वासिङटनः आगामी ८ नोभेम्बरका दिन हुन गइरहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको मिति आउन एक साता बाँकी रहँदा विभिन्न सर्वेक्षणले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका पक्षमा जनमत रहेको दाबी गरेका छन् ।चुनावमा पक्ष-विपक्षमा विभाजित भएर बहसमा उत्रिएका छन् ।

लामो समयसम्म संयुक्त राज्य अमेरिकी राजनीतिमा होमिई धेरै सदस्यहरू उच्च पदसम्म पुग्न सफल शक्तिशाली राजनीतिक परिवार वृत्तका एक मात्र जीवित सदस्य जर्ज पी बुसले उनका परिवारवृत्तका अन्य सदस्य तथा नातेदारले हिलारी क्लिन्टनलाई मत खसाल्ने ठूलो सम्भावना रहेको बताउँछन् ।

जर्ज पी बुस रिपब्लिकन पार्टीका हुन् र उनी भने आफ्नो राजनीतिक धर्म त्याग नगरी जोसुकै उठे पनि रिपब्लिकन पार्टीकै उम्मेदवारलाई मत दिने बताउँछन् । उनका हजुरबा - जर्ज एच. डब्लु. बुस र काका जर्ज डब्लु. बुस दुबैजना संयुक्त राज्य अमेरिकाका भूतपूर्व राष्ट्रपति हुन् । टेक्ससमा रिपब्लिकन पार्टीद्वारा आयोजित एक सानो पैदलयात्रा कार्यक्रम (¥याली) लाई सम्बोधन गर्दै जर्ज पी बुसले यस्तो अभिव्यक्ति दिएका थिए ।

यस्तो भनाइप्रति रिपब्लिकन पार्टीका समर्थक एवं पत्रकारहरूले असन्तुष्टि प्रकट गरी खास कुरो के हो ? भनी दबाव दिँदा ‘हजुरबा र काकाको पालामा कुरा बेग्लै थियो, तर अहिले परिस्थिति बदलिएको छ । इमान्दारीपूर्वक भन्नुपर्दा मेरै परिवारवृत्तका अन्य सदस्य र नातेदारहरूको मन भाँडिएजस्तो लागेको छ, तर क्लिन्टनलाई नै मत खसाल्ने पक्कापक्की हो भन्ने चाहिँ नठान्नोस् है’ भनी उनले चलाखीपूर्वक आफ्नो बचाउ गरे ।जर्ज पी बुस टेक्सस राज्यका वर्तमान भूमिक्षेत्र आयुक्त (ल्यान्ड कमिसनर) हुन् । उनका पिता जेब पी बुस फ्लोरिडा राज्यका पूर्वगभर्नर हुन् । राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारी दिन जेब पी बुसले पनि कम्मर कसेका थिए । तर, पार्टीको आन्तरिक चयन प्रक्रियामा वर्तमान उम्मेदवार डोनाल्ड ट्रम्पसँग यिनले हार खानुपरेको थियो ।

यसैगरी डेमोक्र्याटकी उम्मेदवार हिलारी क्लिन्टनले फ्लोरिडामा आयोजित एक आमसभामा आफ्नो शुद्ध आयव्यय सार्वजनिक गरी राज्यप्रति करको दायित्व हिसाब राफसाफ गर्न नचाहने वा नगर्ने डोनाल्ड ट्रम्पले निर्वाचनअगाडि करको हिसाब रफादफा नगरे उनलाई ‘अमेरिकी जनताले क्षमा’गर्न नसक्ने बताएकी छिन् ।

एक आमसभालाई सम्बोधन गर्ने क्रममा आफ्नो निकटतम प्रतिद्वन्द्वीउपर खनिँदै हिलारीले ‘ट्रम्पले रूसको हितका लागि के कस्तो गोप्य कुराकानी मिलाइरहेका हुन् र र सम्पत्तिको ठूलै अंश परोपकार संस्था, दान, दातव्यमा गएको भन्ने उनको भनाइ के कति सत्य हो, यी सबै थाहा पाउन आफूलाई तीव्र इच्छा भएको, बरु यस आसभामा उपस्थित धेरैजसोले ट्रम्पले भन्दा सम्भवतः बढ्तै प्रतिव्यक्ति संघीय कर तिर्छन् बुझाउँछन् होला तर ट्रम्पको के चाला हो ? ’ भनी तीतो पोखिन् ।

