काठमाण्डौ । इन्टरनेशनल मनिटरी फण्ड(आइएमएफ)ले भारतलाई निकै ठूलो झट्का दिएको छ । आइएमएफले आर्थिक वर्ष २०१६/१७ मा भारतको कुल जीडीपीलाई घटाएर उसलाई निकै ठूलो झट्का दिएको हो । भारतको पहिला अनुमानित जीडीपी ग्रोथ ७.५ रहेकोमा आइएमएफले यसलाई घटाएर ७.४ प्रतिशतमा झारिदिएको हो । 

आइएमफले भारतको प्रक्षेपित वृद्धिदरमा गिरावट आउनुको कारणमा लगानीमा भइरहेको निकै सुस्त गतिविधि र ब्रिटेन युरोपियन युनियनबाट बाहिरिनु(ब्रेक्जिट)लाई प्रस्तुत गरेको छ । उसका अनुसार ब्रेक्जिट ग्लोबल अर्थतन्त्रको रिकभरीका लागि एक निकै ठूलो चुनौतिको रुपमा अगाडि देखिएको छ । 

आइएमएफले हालै सार्वजनिक गरेको आफ्नो ताजा विश्व अर्थतन्त्रको अध्ययन प्रतिवेदनमा भनेको छ कि ब्रेक्जिटको नतिजाले विश्व अर्थतन्त्र र बजारलाई निकै ठूलो आश्चर्य थोपिरिदिएको छ । यसले विश्व अर्थतन्त्रको कमजोरीको जोखिम पनि बढाइदिएको छ । परिणाम स्वरुप निकै राम्रो प्रदर्शनपछि पनि आइएमएफले सार्वजनिक गरेको २०१६÷०१७ को ग्लोबल आउटलुक नकारात्मक देखिएको छ । 

आइएमएफले स्पष्ट रुपमा भनेको छ कि यो वर्ष मात्र होइन, वर्ष २०१७–१८ मा पनि भारतको जीडीपी ग्रोथ ७.४ प्रतिशतमै सीमित हुने छ । यसको अर्थ चालु वर्षमा भारतको जीडीपी ग्रोथतर्फ ०.१ ले कमी आउने देखिएको छ । यसले भारतलाई निकै ठूलो झट्का लाग्ने अनुमान गर्न थालिएको छ । 

यसअघि आइएमएफले वर्ष २०१६–१७ र १७–१८ गरी दुवै वर्षमा जीडीपी ग्रोथ ७.५ हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । 

यसअघि भने भारतीय अर्थतन्त्रको वृद्धिदर ७.६ प्रतिशत थियो । 

यसैगरी, आइएमएफले भारतको मात्र होइन, चीनको यसअघि प्रक्षेपित आर्थिक वृद्धि दर पनि घट्ने दाबी गर्दै रिपोर्ट सार्वजनिक गरेको छ । उसका अनुसार सन् २०१६ मा चीनको आर्थिक वृद्धिदर ६.६ र २०१७ मा ६.२ हुनेछ । चीनको यसअघि प्रक्षेपित अनुमानित आर्थिक वृद्धिदरमा पनि आइएमएफले ०.१ प्रतिशतले कमी हुने अनुमान गरेको छ । 

ब्रेक्जिटपछि विश्व अर्थतन्त्रमै दवाब
आइएमएफका आर्थिक विश्लेषक तथा रिसर्च डिपार्टमेन्टका डाइरेक्टर मेरी आब्सटफेल्डका अनुसार २३ जुनमा बेलायत युरोपियन युनियनबाट अलग हुने जनादेशपछि विश्वकै अर्थतन्त्रमा मन्दीको दवाब परेको छ । आर्थिक वृद्धिदर पहिलादेखि नै सुस्ताएको थियो र बे्रक्जिटपछि अर्थतन्त्रमा कमजोरीका थप जोखिमहरु बढेका छन् । 

आइएमएफका अनुसार सन् २०१६ को पहिलो ६ महिनामा विश्व अर्थतन्त्रमै सकारात्मक संकेतहरु देखिएका थिए । तर बे्रक्जिटले यी राम्रा संकेतहरुलाई समेत जोखिममा पारिदियो र विश्व अर्थतन्त्रमा दवाबको जबरजस्त अवस्था देखापर्यो । 

आइएमएफले विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०१६ मा ३.२ प्रतिशत र २०१७ मा ३.५ प्रतिशत हुनसक्ने अनुमान गरेको थियो । तर अब यी दुवै अनुमानमा समेत आइएमएफले ०.१ प्रतिशतका दरले संसोधन गरेको छ । 

बिजशाला / एजेन्सी