काठमाण्डौ । सेयर बजारको लगानी सधैं जोखिमपूर्ण नै हुन्छ । जब बजारमा ठूलो उतारचढाव हुुन्छ, त्यसबेलाको लगानी त झनै बढी जोखिमपूर्ण हुन्छ । अस्थिर बजारमा लगानी गर्नु सबैभन्दा ठूलो चुनौति पनि हो, किनभने यस्तो बजारमा तपार्इंलाई रिटर्न आउँछ भन्ने कुनै ग्यारेण्टी हुुन्न । तर, यदि तपाईले केही नियम पछ्याउनुुभयो र सोही अनुसार कम्पनीको छनौट गरी लगानी गर्नुभयो भने यस्तै अस्थिर मार्केटमा समेत सेयरमा लगानी गरी मालामाल बन्न सक्नुुहुन्छ । 

पछिल्लो समय नेपालको पूँजीबजार पनि अस्थिर बनिरहेको छ । अघिल्लो दिन बढेको बजारमा भोलिपल्टै ठूलो पहिरो जाँदा लगानीकर्ता समेत अलमलिएका छन् । यही कारण हामी आज तपार्इंंलाई उतारचढावपूर्ण(अस्थिर) बजारमा लगानीको यस्तै गोल्डेन रुल बताउन गइरहेका छौ, यी रुल फलो गरेर तपाईले पनि कुस्त कमाउन सक्नुुहुन्छ । 

१.राम्रो कम्पनीको सेयर छनौट
जब सेयर बजार ओरालो लागिरहेको छ भने राम्रो कम्पनीको सेयरमा पनि गिरावट आइरहेको हुन्छ । यसको अर्थ हो, यस्तो बेलामा राम्रो कम्पनीको सेयर सस्तो मूल्यमा खरीद गर्ने अवसर लगानीकर्तालाई प्राप्त हुन्छ । यस्तो बेलामा लगानीकर्ताले पूरा बजारलाई हेरेर टाउको दुखाइरहनु पर्दैन । राम्रो सेयरको मूल्य घटेको छ भने घट्दो बजारमा पनि ढुक्क भएर लगानी गर्न सकिन्छ ।

२.आम्दानीको संभावना
जुन सेयरमा राम्रो आम्दानीको संभावना देखिन्छ, त्यस्तोमा मात्र लगानी गर्नु उत्तम हुन्छ । यसको अर्थ हो, जुन कम्पनीको ब्यालेन्स सिट दह्रो देखिन्छ, त्यसमा मात्र लगानी गर्नुहोस् । लाभांश दिनसक्ने अवस्थाको कम्पनीको सेयर बढी सुुरक्षित र जोखिमरहित हुन्छ । 

३.एकैपटक लगानी नगर्नुहोस्
कुनै पनि सेयरका मूल्य कम भयो भन्दैमा एकैपटक धेरै लगानी नगर्नुहोस् । यसो गर्दा तपाईंको खरीद क्षमता नै प्रभावित हुनसक्छ । आफूसँग भएको लगानीयोग्य रकममध्ये एकपटकमा १० देखि १५ प्रतिशत मात्र सेयरमा लगानी गर्नु बुद्धिमानी हुन्छ । 

४.फस्नबाट जोगिनुहोस्
कतिपय सेयर वर्षौको तुलनामा सबैभन्दा तल्लो स्तरमा झरेर कारोबार भइरहेका हुन्छन् । मूल्य कम भएकै कारण यस्ता सेयर किन्नुु पर्छ भन्ने ठान्नु गलत हुन्छ । किनकि यस्तो सेयरको मूल्यमा भविष्यमा समेत पहिरो जानसक्छ भन्ने सोच्नुपर्छ । 

५.दायीत्व धेरै भएको कम्पनीबाट जोगिनुहोस्
ऋण र दायीत्व धेरै भएको कम्पनीको सेयरमा लगानी गर्नुहुन्न । साथै कर्पोरेट गभर्नेन्स नभएको कम्पनीबाट समेत सधैं टाढै बस्नुपर्छ ।