काठमाण्डौ । नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्स्ले आफनो तेस्रो नयाँ विमान A-320 लाई शुक्रबार बिहान १०ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ । 

हैम्बर्ग, जर्मनीबाट उडान गरिएको, 9N-ALW  रजिष्ट्रेशन नम्बरको उक्त विमानलाई विमानस्थलमा अवतरण हुनासाथ  पानीको तोपद्वारा सलामीसहित भव्य स्वागत गरिएको थियो । 

सन् २०१७ भित्रै हिमालय एअरलाईन्समा ल्याईएको यो A-320 दोस्रो जहाज हो र योसँगै हिमालय एअरलाईन्स्सँग अब एयरबस A-320 सिरिजका तीनवटा जहाज भएको छ । 

आफ्नो व्यावसायिक उडानको पहिलो वर्षमै तीन-तीनवटा A-320 सिरिजका जहाजहरु भित्राउनु नेपाली निजी एअरलाईन्स् कम्पनीको महत्वपूर्ण उपलब्धि रहेको हिमालय एयरलाइन्सले दाबी गरेको छ । 

नयाँ एअरबस A-320 लाई स्वागत गर्न हिमालय एअरलाईन्स्ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विशेष स्वागत कार्यक्रम आयोजना गरेको थियो । जसमा एअरलाईन्स्का अध्यक्ष झाओ गुओकिङ्ग, प्रशासन–उपाध्यक्ष विजय श्रेष्ठलगायत कम्पनीका उच्च पदस्थ अधिकारीहरु सहभागी थिए । 

एअरलाईन्स्का प्रशासन-उपाध्यक्ष विजय श्रेष्ठले २०१७ साल हिमालय एअरलाईन्सको लागि उपलब्धिमूलक रहेको बताए । उनले एयरलाइन्सले दुईवटा नयाँ जहाज भित्राएर दुईवटै नयाँ गन्तव्य क्वालालम्पुर र याङ्गगुन उडान सुरुवात गरेको र अब तेस्रो जहाज A-320 को आगमनसँगै उडड्यन क्षेत्रमा विश्वव्यापी सञ्जाल विस्तार गर्ने र नेपालको हवाई सम्पर्कलाई अन्तर्राष्ट्रिय जगत्मा मजबूत तुल्याउने योजना  रहेको बताए । 

कुल १५८ सिट क्षमता रहेकोे A320-214  सिरिजको नयाँ विमान सानो आकारको विमान हो र यसलार्ई  सिट संंरचनाको हिसाबले दुई वर्गमा विभाजन गरिएको छ, जसमध्ये ८ वटा सिट विजनेस क्लासका लागि छुट्याइएको छ भने बाँकी १५० वटा सिट  इकोनोमी क्लासको रहेको छ ।

यो तेस्रो विमानले  अप्रिल २०१७ बाट सेवा प्रदान गर्न सुरु गर्ने बताइएको छ । दमाम, दुवई, हङकङ, दिल्ली, चेन्नाई, वैङ्गक, बेइजिङ, जस्ता नयाँ क्षेत्रहरुमा सेवाको सुरुवातका साथै हाल उडान सञ्चालन  भइरहेका क्षेत्रहरुमा पनि नयाँ एयरबसले उडान भर्ने बताइएको छ ।