बेइजिङ। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले गरेको उदार सहयोगले नेपालको भौतिक विकासमा सहयोग पुर्‍याएको बताएका छन्। चीनले नेपालको विकासमा गरेको उदार सहायताका कारण नै नेपालको विकास अघि बढेको बताएका हुन्।
 
प्रधानमन्त्री ओलीले चिनियाँ कम्पनीको नेपालमा लगानी, व्यापारिक सम्बन्ध र प्राविधिक सहयोगले नै नेपालको विकास गतिशील बनेको पनि बताएका हुन्। उनले चिनियाँ सहयोगले नेपाललाई विकासको गतिमा अगाडि बढ्न मद्दत गर्ने भन्दै आर्थिक सहयोगलाई थप उचाईमा लैजानुपर्ने बताए।
 
'अल्पविकसित अर्थतन्त्रयुक्त भूपरिवेष्टित राष्ट्र नेपालसामु मुलुकलाई समृद्ध बनाउने थुप्रै चुनौतीहरु विद्यमान छन्, हामीलाई लगानी अभिवृद्धि गर्न, स्रोत उपयोग गर्न, प्रविधि र नवीन रणनीतिहरुको विकास गर्न जरुरी छ,' उनले भने, 'लगानीले हाम्रा बाध्यतालाई सहज बनाइदिनेछ, स्रोतले उत्पादनशील आधार खडा गर्ने छ र प्रविधिले विकासलाई गतिवान् बनाइदिनेछ ।'
 
औद्योगिक आधारलाई फराकिलो पार्न र कृषिलाई आधुनिकीकरण गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको ओलीले उद्योगलाई इन्धनका रुपमा आवश्यक पर्ने ऊर्जा उत्पादन गर्न र जलस्रोतको अधिकतम उपयोग गर्न आफूहरु कटिबद्ध रहेको जानकारी दिए।
 
लगानीका लागि नेपाली बजार खुला रहेको भन्दै ओलीले अहिले देखिएका केही असहज परिस्थितीलाई नयाँ अवधारणाले चिर्ने पनि बताए। 'भूबनोटका कारण सिर्जित अवरोधलाई वन बेल्ट वन रोड अभियानले सहज पार्ने मेरो विश्वास छ,' उनले भने। वन बेल्ट वन रोड अभियान समृद्धिको सहयोगात्मक आयामहरु भेटाउने र साझा सरोकारलाई मुखरित गर्ने उनले बताए।
 
 एक चीन नीतिप्रति प्रतिबद्ध
 प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको र त्यसलाई व्यवहारमा पनि कार्यान्वयन गर्दैआएको पनि बताएका छन्। बेइजिङस्थित रेनमिन विश्वविद्यालयमा भएको ‘वान बेल्ट-वान रोड इनिसिएटिभ्स’ विषयक कार्यक्रममा ओलीले दुई मुलुकबीचको सम्बन्ध पञ्चशील सिद्धान्तमा आधारित रहेको उल्लेख गरे।
 


उनले सार्वभौम समानता, अहस्तक्षेप र एकअर्काको संवेदनशीलताप्रतिको आदरबाट दुई मुलुकको स्थिर मित्रता निर्देशित रहेको पनि बताए। 'नेपालको सार्वभौमिकतालाई जनगणतन्त्र चीनले सम्मान दर्शाउँदै आएको छ र नेपालको विकास प्रयासलाई सघाउँदै आएको छ । हाम्रा दुई मुलुक सुख र दुःखका बेलाका सदाबहार मित्र हुन,' उनले भने।
 
चीन नेपाली विद्यार्थीका लागि एउटा सुगम र महत्वपूर्ण गन्तव्यका रुपमा विकास हुँदै गएको भन्दै उनले चीनमा अध्ययनरत नेपाली विद्यार्थीको बढ्दो सङ्ख्याले ज्ञानको आदानप्रदान, सीप विकास र साझा भविष्यको सम्भाव्यतालाई चहकिलो बनाएको पनि बताए।

रासस