काठमाण्डौ । नेपालीमाझ आकर्षक अमेरिकी इलोक्टोनिक्स डाइभर्सिटी भिसा(इडिभी) फेरि खुल्ने भएको छ । 

सन् २०१८ का लागि आगामी मंगलबादेखिर इडिभी भर्न सकिने काठमाण्डौस्थित अमेरिकी दूताबासले बुधबार एक विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ । 

दूताबासका अनुसार आगामी मंगलबार नेपालको स्थानीय समय अनुसार बिहान ९ः४५ बजेबाट खुल्ने इडिभीको आवेदन  कात्तिक २२ गते स्थानीय समय अनुसार १०ः४५ बजे बन्द हुनेछ । 

दूताबासले डिभी भर्न कुनै शुल्क नलाग्ने प्रष्ट्याएको छ । तर, नेपालमा डिभी भराउने कन्सल्टेन्सीहरुले यो अवधिमा राम्रै आम्दानी गर्ने गर्छन । 

यसपटक अमेरिकी दूतावबासले डिभीका लागि आवेदन दिंदा कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ । 

‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला ।’ दूताबासको  विज्ञप्तिमा भनिएको छ–‘सहयोग जसले उपलब्ध गराए पनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ।’

यसरी भर्नुहोस् आवेदन
दूतावास स्रोतका अनुसार सन् २०१८ को डिभी चिठ्ठामा आवेदन दिन चाहनेले www.dvlottery.state.gov 
मा जानुपर्नेछ । आवेदन फारम भर्दा पति पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई अनिवार्य रुपमा सूचिकृत गर्नुपर्ने बताइएको छ । दूताबासका अनुसार एकजनाले एकपटक र एउटा मात्र आवेदन दिनुपर्नेछ । धेरैपटक एकै व्यक्तिले धेरै आवेदन दिए त्यो चिठ्ठाका लागि अयोग्य ठहरिनेछ । 

यसैबीच, यसअघिका डिभी आवेदन फारम भर्दा प्रयोग गरिएका फोटोहरु दोहोर्याएर प्रयोग नगर्न समेत दूताबासले सुझाएको छ । फोटो खिच्दा चश्मा समेत नलगाउन दूताबासले आग्रह गरेको छ । फोटो सम्बन्धी नियम उल्लंघन भए त्यस्ता फारमहरुलाई समेत चिठ्ठाका लागि अयोग्य मानिने छ ।

दूताबासका अनुसार डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नुपर्नेछ । दूताबासको विज्ञप्तिमा छ–‘डिभीका लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मङ्गलबार, मे २, २०१७ (२०७४ वैशाख १९) वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो।’