काठमाण्डौ । नेपाल लाइफ र फरवार्ड माइक्रो फाइनान्सको एफपीओ/आइपीओमा फ्रिज भएको पैसा फिर्ता हुन थालेपछि यसले बजारमा सकारात्मक तरंग ल्याएको छ । लगानीकर्ताको रित्तो गोजी भरिन थालेपछि त्यसले बजारमा जति सकारात्मक प्रभाव पार्यो, विभिन्न कम्पनीको बोनस र हकप्रदको प्रभाव समेत कम महत्वपूर्ण रहेन । यस्ता केही सकारात्मक संयोगले साताको अन्तिम कारोबार दिन बजार परिसूचक(इण्डेक्स)मा वृद्धि भएको हो ।

चैत १ गतेदेखि स्ट्याण्डर्ड चार्टर्ड बैंकले एफपीओ निश्कासन गर्दैछ । धेरैलाई बल्लतल्ल फिर्ता भएको रकमले बजार उठ्ने आशा गरिरहँदा सो पैसा फेरि एफपीओमा गएर अड्किई बजार बियरिस ट्रेण्डमा जाने हो कि भन्ने शंकाले समेत सताएको देखिन्छ ।

एक अंकले बढेको इण्डेक्समा कारोबार रकममा देखिएको उत्साहजनक बढोत्तरी र बिहीबारदेखि नेपाल लाइफ र फरवार्डको सार्वजनिक निश्कासनमा फ्रिज भएको रकम लगानीकर्ताले पाउन थालेका कारण आगामी साता बजारले सकारात्मक गति लिने अनुमान लगाउन सकिने विश्लेषकहरुले बताएका छन् । कतिपयले त बजारलाई सकारात्मक गति दिने हो भने लामो समयपछि हातमा आएको रकम बुद्धिमतापूर्वक दोश्रो बजारमै लगानी गर्न र घाटाको सौदाको रुपमा प्रमाणित हुँदै गएको सन्निकट एफपीओमा नहाल्न लगानीकर्तालाई सुुझाव दिएका छन् । चैत १ गतेदेखि स्ट्याण्डर्ड चार्टर्ड बैंकले एफपीओ निश्कासन गर्दैछ । धेरैलाई बल्लतल्ल फिर्ता भएको रकमले बजार उठ्ने आशा गरिरहँदा सो पैसा फेरि एफपीओमा गएर अड्किई बजार बियरिस ट्रेण्डमा जाने हो कि भन्ने शंकाले समेत सताएको देखिन्छ । ‘यदि बजारलाई जोगाउने हो भने बेकारको एफपीओमा लगानीकर्ताले पैसा नहालेको राम्रो ।’ एक विश्लेषकले भने–‘दुःख गरेर एफपीओ हाल्यो, लामो समयसम्म रकम फ्रिज हुन्छ, बाँडफाँड हुँदा कि त पर्दैन, परिहाले पनि दुुईचार कित्ता मात्र पर्छ ।’ यसकारण एफपीओमा लगानी गर्नुभन्दा दोश्रो बजारमा लगानी गरेर सर्ट टर्ममा कमाउने रणनीति बनाए फाइदा हुने अनुुभवीहरुको समेत सुुझाव छ । 

बिहीबार नेप्से परिसूचक ५.९७ अंकले वृद्धि भई १३४७.५३ अंकमा पुुगेको हो । मंगलबारको तुलनामा कारोबार रकममा पनि १० करोडको बढोत्तरी भयो । मंगलबार ४२ करोडको हाराहारीमा सेयर किनबेच भएकोमा बिहीबार त्यो बढेर ५२ करोडको उचाईमा पुुग्यो । 

साताको अन्तिम दिन उत्पादनमूलक र अन्य बाहेक सबै समूहको सूचकमा हरियाली छायो । बिमा समूह ५९.२५ अंकले बढ्यो भने होटल समूहमा २४.८६ अंकको बढोत्तरी देखियो । यस्तै, जलविद्युत समूहमा १३.४६, वाणिज्य बैंक समूह ६.९४, विकास बैंकमा २.३९ र बित्त समूहमा १.७७ अंकको वृद्धि भयो । उत्पादनमूलक १२.५७ अंकले घट्दा अन्य समूहमा ४.६३ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार १ सय ३८ कम्पनीका १० लाख ३६ हजार ९ सय ८३ कित्ता सेयर ५२ करोड ७ लाख ८९ हजार ७ सय ९८ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले ९ करोड १४ लाख बढीको कारोबार गर्यो । नेपाल लाइफले ५ करोड ७९ लाख र एनसीसी बैंकले ४ करोड २७ लाख बढीको कारोबार गरे । नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको समेत २ करोड ७४ लाख बढीको संस्थापक सेयरको कारोबार भयो । बिहीबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा सम्पनी र बाँकी एक स्थान लघुवित्त कम्पनीको कब्जा रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
साताको अन्तिम कारोबार दिन तीन कम्पनीका लगानीकर्ता मालामाल भए । आरएसडिसी लघुवित्त र नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो भने अपी पावर कम्पनीका लगानीकर्ताले समेत ९ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए । 

बिहीबार हिमालयन डिस्टीलरीको सेयर मूल्यमा पहिरो गयो । यो कम्पनीको सेयर मूल्य एकैदिन १० प्रतिशतको हाराहारीमा घट्यो । यस्तै, काबेली विकास बैंकका सेयरधनीले समेत ७ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाए ।