काठमाण्डौ । ‘पर्ख र हेर’को रणनीतिमा हात बाँधेर बसेका लगानीकर्ताहरुको प्रवेश हुन थालेसँगै सेयर बजारमा उत्साह फर्किएको छ । 

बुधबार उछालको गतिमा बुर्कुसी मारेको बजारले साताको अन्तिम कारोबार दिन बिहीबार पनि २७.०५ अंकको छलाङ मार्यो । सेयर खरीदको चापका कारण बितेको २ महिनाको अवधिमा सबैभन्दा बढी सेयर किनबेच भयो भने बजारको नेतृत्व गर्ने मुख्य सूचकमा उच्च सुधार आयो । गत पुस ५ गते मंगलबारको दिन बजारमा ६८ करोड ३९ लाखको सेयर किनबेच भएको थियो । त्यसपछि ६६ करोडको कारोबार भएको बिहीबार नै पहिलो पटक हो । 

यो साताको सुरुवातमा बजारमा पहिरोहरु गए पनि पछिल्ला दिन भने सुधार भएका थिए । बजार घटिरहँदा समेत कारोबार(टर्नओभर)ले साथ छाडेका थिएन, जसकारण कारण बजार बढ्ने आशा जिवितै थियो । 

योसँगै तरलताको चरम अभावका कारण समग्र अर्थतन्त्र नै समस्यामा परेको थियो । पछिल्लो समय नियामक र सम्बद्ध निकायका जिम्मेवार अधिकारीहरुले सार्वजनिक रुपमै तरलता केही सहज हुँदै गएको बताइरहेका छन् । यसले समेत बजारलाई प्रभाव पारेको देखिएको छ । 

यसैगरी, अन्यौलग्रस्त राजनीतिमा केही सहज हुने संकेत समेत देखिएको छ । केही दिनमै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बिषयमा प्रमुख दलहरु सहमतिमा पुुगेका छन् । यसले  समेत बजारलाई सकारात्मक प्रभाव पारेको छ । निर्वाचन घोषणा भएलगत्तै सरकारी खर्च बढ्ने र ढुकुटीमा थुप्रिएको रकम समेत बिस्तारै बैकिंग च्यालनमा आउने आशा समेत बढेर गएको छ । 

अर्कोतर्फ, संसदीय समिति र अन्य क्षेत्रबाट सरकारलाई पूँजीगत खर्चमा वृद्धि गर्न तीव्र दवाब परेको छ । सरकारले खर्च गर्न नसकेका कारण बजारमा तरलता अभावको समस्या उत्पन्न भएको र यसले समग्र अर्थतन्त्रसँगै सेयर बजारलाई समेत चौपट बनाएको चौतर्फी टिप्पणी हुन थालेपछि सरकारको रणनीति खर्च बढाउनेतर्फ केन्द्रीत हुने संकेत समेत लगानीकर्ताले देखेका छन् । यो कारणले समेत सेयर बजारको गुमेको रौनक फर्किएको देखिन्छ । 

यस्तै, सार्वजनिक निश्कासनहरुमा फसेको पैसा समेत फर्किन थालेको छ। नेपाल एसबीआई बैंकको एफपीओबाट फर्किएको पैसाले समेत यो बीचमा काम गरेको देखिन्छ । अर्कोतर्फ, पर्ख र हेरको रणनीतिमा रहेका लगानीकर्ताहरुले अवस्थामा सुधार हुँदै गएको विश्लेषणसहित मूल्य तल झरेको बेला सेयर उठाउने क्रमलाई पनि तीव्र पारेका छन् । घटेको बेला सेयर उठाउने कतिपय लगानीकर्ताले ३ दिनको बीचमा १० देखि १५ प्रतिशतसम्म कमाएका छन् । बजार अझ माथि जाने भन्दै सेयर खरीदको चाप बढेका कारण समेत नेप्से परिसूचक र कारोबार रकम समेत उक्लिन थालेको विश्लेषकहरुले बताएका छन् । 

के-के भयो बिहीबार ?
साताको अन्तिम कारोबार दिन बिहीबार २७.०५ अंकले बढ्दै नेप्से परिसूचक १३४३.८५ अंकको उचाईमा पुुग्यो । क वर्गका कम्पनीप्रतिको आकर्षणका कारण सेन्सेटिभ इण्डेक्स ६.७३ अंकले बढ्यो भने समग्र कारोबार समेत सुधार भएका कारण फ्लोट इण्डेक्स २.१४ अंकले उक्लियो । 

अरुबेला सबैभन्दा ठूलो पहिरोको सामना गर्ने बिमा समूहले बिहीबार सबैभन्दा ठूलो फड्को मार्यो । यो समूहको सूचक २९०.२७(५.२६प्रतिशत)ले उक्लियो । वाणिज्य बैंक समूहमा २६.३७ अंकको वृद्धि देखियो भने विकास बैंक, बित्त, जलविद्युत र होटल समूह क्रमशः २४.०६, ११.६१, १४.१४ र २४.६८ अंकले बढे । 

उत्पादनमूलकमा ६.३५ र अन्य समूहमा ६.६५ अंकको गिरावट देखियो । 

यो दिन बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडले सबैभन्दा बढी ४ करोड  ९ लाखको कारोबार गर्यो । प्रभू बैंकले ३ करोड २९ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ३५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड २६ लाख बढीको कारोबार गरे । बिहीबार सबैभन्दा धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक र ४ स्थान बिमा कम्पनीले ओगटे । 

साताको अन्तिम कारोबार दिन ४ कम्पनीले पैसा छापे । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेड, नबील ब्यालेन्स फण्ड १, एभरेष्ट इन्स्योरेन्स र एनबी इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, अन्य ७ कम्पनीको सेयर मूल्यमा पनि १० प्रतिशतको हाराहारीमा बढोत्तरी भयो । ती कम्पनीहरु हिमालयन जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, भागर्व विकास बैंक, सगरमाथा इन्स्योरेन्स, प्रभू इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स रहेका छन् । 

यस्तै, यो दिन पनि दिव्यश्वरी हाइडोपावर कम्पनीले नै बढी गुमाएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । साताको अन्तिम दिन १४५ कम्पनीको सेयर कारोबार भएकोमा ३० कम्पनीको सेयर मूल्य घट्यो भने बाँकी १ सय १५ कम्पनीको सेयर मूल्य वृद्धि भयो ।

के होला आगामी साता ? 
यो साताको अन्तिम कारोबार दिनहरुको अवस्था हेर्दा आगामी साता बजार अझ माथि जाने विश्लेषण गर्न सकिन्छ । बजारलाई माथि उकास्न प्रभाव पार्ने बिषयमा आगामी साता अझ बढी सुधार हुनेछ । तरलताको अवस्था अझ सहज भएर जानेछ भने सरकारले स्थानीय निकायको निर्वाचनको मिति समेत घोषणा गर्नेछ । यी २ कारण नै आगामी साता सेयरधनीलाई मालामाल बनाउने पर्याप्त कारण बन्नसक्छन् । 

यस्तै, यो साता चाहेजति सेयर उठाउन नपाएका चलाख लगानीकर्ताले आगामी साता अझ बढी सेयर खरीद गरेर खरीद चाप बढाउन मद्धत गर्नेछन् । यसले समेत समग्र बजारको हरियाली अनवरत कायम रहने आशा गर्न सकिन्छ । जे होस्, यो साताको अन्तिम समयदेखि बियरिस टे«ण्डको बजारमा भएको क्रमभंगताले आगामी दिनको बजारलाई अझ चलायमान र हराभरा बनाउने सहजै आँकलन गर्न सकिन्छ ।