काठमाण्डौ । यसै साता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली एटीएम बुथमार्फत विदेशीको खाताबाट पैसा चोर्ने गिरोहलाई समात्यो । गिरोहमा तीन जना मोल्डोभियन नागरिक थिए । 

उनीहरूले विभिन्न माध्यमबाट अकाउन्ट डाटा लिने र त्यसलाई खाली एटीएममा प्रयोग गरी पैसा झिकेको दाबी सीआईबीको छ । प्रहरीले उनीहरूको साथबाट एटीएमको डाटा मेट्न र नयाँ अकाउन्ट डाटा राख्न प्रयोग हुने स्किमर मेसिन, एक हजारभन्दा बढी अकाउन्ट डाटा नियन्त्रणमा लिएको छ । 

एटीएममार्फत यो ठगी नेपालमा पहिलो भने होइन । प्रहरीको दाबीअनुसार नेपालमा तीन वर्षदेखि एटीएम ठगी सुरु भएको हो । एटीएम ठगी पछिल्लो समय भने अनेक रूपमा देखिन थालेको छ । एटीएम ठगीमा विगतमा एटीएम बुथ प्रयोग हुने गरेको समाचार आउँथे भने पछिल्लो समय स्वाइप मेसिनको समेत प्रयोग हुने गरेको खुलासा भएको छ । 

सामान किनेपछि त्यसको भुक्तानीका लागि प्रयोग हुने स्वाइप मेसिन ठगले सामान किन्न भन्दा पनि पैसा झिक्न प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । महानगरीय अपराध महाशाखाले यसै महिना स्वाइप मेसिनमार्फत एटीएम ठगी गर्ने गिरोहलाई पक्राउ ग¥यो । यो गिरोह करोडौं रुपैयाँ स्वाइप मेसिनमार्फत निकालेपछि प्रहरीको फन्दामा परेको हो । 

एटीएम ठगीमा पछिल्लो समय केही नयाँ कुरा बाहिर आएका छन् । त्यसमा स्वाइप मेसिनको प्रयोग, नेपालीको संलग्नता र व्यवसायीको समेत मिलेमतो हुने गरेको छ । विगतमा भएका एटीएम ठगीको घटनामा विदेशीको संलग्नता मात्र देखिएको थियो । 

तर, स्वाइप मेसिनमार्फत भएको ठगीले नेपालीको संलग्नता र नेपाली व्यवसायीको मिलेमतो पनि बाहिर आएको छ । यसका कारण केही नेपाली व्यवसायी पक्राउ परिरहेका छन् भने अन्य केही फरार छन् । महानगरीय अपराध महाशाखाले गत साता मात्र पोखराबाट टीका रिसोर्टका मालिक टीका पौडेललाई पक्राउ गरी काठमाडौं ल्याएको छ । 

उनले एटीएम ठगीको गिरोहसँग मिलेर स्वाइप मेसिनबाट पैसा निकालेको प्रहरीको भनाइ छ । महाशाखाले काठमाडौंबाट पक्राउ गरेका सुरेश केसी, सञ्जय सिंह भनिने केवल प्रताप राणा, अभिषेक नकर्मी, अनुज नकर्मीको बयानका आधारमा टीका पनि यस ठगीमा संलग्न रहेको पाइएको हो । भारतका आईटी इन्जिनियर ३० वर्षीय अभिषेक पाण्डे पनि पक्राउ परेका छन् । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।