काठमाण्डौ । राम्रा कम्पनीको सेयरमा उच्च खरीद चाप देखिन थालेपछि सोमबार कारोबार समयको उतराद्र्धबाट बढ्न थालेको नेप्से परिसूचकमा बुधबार उछाल देखिएको छ । 

केही दिनअघिसम्म बिक्रीको उच्च चापले अस्तव्यस्त बनेको बजारमा खरीदको अधिक चाप परेसँगै उछाल आई लगानीकर्ताहरु मालामाल भएका छन् । कारोबारको हिसाबले वाणिज्य बैंक र बिमा समूह अगाडि देखिए पनि कमाउनेमा भने लघुवित्त र विकास बैंक अगाडि देखिए । 

मंगलबारको तुलनामा सेयर बजारको उकालो यात्राले अझ गति लिएको छ र बजारको चमकधमक फर्किएको छ । बुधबार १५ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहरीमा बढेको छ । 

साताको पहिलो कारोबार दिन सर्किट ब्रेकर लगाउनुपरेको बजारमा सोमबार कारोबार समयको पूर्वाद्र्धमा उस्तै निराशा थियो । दुुईपटकसम्म सर्किट ब्रेकर लागेको बजार १४०४ को न्यूनतम विन्दूूसम्म झरेको थियो । तर सोही दिन उतराद्र्धमा यूटर्न लिएको बजारले त्यसपछि बुधबारको कारोबार अवधिसम्म पछाडि फर्केर हेर्नुपरेको छैन । 

बुधबार ५४.६५ अंकको बढोत्तरीसँगै नेप्से परिसूचक १६०८.३३ अंकमा पुुगेको छ । सबै समूहको सूचक हराभरा भएका छन् । 

बुधबार पनि सबैभन्दा बढी विमा समूहले नै फड्को मारेको छ । यो समूहको सूचक ३२६.०९ अंकले बढेको हो । वाणिज्य बैंक समूहमा ५८.७४, विकास बैंकमा ५७.८८, जलविद्युतमा ४९.८४, बित्त समूहमा २३.२१ र अन्य समूहमा ६.३६ अंकको बढोत्तरी भयो । 

'क' वर्गका कम्पनीको कारोबारमा उच्च सुधार आएका कारण सेन्सेटिभ इण्डेक्स १२.३४ अंकले बढ्यो । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार कारोबारले समेत राम्रो उचाई चुमेको छ । १ सय ३५ कम्पनीका १५ लाख २५ हजार ४ सय ९ कित्ता सेयर १ अर्ब ३६ करोड ३५ लाख बढीमा किनबेच भयो । 

समूहगत हिसाबले सबैभन्दा बढी वाणिज्य बैंकहरुले ७४ करोड ७४ लाख बढीको कारोबार गरे । यस्तै, बिमा समूहले ३९ करोड २२ लाख, विकास बैंक समूहले १३ करोड ५८ लाख बराबरको कारोबार गरे । 

कम्पनीगत हिसाबले सेयरको बम्पर अफर घोषणा गर्ने सूचना चुहिएको समयदेखि बजारलाई नेतृत्व गरिरहेको एभरेष्ट बैंककै बोलवाला रह्यो । यो बैंकले सबैभन्दा बढी २० करोड १५ लाख बराबरको कारोबार गर्यो । बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले ६ करोड २ लाख, शिखर इन्स्योरेन्सले ५ करोड ५५ लाख, सिद्धार्थ बैंकले ५ करोड ३६ लाख, लाइफ इन्स्योरेन्स कोअपरेसन नेपालले ४ करोड ३४ लाख, मेगा बैंकले ४ करोड ५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ९८ लाख, एनबी बैंकले ३ करोड ८० लाख, नेपाल एसबी आई बैंकले ३ करोड ४३ लाख र नेको इन्स्योरेन्सले ३ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बुधबार उछालको गतिमा कुदेको बजारमा राम्रा कम्पनीका लगानीकर्ता मालामाल भए । तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने १२ कम्पनीले समेत सोही हाराहारीमा सेयर मूल्य बढाए । 

नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेड, मितेरी डेभलपमेन्ट बैंक र ओमी माइक्रोफाइनान्स बित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, राष्टिय विमा संस्थान, लक्ष्मी लघुवित्त बित्तीय संस्था, रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्था, नेरुडे लघुवित्त विकास बैंक, आइएलएफसीओ माइक्रो फाइनान्स बित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंक लिमीटेड, वेस्टर्न डेभलपमेन्ट बैंक लिमीटेडको सेयर मूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढ्यो । 

मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै गुमायो । यो बैंकको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो । यस्तै, कालिका माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक र यूनाइटेड फाइनान्सको सेयर मूल्य पनि ४ प्रतिशतकै हाराहारीमा घट्यो ।