काठमाण्डौ । राष्ट्रिय स्तरको चारवटा विकास बैंकलाई गाभेर कारोबार थालेको नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले सेयरधनीलाई डबल अफर दिने भएको छ । 

यो बैंकले ८ अर्ब चुक्तापुँजी पुर्याउने उद्देश्यले ५० प्रतिशत हकप्रद र करिब १ अर्ब बराबरको बोनस सेयरको अफर दिने भएको हो । 

बिहीबार एक सूचनामार्फत एनसीसी बैंकले आगामी बैशाख १५ गतेका लागि विशेष साधारणसभा बोलाएको छ, जसको मुख्य प्रस्ताव ५० प्रतिशत हकप्रद पारित गर्नु रहेको छ । ५० प्रतिशत हकप्रद पारित भएपछि बैंकको चुक्तापूँजी ७ अर्बको हाराहारीमा पुुग्नेछ । चालु आर्थिक बर्षको खुद नाफा र चारवटा बिकास बैंकहरुको सेयर स्वाप रेसियोमा बचेको जगेडा कोषमा रहेको रकमबाट बोनस दिएर चुक्ता पूँजी आठ अर्ब पुर्याउने लक्ष्य लिएको देखिन्छ । सेयर स्वाप रेसियोको डिफरेन्स रकम ९८ करोड रुपैयाँ रहेको र त्यसैलाई बाँड्दा समेत ८ अर्ब पुँजी आरामले पुुग्ने बैंकको सीइओ रमेशराज अर्यालले बताए । 

हाल यो बैंकको चुक्तापूँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।