इटहरी । दुई महिनाअघिदेखि नै घरदैलो र चुनावी प्रचार अभियान । अनेकन टोलीहरु व्यापारीको घर–घरमा पुग्ने क्रम कयौ दिनअघिदेखि जारी छ । जेठ–असारको उखरमाउलो गर्मीको समेत परवाह नगरी घामले भूंग्रो झै बनेको तातो सडकमा अरुबेला एसीलाई माया गर्ने व्यापारीहरु खलखली पसिना हुँदै उत्रिएका छन् । झट्ट सुन्दा र दृृश्य हेर्दा लाग्नसक्छ, यो कुनै ठूलै निर्वाचनको झलक होला । तर होइन, पूर्वाञ्चल विकास क्षेत्रको केन्द्र इटहरीमा आगामी असार २३ गते हुन लागेको उद्योग वाणिज्य संघ इटहरीको अधिवेशन र नयाँ नेतृत्व छनौटको सरगर्मी हो । 

इटहरीका व्यवसायी र उद्योगीहरुलाई स्थानीय निर्वाचनको भन्दा कडा चुनाव लागेको देखिएको छ । उनीहरुको प्रचार अभियान बैशाखदेखि नै सुरु भएको थियो । सो अभियान जेठको अन्तसम्ममा आएर अझ उग्र भएको छ । घरदैलो अभियान जसरी तीव्र भएको छ, इटहरीका उद्योगी व्यवसायीहरुले सामाजिक सञ्जालमा समेत उसैगरी सरगर्मी बढाइरहेका छन् । सामाजिक सञ्जालको भरपूर प्रयोग गर्दै मत माग्नेहरु पनि निकै देखिएका छन् । 

यसपटक इटहरी उवासंघको नेतृत्व हत्याउने बिषयलाई अध्यक्ष र अन्य उम्मेद्वारका दाबेदारहरुले आफ्नो प्रतिष्ठा बनाएका छन् । साबिकको इटहरी नगरपालिकामा आसपासका चार ठूला गाविस गाभिएर उपमहानगरपालिका बनेपछि सोही अनुसार उवासंघ इटहरीको संरचना तथा कार्यक्षेत्र समेत वृहत भएकोले यसको नेतृत्व गर्ने रहरमा रहेकाहरुलाई जित हासिल गर्न निकै पापड बेल्नुपर्ने अवस्था छ । आसपासका खनार, हासपोसा, एकम्बा र पकली गाविसबाट समेत मतदाता थपिएका कारण उनीहरुको भोटलाई कसरी आफ्नो पोल्टामा पार्ने भनेर दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । 

यो पटक उवासंघको चुनावमा ईश्वरी पराजुली र लिलम बस्नेतको प्यानल औपचारिक घोषणासहित उत्रिएको छ । पराजुलीलाई राप्रपा नेपालको समेत समर्थन रहेको छ । पराजुली हाल उवासंघको वरिष्ठ उपाध्यक्ष छन् भने बस्नेत उद्योग उपाध्यक्ष । राजनीतिक रुपमा पराजुलीलाई कांग्रेस र एमाओवादीको समर्थन रहेको छ भने लिलमलाई एमालेको । इटहरी वर्षौअघिदेखि एमालेको आधारइलाका प्रमाणित हुँदै आएको छ । तर उद्योग वाणिज्य संघको नेतृत्वमा प्राय कम्युनिष्टहरु पुगेका छैनन् । यही कारण समेत यसपटकको उवासंघको चुनावलाई एमाले, कांग्रेसले समेत मुख्य रुपमा प्रतिष्ठाको बिषय बनाएका छन् । 

कांग्रेसले उवासंघको चुनावबाट पराजुलीलाई जिताएर एमालेको आधार इलाकामा झड्का दिनुछ भने अर्कोतर्फ डेमोक्र्याटहरुले नेतृत्व गर्दै आएको विरासत जोगाउनु छ । एमालेले चाहि राजनीतिमा आधार इलाका भएकै क्षेत्रमा वर्षौदेखि उवासंघको नेतृत्वमा आफ्नो प्रतिनिधि पठाउन नसक्नुको पीडामा मल्हमपट्टि लगाउनुछ । यी दुवै उत्कट चाहना र इच्छाभित्र एमाओवादी, राप्रपा नेपाल जस्ता दलका स्वार्थ र प्रतिष्ठाहरु पनि लुकेका छन् ।

उवासंघ इटहरीमा यसअघि लगातार दुई कार्यकालसम्म कांग्रेस कार्यकर्ता समेत रहेका व्यापारी रोहित प्रसाईंले जित हासिल गरेका थिए । त्यसअघि कांग्रेसकै टंकप्रसाद दुलाल अध्यक्ष थिए । दुलालअघि तीर्थराज गौतम(स्व.) अध्यक्ष थिए, उनी पनि कांग्रेस समर्थक नै थिए ।  

