काठमाण्डौ । नेपाल टेलिकमले २०७२ सालको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई २०७२ चैत २९ गतेदेखि डाटासहितको सिमकार्ड बिक्रीवितरण गर्ने भएको छ ।

योजनाअनुसार उपलब्ध गराइने सिमकार्ड खरीद गर्न विद्यार्थीहरुले रु. ९० भुक्तानी गर्नुपर्नेछ र त्यसमा रु. ५० बराबरको टक भ्याल्यु र ३ सय एमबीको डाटा निःशुल्क उपलब्ध हुनेछ । सो सिम एक्टिभ भएको मितिदेखि ६ महिनासम्म प्रत्येक महिना ५० एमबी डाटा भोल्यूमका दरले निःशुल्क प्रयोग गर्न सकिनेछ । 

मोबाइल सेवामा युवा तथा विद्यार्थी वर्गको आकर्षण दिनानुदिन बढेको र मोबाइल सेवामार्पmत इन्टरनेट सेवाको प्रयोगमा समेत वृद्धि भएकाले युवा तथा विद्यार्थी वर्गलाई लक्षित गरी सेवा उपलब्ध गराइएको नेपाल टेलिकमकी  प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छिन् । 

यस योजनाअन्तर्गत सिम कार्ड खरीद गर्ने विद्यार्थीहरुले एसएलसी परीक्षाको प्रवेशपत्रको प्रतिलिपि, विद्यार्थी स्वयम् वा निजको अभिभावकको नागरिकताको प्रतिलिपि तथा नेपाल सरकारबाट जारी गरिएका परिचयपत्रमध्ये कुनै एकको प्रतिलिपि पेश गर्नुपर्नेछ । यो योजना २०७३ असार मसान्तसम्म कायम रहने प्रवक्ता वैद्यले जनाइन ।