफी, पश्मिनालगायतका निर्यातजन्य बस्तुपछि अब अलैंची र गलैंचाको पनि सामूहिक व्यापार चिन्ह दर्ता गर्न लागिएको हो । 

अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहिचान गरी निर्यात प्रवद्र्धनका लागि  सामूहिक व्यापार चिन्ह दर्ता गर्न लागिएको सरकारले जनाएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले पहिलोपटक अलैंची र गलैंचामा सामूहिक व्यापार चिन्ह दर्ता गर्न लागेको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा स्वदेशी उत्पादनको निर्यात प्रवद्र्धन गरी बजार विस्तार गर्ने उद्देश्यका साथ अलैंची र गलैंचामा ट्रेडमार्क दर्ता गर्न लागिएको हो ।

केन्द्रका कार्यकारी निर्देशक इश्वरीप्रसाद घिमिरेले अन्तर्राष्ट्रिय बजारमा स्वदेशी उत्पादनको पहिचान गरी निकासी प्रवद्र्धनका लागि ट्रेडमार्क दर्ता गर्न लागिएको जानकारी दिए ।

“पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा अलैंची र गलैंचाको माग बढिरहे पनि नेपाली उत्पादनको पहिचान नहुँदा निर्यात बढाउन सकिएको छैन,” घिमिरेले भने, “नेपाली उत्पादनको ट्रेडमार्क दर्ता गरे जुनसुकै मुलुकमा पनि निर्यात गरी बजारीकरण गर्न सहज हुनेछ ।” स्थानीय उत्पादनमा ट्रेडमार्क दर्ता नहुँदा अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न समस्या हुने गरेको उनको भनाइ छ । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।