काठमाण्डौ । के लामो जीवन र राम्रो स्वास्थ्य संभव छ ? भारतको बनासरमा रहने एक १२० वर्षका बाबा शिवानन्दलाई देख्दा लाग्छ, लामो र स्वस्थ जीवन दुवै संभव छ । 

बाबा शिवानन्दको जीवनमा लेट नाइट कहिल्यै आउँदैन र उनी प्रत्येक बिहान ३ बजे आफ्नो ओछ्यान छोडिसक्छन् । 

स्नानपछि ध्यान र त्यसपछि एकघण्टा योगाभ्यास । उनको भोजन पनि निकै सात्विक(सादा) हुन्छ । उसिनेको आलू, थोरै दाल र भात अनि प्रत्येक छाकमा करेलाको सब्जी र निमको सुख्खा पात । 

उनलाई चखिलो र तेलयुक्त खाना बिल्कुल मन पर्दैन । शिवानन्द दूध र फलफूल पनि खाँदैनन् । उनलाई लाग्छ कि अझै पनि भारतमा धेरै मानिस गरीब छन् र जसका लागि दूध र फलफूल खानु भाग्यमा हुन्न । 

बाबालाई मसलेदार र तेलयुक्त खानाबाहेक सेक्सप्रति पनि बेवास्ता छ । यसैका लागि सायद उनले विवाह गरेनन् । उनले भनेका छन्–‘मेरो गुरुको कृपाले मलाई न त सेक्सको इच्छा छ, न कुनै बिमारी, न तनाव न त कुनै हाइपर टेन्सन नै ।’ 

बाबाका अनुसार यी नियमहरुको उनले ६ वर्षको उमेरदेखि नै कडा पालन गरिरहेका छन् । 

बाबा शिवानन्द सन् १८८६ अगस्ट ८ का दिन श्रीहट्ट जिल्लाको हबीबगञ्जस्थित हरिपुर ग्रामपञ्चायतको बाहुबल इलाकामा एक ब्राम्हण परिवारमा जन्मिएका थिए । यो ठाउँ अहिले बंगलादेशमा पर्छ । 

बाबाको साथमा अंग्रेजीमा रुपान्तरित उनको कुण्डली, भारत सरकारको आधार कार्ड र पासपोर्ट पनि रहेको छ । उनी प्रवचनका लागि इङ्ग्ल्याण्ड, अमेरिका र बंगलादेशसम्म पनि पुगिसकेका छन् । 

उनका अनुसार उनका मातापिता घर–घरमा गएर भीख मागी गुजारा चलाउथे । 

उनले बीबीसी हिन्दीसँग भनेका छन्–‘जब म  ४ वर्षको थिएँ, मेरा बुबाआमाले मलाई नवदीप निवासी बाबा ओमकारनन्द गोश्वामीलाई समर्पित गरिदिए । जब म ६ वर्षको थिएँ, मेरा बुबाआमा र मेरी बहिनी भोकले मरे । यसपछि मैले मेरो गुरुजीको संरक्षणमा अद्यात्मको शिक्षा लिन सुरु गरेँ र उहाँकै प्रेरणाले कुमार जीवन जिउने फैसला गरेको हुँ ।’ 

बंगलादेशबाट आएका उनका शिष्य सत्यहरिदास बाबाको जीवनशैली, स्वस्थ जीवन र लामो आयुबाट धेरै प्रभावित छन् । 

बनारसका डिजल लोकोमोटिवका टेक्निकल इञ्जिनियर जवाहरलाल सिंह १९८४ देखि बाबाको भक्त हुन् र उनी बाबालाई महापुरुष मान्छन् । असमको डिब्रुगढका महामुनी जब १० वर्षका थिए, तबदेखि नै शिवानन्दबाट प्रभावित छन् ।

अब बाबा शिवानन्दका शिष्य चाहन्छन् कि उनको नाम गिनिज बुक अफ रेकर्ड्समा लेखियोस् ।