काठमाण्डौ । पवनकुमार गोल्यानलाई पुनः संचालक समिति अध्यक्षमा निर्विरोध निर्वाचित गर्दै एनएमबी बैंकको २० औं बार्षिक साधारणसभा सोमबार ललितपुरको जाउलाखेलमा सम्पन्न भएको छ । 
 

पाथीभरा डेभलपमेन्ट बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, प्रूडेन्सियल फाइनान्स र भृकुटी डेभलपमेन्ट बैंकसँग मर्र्जर भएपछि आयोजित पहिलो बार्षिक साधारणसभाबाट नयाँ संचालक समिति पनि निर्विरोध चयन भएका छन् । 
 

एनएमबी बैंक मर्जरमा जानुअघि संचालक समिति अध्यक्ष रहेका पवनकुमार गोल्यानलाई पुनः सोही पदको जिम्मेवारी दिइएको छ भने संचालकहरुमा भने केही नयाँ अनुहार आएका छन् । 
 

संस्थापक शेयरधनीको तर्फबाट मनोजकुमार गोयल र रोमनीप्रसाद पाठक संचालक सदस्यमा सर्वसम्मतले निर्वाचित भए । गोयल मर्जरअघि क्लिन इनर्जी डेभलपमेन्ट बैंकको प्रमोटर तथा सीइओ थिए भने पाठक चाहि पाथीभरा विकास बैंकका संचालक थिए । यसैगरी, संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट कमलेशकुमार अग्रवाल, हरिशचन्द्र सुवेदी र हरिबाबु न्यौपाने सदस्य निर्वाचित भएका छन् । बैंकमा कर्मचारी सञ्चय कोषको समेत लगानी रहेकाले संचालक समितिका अर्का सदस्यको रुपमा सो संस्थाका प्रतिनिधि राजेन्द्र काफ्ले निर्वाचित भएका छन् । एनएमबी बैंकमा पछिल्लो समय नेदरल्याण्डको एफएमओ बैंकले लगानी गरेको छ । सो बैंकको लगानीकर्ताको तर्फबाट प्रतिनिधिको रुपमा निकु पिजोल पनि संचालक समिति सदस्यमा चुनिएका छन् । 
 

यसअघि एनएमबी बैंकको संचालक रहेका नन्दकिशोर राठी, जर्नेल नेपालभूषण चन्द, जीवनमान जोशी र मलेशियन बैंकका लगानीकर्ता प्रतिनिधि एलबीन बीकुल विदा भएका छन् ।
 

अन्तर्राष्ट्रिय स्तरका बैंकसँग साझेदारी गर्दै आएको एनएमबीबाट मलेशियन बैंक बाहिरिएपछि अहिले नेदरल्याण्डको एफएमओ बैंक भित्रिएको छ । एनएमबी बैंकले यसअघि मलेशियामा आफ्नो शाखा काउण्टर समेत खोलिसकेको छ । 
 

साधारणसभाले मर्जरपछि अन्य बैंक(मर्जरमा आएकाहरु)को मुनाफालाई सञ्चित कोषमा राख्दै एनएमबी बैंकको आर्थिक बर्ष ०७१र७२ को वितरणयोग्य नाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत ध्वनि मतका साथ पारित गरेको छ । बार्षिक साधारणसभामा प्रस्तुत बित्तीय प्रतिवेदनका अनुसार बैंकको चुक्तापँुजी ६ अर्ब २ करोड पुगेको छ । बैंकले पुस मसान्तसम्ममा ५२ अरब ४८ करोड निक्षेप संकलन गरेको छ भने ४४ अरब ६ करोड कर्जा प्रवाह गरेको छ । मर्जरपछि एनएमबी बैंकले देशभरका आफ्ना ६९ वटा शाखा, ६ वटा एक्सटेन्सन काउण्टर र ४४ वटा एटीएममार्फत ग्राहकलाई सेवा दिइरहेको छ ।