काठमाण्डौ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले स्पष्ट शब्दमा भनेका छन् कि अब उनले अमेरिकी नागरिकहरुको ठाउँमा विदेशी कामदार राख्न अनुमति दिने छैनन् । उनले डिज्नी वल्र्ड र अन्य केही कम्पनीको नामै लिएर विदेशी नागरिकहरु अमेरिका आएर अमेरिकी नागरिकहरुको रोजगारीको अधिकार हनन् गरेका गम्भीर आरोप समेत लगाएका छन् । नवनिर्वाचित राष्ट्रपतिको यस्तो अभिव्यक्तिले एच वान बी भिसामा अमेरिकी कम्पनीहरुमा काम गरिरहेका शिक्षित विदेशी युवाहरुमा खैलाबैला मच्चिएको छ । ट्रम्पले नाम लिएका कम्पनीहरुमा धेरैजसो भारतीय र नेपाली युवाहरु कार्यरत छन् । यसको अर्थ, उनीहरुले निकट भविष्यमै रोजगारी गुमाउनुुपर्ने अवस्था आउनसक्ने मिडिया रिपोर्टमा जनाइएको छ । 

एच वान बी भिसा अमेरिकाले प्रदान गर्ने एक गैरआवासीय भिसा हो । अमेरिकास्थित विभिन्न कम्पनीलाई आइटी, फाइनान्स, अकाउण्टिङ, आर्कीटेक्चर, इञ्जिनियरिङ, म्याथम्याटिक्स, साइन्स र मेडिसिन जस्ता विषयमा ग्राजुएट गरेका विज्ञ विदेशी कामदारलाई ल्याउन(हायर गर्न) अमेरिकी सरकारले एच वान बी भिसा जारी गर्दछ । 

बिहीबार लोवामा भेला भएका आफ्ना हजारौं समर्थकका बीच ट्रम्पले भने–‘म हरेक अमेरिकीको जीवन सुरक्षित गर्न लड्नेछुु । चुनावी अभियानको क्रममा मैले त्यस्ता अमेरिकी बेरोजगारहरुसँग समय बिताएको छुु, जसले ती कम्पनीहरुमा विदेशी कामदारलाई प्रशिक्षण दिएका थिए, तर पछि आफैंले जागिरबाट हात धुुनुुपर्यो । उनीहरुलाई कामबाट हटाउनैका लागि विदेशी कामदारलाई ल्याइयो । तर अब म कुनै पनि हालतमा यस्तो अन्याय हुन दिँन्न ।’ 

उनको भाषणमा समर्थकहरुले तालीको गडगडाहटसँगै हुटिङ समेत गरेका थिए । समर्थकलाई अझ उत्साहित बनाउँदै ट्रम्पले अगाडि भने–‘तपाईलाई यस्ता कम्पनीहरुले त्यतिबेलासम्म तलब पनि दिएनन्, जतिबेलासम्म तपाईंले ती विदेशी कामदारलाई प्रशिक्षित गर्नुभएन, जब त्यो काम पूरा भयो, तपाईलाई बिना तलब समेत कतिपय ठाउँबाट गलहत्याइयो ।’ 

डिज्नी वल्र्डसहित अन्य दुुई आउटसोर्सिङ कम्पनीविरुद्ध तिनै कम्पनीका दुुई प्राविधिक कर्मचारीले संघीय कानूनअनुसार मुद्धा हालेका छन् । उनीहरुको उजुरीमा भनिएको छ कि यी कम्पनीले एच वान बी भिसामा आएका सस्ता कामदारहरुलाई राख्नका लागि उनीहरुलाई हटाउने प्रपञ्च रचेका थिए । 

यी दुुई कर्मचारी, ती कर्मचारी हुन्, जसलाई डिज्नी वल्र्डले अन्य २५० टेक्निकल कर्मचारीसँगै सन् २०१५ मा जागिरबाट निकालिदिएको थियो । लियो परेरो तथा डिना मोर नामका ती दुुई अमेरिकी कामदारले यो मुद्धामा एचसिएल इंक तथा काग्निजन्ट टेक्नोलोजीलाई समेत मुछेका छन्, यी दुवै आइटी कम्पनी हुुन् ।