उच्च ओहदासीन वा उल्लेख्य आय आर्जन गर्ने व्यक्तिले आफ्नो आम्दानी तथा देयकर दायित्वको हरहिसाब इमान्दारीपूर्वक सार्वजनिक गरी राज्यप्रति बफादार आर्थिक अनुशासनमा रहने दशकौं वर्ष पहिलेदेखिको अमेरिकी सुन्दर परम्परा तोड्दै ट्रम्पले के गर्न खोजेका हुन् भन्दै हिलारीले ट्रम्पलाई खिल्ली उडाइन् ।

यता, ट्रम्प भने आफ्नो आयव्यय विवरण निस्की नसकेको, कर दायित्व निर्धारण (एसेस्मेन्ट) भइनसकेको र लेखापरीक्षण चालू रहेकाले यकिन नगरी सार्वजनिक गर्न नमिल्ने भनी स्पष्टीकरण दिइरहेका छन् । यस्तै परिस्थितिलाई सम्बोधन गर्दै हिलारीले ट्रम्पलाई आफ्नो व्यावसायिक हरहिसाब, खातापाता ठीकसँग राख्न नसक्ने अल्छी व्यक्ति भएको बताइन् । यस्ता व्यक्तिहरूले गलत रबैया राख्दै गएमा अमेरिकी अर्थतन्त्र गलत दिशातर्फ जाने व्यंग्य गरिन् ।

१०२ वर्षीया वृद्धाले क्लिन्टनलाई मतदान गर्ने

एरिजोना ः संयुक्त राज्य अमेरिकामा महिलालाई मताधिकार प्राप्तहुनुपूर्व सन् १९१४ मा जन्मेकी, प्रेस्कट, एरिजोना निवासी एकजना वृद्धाले आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मतदान गर्ने दृढता पुनः सार्वजनिक गरेकी छिन् ।

यसअघि सम्पन्न एउटा नमुना मतदान कार्यक्रममा क्लिन्टनको समर्थनमा सर्वप्रथम मत व्यक्त गर्न हतारिने १०२ वर्षीया ज्येष्ठ नागरिक जेरी इमेटले आफूलाई पछ्याई महिला मताधिकार सदुपयोग गर्दै क्लिन्टनलाई जिताउन एरिजोनानिवासी सबै महिलालाई पनि आह्वान गरिन् ।

अमेरिकी संविधानको १९ औं संशोधनपश्चात् सन् १९२० को अगस्त महिनामा महिलालाई पनि मताधिकार प्रदान गरिने विधेयक स्वीकृत भएपछि आफू ६ वर्षकी हुँदा आफ्नी आमा पहिलोपटक मतदान गर्न गएको दिन उनले स्मरण गरिन् । निर्वाचनको दिन मतदान केन्द्र खुल्नासाथै सुरुमै गई क्लिन्टनको पक्षमा भोट खसाल्दै एउटी अमेरिकी महिलाले अर्की अमेरिकी महिलालाई जिताउन नेतृत्व लिने पनि उनले बताइन् ।

गतः जुलाई महिनामा फिलाडेल्फियामा डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलन हुँदा यिनले हिलारीलाई ‘सय वर्षकी महिलाको आशीर्वाद' भन्ने वाक्य लिखित शान्ति र स्थिरताको प्रतीक नीलो र सेतो रंगको झण्डा बोक्दै क्लिन्टनको स्वागत गर्न गएकी थिइन् ।

‘अमेरिकामा प्रथम महिला राष्ट्रपति बनाउनका लागि मतदान गर्न व्यग्रता पूर्वक जीवनको सम्पूर्ण आयु व्यतीत गर्दै प्रतीक्षा गर्दा गर्दा बल्लबल्ल सपना पूरा हुन लागेकाले क्लिन्टनलाई मतदान गर्ने खास दिन अधैर्यताका साथ पर्खिरहेको’ भनी अवकाशप्राप्त शिक्षिका जेरी बताउँछिन् । —रासस/एपी