काठमाण्डौ । नेपाल आयल निगमले खुल्ला प्रतियोगिताबाट स्थायी पदपूर्ति हुने गरी १२ पदमा ६२ जनाका लागि जागिरको अवसर खुलाएको छ । 

निगमको पदपूर्ति समितिले शनिवार आवश्यकता सम्बन्धी सूचना जारी गर्दै उपप्रबन्धकदेखि मिस्त्रीसम्मको पदमा दरखास्त आह्वान गरेको हो । 

नयाँ जागिरहरुमा दरखास्त दिन स्नातक पढेकादेखि एसएलसी उत्तीर्णसम्मले पाउने भएका छन् । 

निगमले मेकानिकल समूहको उपप्रबन्धक पदमा ३ जना, सिभिलतर्फको सोही पदमा ४ जना, इलेक्टिकल, केमिकल, पेटोलियम, इण्डष्ट्रियल समूहको उपप्रबन्धक पदमा १ १ जना माग गरेको छ । 

यसैगरी, कम्प्युटर इञ्जिनियरतर्फको उपप्रबन्धकको महिलातर्फको कोटामा १ जना पनि मागिएको छ । 

सहायक प्रबन्धकतर्फ प्रशासनका लागि ९ जना मागिएको छ । लेखातर्फको सहायक प्रबन्धकमा ७, कम्प्युटर तथा आइटीतर्फको सहायक प्रबन्धकमा ३ जना मागिएको छ । 

उपप्रबन्धक र सहायक प्रबन्धकमा माग भएको विभिन्न पदमा सम्बन्धित बिषयमा स्नातक तह उत्तीर्णले आवेदन दिनसक्ने बताइएको छ । 

यसैगरी, निगमले पाँचौ तहको प्रशासनतर्फको वरिष्ठ सहायकमा ४ जना, लेखातर्फको वरिष्ठ सहायकमा ४ जना, ल्याबतर्फको सोही पदमा २ जना मागिएको छ । लेखा र प्रशासनतर्फको वरिष्ठ सहायकमा सम्बन्धित बिषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्णले र ल्याबतर्फको वरिष्ठ सहायकामा केमेस्टी बिषय लिई विज्ञान बिषयमा स्नातक तह उत्तीर्णले आवेदन दिन सक्ने बताइएको छ । 

कम्प्युटरतर्फको वरिष्ठ सहायक पदमा समेत ४ जना मागिएको छ । यो पदमा पनि सम्बद्ध बिषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण वा जुनसुकै बिषयमा प्रवीणता प्रमाणपत्र तहह उत्तीर्ण गरी दर्तावाल संस्थाबाट कम्तीमा ६ महिनाको कम्प्युटर तालिम लिएकोले आवेदन दिन सक्ने बताइएको छ । 

एसएलसी उत्तीर्ण गर्नेहरुका लागि प्रशासनतर्फको सहायक र लेखातर्फको सहायक पदमा जागिर खुलाइएको छ । प्रशासनतर्फ४ जना र लेखातर्फ ८ जना मागिएको छ । यसैगरी, मेकानिकल समूहतर्फ सहायक मिस्त्री पदमा ३ जना मागिएको छ । यो पदका लागि एसएलसी उत्तीर्ण गरी मान्यताप्राप्त प्राविधिक शिक्षालयबाट मेकानिकल सम्बन्धी एकवर्षको तालिम लिएको वा मेकानिकल कार्यको ३ वर्षको अनुभव प्राप्तले आवेदन दिनसक्ने बताइएको छ । 

सबै पदमा सूचना प्रकाशित भएको मिति(२०७३ असार ४ गते)बाट २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिनभित्र निगमको केन्द्रीय कार्यालय, बबरमहल(काठमाण्डौ) आइपुग्ने आवेदन दिनुपर्ने उल्लेख छ । 

उपप्रबन्धक तहका लागि ८ सय, सहायक प्रबन्धक तहका लागि ७ सय, वरिष्ठ सहायकका लागि ४ सय र बाँकी अन्य पदका लागि ३ सय रुपैयाँ परीक्षा दस्तुर लाग्नेछ । 

बाँकी सूचनाहरु प्राप्त गर्न तलको सूचनामा  डबल क्लिक गर्नुहोस् ।