काठमाण्डौ । सिभिल बैंक लिमीटेडको संचालक समिति अध्यक्षको पदबाट सांसद इच्छाराज तामाङले राजीनामा दिएका छन् । योसँगै उनको ठाउँमा अम्बिर बोगटीको आगमन भएको छ ।

नेप्सेमा प्रकाशित एक सूचनाका अनुसार बैशाख १५ गते  सम्पन्न बैंक संचालक समितिको बैठकले इच्छाराज तामाङले अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो । सोही बैठकले बैंकको नयाँ अध्यक्षमा बोगटीलाई चयन गरेको बताइएको छ ।

बोगटी अध्यक्षमा गएपछि उनको ठाउँमा रिक्त रहेको संचालकको पदमा सिर्जना शाक्य(तामाङ)लाई नियुक्त गरिएको छ ।

संसदबाट पारित बाफियाले बैंक तथा बित्तीय संस्थाको संचालक समिति अध्यक्ष बन्न सांसदहरुलाई रोक लगाएको छ  । यस्तै, अध्यक्ष, संचालक तथा सीइओको कार्यकाल समेत तोकिदिएको छ । इच्छाराज तामाङले सांसद रहेका कारण पद छाड्नुपरेको हो ।

यसअघि उनकै दवाबमा प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले पदबाट राजीनामा दिएका थिए । उनको ठाउँमा सीइओको रुपमा गोविन्द गरुङ नियुक्त भइसकेका छन् ।