काठमाण्डौ । नेपाल वायुसेवा निगमले वाइड बडी जहाज खरिदका लागि अन्तिम सम्झौता चैतको अन्तिम साता गर्ने भएको छ ।

निगमले अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनसँग एयरबस ३३०–२०० सिरिजको दुई थान वाईड बडी जहाज खरिद सम्झौता चैत अन्तिम साता हुने भएको हो । कर्पोरेसनको टोली चैत २४ गते नेपाल आउँदै छ ।

निगमले जहाज खरिदको लागि बैना रकम १० करोड ७० लाख रुपैयाँ माघ दोस्रो साता नै पठाइसकेको छ । “कर्पोरेसनको टोली खरिद सम्झौताको लागि नेपाल आउँदैछ, सोही समयमा खरिद सम्झौता हुनेछ,” निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने ।

निगमले हिमालयन बैंकबाट पोर्चुगलको ‘हाइफ्लाई एयरलाइन्स’लाई बैना रकम पठाइसकेको छ । अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेसनले हाइफ्लाई एयरलाइन्सको लागि दुई वर्ष अगाडि नै एयरबस कम्पनीमा अर्डर गरेको थियो ।

“कम्पनीले टेन्डर हाल्दा सबैभन्दा बढी सस्तोमा हालेकोले अव मूल्यमा नेगोसिएसन हँुदैन,” कंसाकारले भने । अहिले आएको टोलीसँग खरिद सम्झौता मात्र हुने र पाइलट इन्जिनियर लगायत विषयमा पछिल्ला वार्ताहरूमा छलफल हुने कंसाकारले जानकारी दिए ।

निगमलाई २० करोड ८० लाख १६ हजार डलर अर्थात २२ अर्ब ६३ करोड रुपैयाँमा दुईवटा जहाज दिने प्रस्ताव कर्पोरेसनले पेश गरेको थियो । पहिलो जहाज २०७४ असोजभित्रै र दोस्रो जहाज २०७४ को चैतभित्रै ल्याइसक्ने योजना निगमकोे छ ।

निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया लन्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाइरहेको छ । जसमा निगमले उडान गन्तव्यहरू तय गर्नको लागि कार्यसमेत सुरु गरिसकेको छ । यो खबर आजको कारोबारमा छापिएको छ ।