काठमाण्डौ । मंगलबार बजार खुलेको आधा घण्टा समेत नबित्दै ३ प्रतिशतले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेकर लागेको छ । सर्किट ब्रेकर लागी १५ मिनेट कारोबार स्थगित भएको बजार पुनः खुुलेको छ । पुनः खुलेको बजारको उक्लिने क्रम जारी रहेको छ । 

११ बजो ५४ मिनेट जाँदा बजारमा २७ करोड ७३ लाख बढीको कारोबार भइसकेको छ । यस्तै, यो समयसम्म नेप्से परिसूचक ३.१९ प्रतिशतले वृद्धि भएको छ । बजारमा दोश्रो सर्किट ब्रेकर लाग्ने संभावना देखिएको छ । 

बजारमा सेयर खरीदको चाप तीव्र बनेपछि सर्किट ब्रेकर लागेको हो । 

यो अवधिसम्म बजारमा हरियाली छाएको छ । सबैभन्दा बढी जलविद्युत कम्पनीको सेयर ५.१८ प्रतिशतले बढिसकेको छ भने बिमा समूहमा पनि ३.२२ प्रतिशतको उछाल देखिएको छ । वाणिज्य बैंक समूहमा पनि ३.६९ प्रतिशतको उछाल देखिएको छ । 

के हो सर्किट ब्रेकर ? 
बजारमा हुने अस्वभाविक उतारचढावलाई नियन्त्रण गर्न अपनाइएको एउटा तरिका हो । कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्से परिसूचक ३ प्रतिशतले परिवर्तन भएमा १५ मिनेटका लागि कारोबार स्थगन गरिन्छ । यस्तै, पुनः कारोबार खुलेपछि ४ प्रतिशतले परिवर्तन भएमा अर्को ३० मिनेटका लागि कारोबार स्थगन गरिन्छ भने पुनः कारोबार खुलेपछि परिसूचक ५ प्रतिशतले परिवर्तन भएमा सो दिनको बाँकी पूरै कारोबार समयका लागि कारोबार स्थगन गरिन्छ ।