इटहरी राप्रपा नेपालका नेता तथा मन्त्री रामकुमार सुब्बाको गृहनगर पनि हो । यो हिसाबले सो दलको समर्थनले पनि अर्थ राख्छ । एमाओवादीको खासै ठूलो प्रभाव नभए पनि उद्योगी व्यवसायीहरुमा उसका पनि केही कार्यकर्ता छन् । यसको अर्थ तुलनात्मक रुपमा साबिकको इटहरीलाई मात्र हेर्दा ईश्वरी पराजुलीको अवस्था निकै मजबुत मान्नुपर्ने कांग्रेस निकट स्थानीय संचारकर्मी चेतन धमला बताउँछन । धमलाको भनाईमा इटहरीका व्यापारी र व्यवसायीमा लोकप्रिय पराजुलीको पल्ला भारि छ । तर साबिकको नगरपालिकामा गाभिएका गाविसका मतदाताको मनभित्रको कुराले समेत महत्वपूर्ण भूमिका खेल्ने हुँदा यसै भन्न सकिने अवस्था छैन । उनले बिजशालासँग भने–‘जे होस् प्रतिस्पर्धा र चुनावी अभियान स्थानीय निर्वाचनको भन्दा पनि कडा र खरो रुपमा चलिरहेको छ ।’ 

एमाले निकट संचारकर्मी लिलाराज भट्टराई भने २ नम्बर निर्वाचन क्षेत्रमा पर्ने गाविसहरु नै इटहरी उपमहानगरमा गाभिएका र ती सबै क्षेत्र एमालेको आधार इलाका रहेकोले यसपटक उवासंघमा एमाले उम्मेद्वारले जित्ने दाबी गरे । ‘यसपटक लिलम बस्नेतले जित्नुहुन्छ ।’–उनले भने–‘उहाँका एजेण्डा र सबै दल तथा विचार राख्नेहरुसँग भिज्नसक्ने क्षमताका कारण समेत उहाँको निश्चित छ ।’ उनको दाबी अनुसार बस्नेत २४ सै घण्टा व्यापारीका लागि खटिनसक्ने व्यक्ति हुन् । 

दलीय समर्थनको अलावा उम्मेद्वारको पहुँच, व्यक्तित्व र स्थानीयता जस्ता कुराहरुले समेत चुनावमा प्रभाव पार्नसक्छ । यसपटकको दुवै उम्मेद्वार इटहरीका रैथाने मात्र होइन, स्थानीय व्यापारी व्यवसायीमा भिजेका व्यक्ति पनि हुन् । यस हिसाबले दलीय गणित बिग्रने र व्यक्तिगत सम्बन्धका आधारमा पनि भोट जाने अवस्था रहेकोले यसै भनिहाल्न नसकिने केही नगरबासी बताउँछन । 

आकांक्षीको भीड
उद्योग वाणिज्य संघ इटहरीमा एक अध्यक्ष, २ महिला सदस्य, १ एशोसिएसट सदस्य, २ वस्तुगत, ४ उद्योग, ८ वाणिज्यतर्फबाट सदस्यको निर्वाचन हुने विधानले व्यवस्थान गरेको छ । तर थोरै पदहरुमा आकांक्षीको भने राम्रै भीड लागेको छ । दुवै प्यानलमा गरी सबै पदका लागि ५० जना भन्दाले उम्मेद्वारी दिएर प्रचार प्रसार अभियानमा होमिएका एक व्यवसायीले बताए । 

मतदाताको अधिकार प्राप्त सदस्यहरुको सदस्यता नवीकरणको मिति असार १० गतेसम्म राखिएकाले कुल मतदाताको संख्या अहिले नै टुंगो नलागे पनि ४ हजार ५  सयदेखि ५ हजारको हाराहारीमा मतदाता रहने बताइन्छ । ५ हजार व्यापारी, व्यवसायी र उद्योगीबाट समेत चुनिनुपर्ने भएकोले उवासंघको चुनावलाई प्रमुख दल, तिनका कार्यकर्ताले मिनी स्थानीय निर्वाचनको रुपमा उपयोग गरिरहेका स्थानीय बुद्धिजीवी बताउँछन । 

यसैबीच, व्यापारीको चुनावमा दलहरु हाबी भएपछि र उनीहरुले प्रतिष्ठाको बिषय बनाएपछि उम्मेद्वारको व्यवसायिक र औद्योगिक एजेण्डा छायामा परेका छन् । उम्मेद्वारहरुले आफ्नो एजेण्डाको आधारमा भन्दा पनि दलीय र व्यक्तिगत सम्बन्धका आधारमा चुनावी अभियान संचालन गरिरहेका पाइएको छ । 

दुवै प्यानलको चुनावी अभियानको फोटो हेर्न तल क्लिक गर्नुहोस् ।