काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थायी तथा करार सेवाका लागि विभिन्न पदमा १ सय २७ कर्मचारी मागेको छ । 

सोमबार एक सूचनामार्फत प्राधिकरणले स्थायी सेवामा पद पूर्ति हुने गरी ७५ जना र करारमा काम गर्ने गरी ५२ जना कर्मचारी मागेको हो । 

प्राधिकरणले उपनिर्देशक, विभिन्न समूहका प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा स्थायी पदपूर्ति हुने गरी ७५ जना मागेको छ । यस्तै, सातौ तहको एयर ट्राफिक सर्भिसेसका लागि ५२ जना वरिष्ठ अधिकृत करार सेवाका लागि मागिएको छ । 

इच्छुुक उम्मेद्वारले फागुन ९ गतेको मितिबाट २१ दिनभित्र र दोब्बर दस्तुर तिरी त्यसमा थप ७ दिनभित्र आवेदन दिन सक्ने बताइएको छ । 

प्राधिकरणको काठमाण्डौ, बबरमहलस्थित प्रशासन विभागमा आएर दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ । विभिन्न तह अनुसारको पदमा सोही अनुसारको परीक्षा दस्तुुर तोकिएको छ । 

करार सेवाका लागि माग गरिएको ५२ जना वरिष्ठ अधिकृतको हकमा भने २१ दिनभित्रमै आवेदन दिनुपर्ने नियम राखिएको छ । मान्यताप्राप्त शिक्षण संस्थाबाट विज्ञान वा सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण र प्राधिकरणबाट मान्यताप्राप्त संस्थाबाट कम्तीमा ६ महिनाको आधारभूत एयर ट्राफिक सर्भिसेज तालिम लिएकाले मात्र आवेदन दिनसक्ने बताइएको छ । 

स्थायी र करार सेवाका लागि प्राधिकरणले मागेको जनशक्ति र तिनको आवश्यकता योग्यता तथा अन्य कुरा थाहा पाउन यी सूचना हेर्नुहोस् :