काठमाण्डौ । सानिमा बैंक लिमीटेडले बैशाख १७ गते(आज)देखि १० बराबर ३ को अनुपात(३० प्रतिशत) हकप्रद सेयर निश्कासन गरेको छ ।

यो बैंकले पुँजीवृद्धिको उद्देश्यले १ सय रुपैयाँ अंकित मूल्यका कुल १ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद निश्कासन गरेको हो ।

बैंकका सेयरधनीले आगामी जेठ २१ गतेभित्र तोकिएका आवेदन केन्द्रमा गएर हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

सानिमा बैंकको ३० प्रतिशत हकप्रदका लागि २०७३  चैत १८ गतेलाई  बुक क्लोजको मिति तोकिएको थियो । यसको अर्थ चैत १७ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा सिबीआइएल क्यापिटल लिमीटेड रहेको छ ।

इच्छुक सेयरधनीले डिल्लीबजारस्थित सीबीआइएल क्यापिटल लिमीटेडको मुख्य कार्यालय, नक्सालस्थित सानिमा क्यापिटल लिमीटेडको मुख्य कार्यालय र सानिमा बैंकका सबै शाखा कार्यालयहरुमा गएर हकप्रदका लागि आवेदन दिन सक्नेछन्।

सानिमा बैंकको हाल चुक्तापुँजी ५ अर्ब ३० करोड रुपैयाँ छ । ३० प्रतिशत हकप्रद बिक्रीपछि चुक्तापुँजी वृद्धि भई ६ अर्ब ९० करोडको उचाईमा पुग्नेछ ।

यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९४ करोड ६९ लाख खुद नाफा आर्जन गरेको छ ।