रिजर्ब बैंक(आरबीआई) नेपाललाई १ सय दरका भारु कुल १ अर्ब रुपैयाँ दिन तयार भएको छ । नेपालमा १ सय दरका भारुको निकै ठूलो अभाव भएपछि त्यसलाई पूर्ति गर्ने उद्देश्यले आरबीआईले नेपाललाई १ अर्ब भारु दिने तयारी थालेको स्रोतहरुले बताएका छन् । 

नेपालको तर्फबाट निकै अघिदेखि नै १ सय दरका भारु मागिएको थियो । तर, सन् २०१६, डिसेम्बर ८ मा भारतले ५ सय र १ हजार दरका भारुमाथि प्रतिबन्ध लगाएपछि आरबीआईले समेत नेपालको मागको बिषयमा ठोस निर्णय लिन सकिरहेको थिएन । 
नोटबन्दीका कारण भारतमै नोटको अभाव भएको बेला नेपाललाई १ सय दरको भारु पठाउन भारतले नसकिरहेको आरबीआई स्रोतलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरुमा लेखिएको छ । 

आरबीआईले निकट भविष्यमै नेपाल राष्ट्रबैंक(एनआरबी)लाई १ अर्ब भारु(एकसय दरका) उपलब्ध गराउने टुंगो लागेको छ । राष्ट्रबैंक स्रोतले समेत यो कुराको पुष्टि गरेको छ । 

हालै आरबीआईले एक पत्र एनआरबीलाई लेख्दै १ सय दरको कुल १ अर्ब भारु चाँडै नेपाललाई उपलब्ध गराउने जनाएको स्रोतले बताएको छ । एनआरबीका एक अधिकारीले बिजशालाई बताए अनुसार यो महिनाभित्रमै १ सय दरको १ अर्ब भारु नेपाल ल्याइनेछ । 

भारत सरकारले ५ सय र १ हजार भारुमाथि प्रतिबन्ध लगाएसँगै नेपालमा भारु सटहीको पुरानो दरमा नेपाल राष्ट्रबैंकले कडाई गरेको थियो । हाल अति आवश्यक पर्दा नागरिकता प्रमाणपत्रका आधारमा २ हजारसम्मको भारु सटहीको सुविधा मात्र उपलब्ध छ । यस अलावा जो व्यक्ति भारतको यात्राका लागि हवाई तथा रेल टिकटका लागि भारु खोजिरहेका छन् उनीहरुलाई १० हजार भारुसम्म सटहीको सुविधा मिलाइएको छ । यस्तै, उपचारका लागि भारत जानेहरुलाई चाहि २५ हजारसम्मको सटही सुविधा उपलब्ध गराइएको छ । 

राष्ट्रबैंकका ती अधिकारीका अनुसार भारतले प्रत्येक वर्ष नेपाललाई ६ अर्ब भारुको सटही सुविधा उपलब्ध गराउँदै आएको छ । तर नोटबन्दीका कारण यसपटक भारु अभावले नेपाल समेत प्रताडित भइरहेको छ । यही कारण चालु आर्थिक वर्षमा हालसम्म नेपालले १ अर्ब २० करोड मात्र भारु पाएको छ ।