काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंक लिमीटेडले एकसय रुपैयाँ अंकित मूल्यमा कुनै प्रिमियम नथपी ९ लाख ७५ हजार कित्ता अतिरिक्त सेयर निश्कासन(एफपीओ जारी) गर्ने प्रक्रिया अगाडि बढाएको छ । 

यो बैंकले प्रभूू क्यापिटल लिमीटेडलाई १ सय रुपैयाँ दरको एफपीओ निश्कासनका लागि बिक्री प्रबन्धक तोकिसकेको छ । यसअघि नेपाली बजारमा १ सय रुपैयाँ अंकित दरमा प्रिमियम मूल्य समेत थपेर एफपीओ निश्कासन गर्ने गरिन्थ्यो । मंगलबार यो बैंकको सेयर मूल्य प्रति कित्ता ९ सय २० रुपैयाँ कायम छ । 

प्रति कित्ता ९ सय २० रुपैयाँमा कारोबार भइरहेको सेयरको एफपीओ मूल्य १ सय रुपैयाँ मात्र किन तोकियो होला ? आइपीओको मूल्यमै एफपीओ खरीद गर्न पाउने यो दुर्लभ अवसर जुर्नुको कारण के होला ? धेरैमा कौतुुहुलता छ । एकसय रुपैयाँको दरमा एफपीओ जारी हुन लागेको नेपालकै पहिलो घटनाको रुपमा समेत यसलाई हेरिएको छ । आखिर नेपाल ग्रामीण विकास बैंकले एकसय रुपैयाँ दरमा एफपीओ जारी गर्ने प्रस्ताव गर्नु पछाडिको मुख्य कारण के हुनसक्छ ?

मुख्य रुपमा नेपाल धितोपत्र बोर्डले संसोधनसहित जारी गरेको धितोपत्र खरीद(सार्वजनिक निश्कासन) सम्बन्धी निर्देशिकामा उल्लेख गरिएका मापदण्डहरुमध्ये अधिकांश पूरा नगरेकै कारण यो बैंकको बजार मूल्य ९ सय माथि हुँदा पनि १ सय रुपैयाँमा एफपीओ जारी गर्नुुपरेको हो।

बोर्डले एफपीओ निश्कासनका लागि विगत पाँचवर्षमा कम्तीमा पछिल्लो दुुई वर्ष खूद मुनाफामा संचालन भई प्रति सेयर नेटवर्थ प्रति सेयर चुक्तापुँजी भन्दा बढी भएको, नयाँ निश्कासन(एफपीओ) गर्ने सम्बन्धी निर्णय वार्षिध साधारणसभाबाट पारित भएको, अंकित मूल्यभन्दा बढी मूल्य नतोकी निश्कासन गर्ने भएमा मूल्य निर्धारण गरिएको विधि र सोको औचित्य पुष्टि गर्ने आधार उल्लेख भएका लगायतका मापदण्ड तोकेको छ । यसको अर्थ नेपाल ग्रामीण विकास बैंक विगत ५ वर्षदेखि संचालनमा रहेको कम्पनी होइन । यो बैंकले जारी वर्षदेखि मात्र मुनाफा आर्जन र पोजिटिभ नेटवर्थ कायम गर्न सकेको छ । यो हिसाबले २ वर्षदेखि खूद मुनाफामा संचालन भई प्रति सेयर नेटवर्थ प्रति सेयर चुक्तापुँजी भन्दा बढी भएको भन्ने मापदण्ड समेत पूरा भएन । यी महत्वपूर्ण मापदण्ड पूरा नभएकै कारण यो बैंके प्रिमियम मूल्य समेत जोडेर एफपीओ निश्कासन गर्न नसकेको हो । 

नेपाल ग्रामीण विकास बैंक सन् २०१४ मा देशभरका पाँच माइक्रो फाइनान्स कम्पनी आपसमा मर्ज भई निर्माण भएको राष्ट्रिय स्तरको माइक्रो फाइनान्स कम्पनी हो । हाल यो बैंकको चुक्तापूँजी ५५ करोड ७५ लाख रुपैयाँ रहेको छ । यो माइक्रो फाइनान्समा नेपाल सरकार  ३५.४४ प्रतिशत संस्थापक सेयर स्वामित्वसहित मेजर सेयरहोल्डरको रुपमा रहेको छ । नेपाल राष्ट्रबैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, बैंक अफ काठमाण्डूू, नेपाल बंगलादेश बैंक लगायतका वाणिज्य बैंक पनि संस्थापक सेयरधनी हुुन् । हाल यो बैंकको संस्थापक सेयरधनीको हिस्सा ८२.१३ प्रतिशत छ भने सर्वसाधारणको सेयर होल्डिंग १७.८७ प्रतिशत मात्र छ । 

नेपाल राष्ट्रबैंकको नीति अनुसार यस्ता कम्पनीमा सर्वसाधारण सेयर स्वामित्व कम्तीमा ३० प्रतिशत हुनैपर्ने हुन्छ । यही मापदण्ड पूरा गर्न नेपाल ग्रामीण विकास बैंकले सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको हो । ९ लाख ७५ हजार कित्ता एफपीओ जारी गरेपछि यो बैंकमा सर्वसाधारणहरुको स्वामित्व ३० प्रतिशतको हुनेछ ।