काठमाण्डौ । बजारमा धितोपत्रहरुको सार्वजनिक निश्कासनको लहर नै चल्ने भएको छ । ३ कम्पनीले आइपीओ जारी गर्ने अनुमति नै प्राप्त गरिसकेका छन् भने १२ कम्पनी धितोपत्र बोर्डबाट आइपीओ तथा एफपीओ निश्कासनको पाइपलाइनमा छन् । 

राधी विद्युत कम्पनी, महुली सामुदायिक लघुवित्त बित्तीय संस्था र स्वदेशी लघुवित्त बित्तीय संस्थाले आइपीओ निश्कासनको अनुमति पाइसकेका छन् भने ८ जलविद्युत कम्पनी तथा २ बिमा कम्पनी, एक माइक्रो फाइनान्स र एक फाइनान्स कम्पनी धितोपत्रको सार्वजनिक निश्कासनका लागि धितोपत्र बोर्डको स्वीकृतिको प्रतिक्षामा छन् । 

बोर्डमा ९ कम्पनीले आइपीओ निश्कासनको आवेदन दिएका छन् । यी ९ कम्पनीले कुल ३६ करोड बराबरको आइपीओ निश्कासनको माग गरेका हुन् । यीमध्ये अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन् । 

जलविद्युत कम्पनीहरुमध्ये आँखुु खोला जलविद्युत कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, गर्जङ उपत्यका हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शुुभम् पावर लिमीटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निश्कासनको माग गरेका बोर्डले जनाएको छ । आँखुु खोलाले ८ करोड, मैलुङ खोलाले ३ करोड ६८ लाख, गर्जङले २ करोड, जोशीले ३ करोड ७१ लाख, रैराङले ५ करोड ६० लाख, शुुभम्ले २ करोडको आइपीओ निश्कासनका लागि आवेदन दिएका हुुन् । यी सबै कम्पनीको आइपीओ स्वीकृतिको चरणमा रहेको छ । 

यसैगरी, छ्याङ्दी हाइड्रोपावर लिमीटेडले सर्वसाधारण लगानीकर्ताका लागि ५ करोड ४० लाख मूल्य बराबरको आइपीओ निश्कासनको माग गर्दै बोर्डमा निवेदन दिएको १ महिना बितिसकेको छ । यो कम्पनीलाई समेत चाँडै आइपीओ निश्कासनको अनुमति प्राप्त हुने स्रोतले बताएको छ । 

सपोर्ट माइक्रो फाइनान्सले चैत ३ गते मात्र १ करोड ८० लाख मूल्यको आइपीओ निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको छ । अर्कोतर्फ, नेपाल हाइड्रो डेभलपर लिमीटेडले समेत सर्वसाधारणका लागि ३ करोड ९० लाख मूल्यको आइपीओ निश्कासनका लागि चैत ९ गते मात्र बोर्डमा आवेदन दिएको छ । 

यस अलावा प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र पोखरा फाइनान्स एफपीओ निश्कासनको स्वीकृति पाउने प्रतिक्षामा छन् । यिनीहरुमध्ये प्रिमियरले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता, शिखरले १३ लाख ६२ हजार ७ सय ८१ कित्ता र पोखरा फाइनान्सले ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निश्कासनका लागि आवेदन दिएका हुुन् । प्रिमियरले २०७३ माघ १२ गते, शिखरले फागुन २ गते र पोखरा फाइनान्सले फागुन २६ गते एफपीओका लागि आवेदन दिए पनि यो बिषयको प्रक्रिया खासै अगाडि बढेको छैन । 

तीन कम्पनीलाई स्वीकृति


चैत ३ गते राधी विद्युत कम्पनीलाई बोर्डले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३४ करोड ८५ लाख बराबरको आइपीओ निश्कासनको अनुमति दिएको छ । यस्तै, चैत ४ गते महुली सामुदायिक लघुवित्त संस्थालाई ४ करोड मूल्यको आइपीओ निश्कासनको अनुमति दिइएको छ भने चैत ७ गते स्वदेशी लघुवित्त बित्तीय संस्थाले समेत ३ करोड बराबरको साधारण सेयरको प्राथमिक निश्कासनको अनुमति पाएको छ ।