काठमाण्डौ । एटीएम पिन कोड ह्याक गरी अनाधिकृत रुपमा रकम झिक्ने अन्तराष्ट्रिय गिरोहका चार अभियुक्त खोज्न नेपाल प्रहरीले इन्टरपोलको सहयोग मागेको छ ।

नेपालस्थित बैंक तथा वित्तीय संस्थाका एटीएम बुथमार्फत विभिन्न देशका नागरिकको डेविट तथा क्रेडिट कार्ड ह्याक गरी रकम चोर्ने टर्की र रोमानियाली नागरिक पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले इन्टरपोलसमक्ष अनुरोध गरेको छ ।

टर्किस नागरिकहरु ३२ बर्षका एम कुल्प, २८ बर्षका खारानमान नाराक र ३४ बर्षका रामजान इर्तुङ र रोमानियाली नागरिक ४४ बर्षका बोगिउ भ्यालेन्टाइन रादु पक्राउ गर्न इन्टरपोलमा आवद्ध राष्ट्रका प्रहरीसँग पनि सहयोग मागिएको हो ।

राजधानीको ठमेल, दरबारमार्ग, सोह्रखुट्टे, न्युरोड लगायत एटीएम बुथबाट पिनकोड ह्याक गरी रकम झिक्दै आएका उनीहरु ब्युरोको अनुसन्धानपछि फरार भएका छन् । यो खबर आजको कारोबारमा छापिएको छ ।