काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा बढिरहेको मूल्यको प्रभाव स्थानीय बजारमा समेत पर्दा पहेंलो धातु सुनको मूल्य आइतबार एकैदिन प्रति तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ । 

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार तोलामा ५४ हजार ३ सयमा कारोबार भएको सुनको भाउ साताको पहिलो दिन आइतबार १ हजारले बढेर ५५ हजार ३ सय रुपैयाँ पुगेको हो । 

अघिल्लो साताको आइतबारको तुलनामा यो साताको आइतबार कायम भएको सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढी हो । अघिल्लो साता सुनको भाउ सबैभन्दा बढी बिहीबार प्रति तोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार ५४ हजार, मंगलबार र बुधबार ५४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

सुनको भाउ पछिल्ला केही साताहरुमा खासै बढोत्तरी भएको छैन । ५४ हजारदेखि ५६ हजारको सेरोफेरोमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आइतबार चाँदीको भाउ समेत वृद्धि भएको छ । शुक्रबार तोलाको ७ सय ४५ रुपैयाँमा किनबेच भएको चाँदी आइतबार १० रुपैयाँले बढी ७ सय ५५ मा कारोबार भइरहेको छ ।