काठमाण्डौ । प्रत्येक वर्ष राज्यलाई सबैभन्दा बढी आयकर तिर्दै आएको एनसेलले गरेको सहयोगले स्याङ्जा जिल्लाका तीन गाउँको मुहार फेरिएको छ । 

बाह्रैमास पानीको हाहाकारले काकाकुलको नियति भोग्दै आएका ती तीन गाउँमा एनसेलले आफ्नो सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत स्वच्छ प्रविधिमार्फत खानेपानी र सिंचाईका लागि आवश्यक पानीको सुविधा समेत पुर्याइदिएको हो । 

यो सहयोगले दैनिक घण्टौ लगाएर खानेपानी संकलन गर्नुपर्ने बाध्यताबाट स्थानीयले छुट्कारा पाएका छन् । उनीहरुको नियमित आयआर्जनमा पनि खानेपानीको सुविधा र व्यवसायिक खेतीमा भएको सहयोगले बढोत्तरी भएको छ । 

स्याङ्जाका एलादी, दिप्का र ठुलादी गाउँका ७५ घरपरिवारलाई जीवनस्तर उकास्न सहयोग गर्दै पानीको बहुउपयोगका लागि सुविधा प्रदान गरिएको एनसेलले प्रष्ट्याएको छ । यो सहयोगले स्थानीयले थोपा सिंचाईमार्फत बढी मूल्य पर्ने तरकारी खेतीमा संलग्न भई अतिरिक्त आयआर्जन गर्ने अवसर पाएका छन् । 

एनसेलले यी तीनै गाउँमा तल खोलाबाट पानी तानेर माथि गाउँमा ल्याउन मिल्ने हाईड्रोलिक र्यामपम्प जडान गरिदिएको छ । गाउँको उच्च भागमा पानी ट्याङ्की निर्माण र सो ट्याङ्कीबाट पानी वितरण गर्न मिल्ने पूर्वाधारको निर्माणमा पनि सहयोग गरेको छ । हाईड्रोलिक र्यामपम्प एक स्वच्छ उर्जा प्रविधि हो, जसको माध्यामबाट खोलामा बगेको पानीलाई हावा र पानीको प्रेसरबाट अग्लो स्थानमा राखिएको ट्याङ्कीमा पठाइन्छ । 

संभवत देशमै पहिलो पटक यो क्षेत्रमा पानी वितरण प्रणालीमा सिम मिटरिङ्ग प्रविधि लागू गरिएको छ । यो प्रणालीमा सिमकार्डको सहयोगबाट के–कति पानी घरायसी प्रयोजन र सिचाईका लागि आपूर्ति भयो भन्ने तथ्याङ्क हेर्न सकिन्छ । 

स्याङ्जाका यी तीन गाउँहरु डाँडामा अवस्थित छन् र विशेषतः यहाँका महिलाहरुले स्थानीय खोलाबाट दैनिक झण्डै पाँच घण्टा लगाएर खानेपानी बोक्नुपर्ने सकस अन्त भएको छ । 

‘हामीजस्ता महिलालाई सबैभन्दा ठूलो आवश्यकता भनेको पानी नै रहेछ । सरसफाई गर्न, बिरुवामा लगाउन पानी नै चाहिएको छ । प्रत्येक घरायसी काममा पानी नै चाहिन्छ।’ दिप्काकी विष्णुमाया क्षेत्रीले भनिन्–‘पहिला हामी आकाशे पानीको भरमा बालीनाली लगाउनुपथ्र्यो, तर पानीको सुविधापछि मौसमी र बेमौसमी तरकारीहरु लगाइरहेका छौ, यसले हाम्रो आम्दानी बढेको छ ।’ अहिले यी तीन गाउँका ७५ परिवारका ४२० सदस्य र एक प्राथमिक विद्यालय पानीको सुविधाबाट लाभान्वित बनेका छन् । 

यो कार्यक्रम लागू हुनुपूर्व भरपर्दो पानीको स्रोत नहुँदा यी तीन गाउँका बासिन्दाहरुलाई निर्वाहमुखी कृषिमा भर पर्नुपर्ने अवस्था थियो । कम पोषण र सरसफाईका समस्याहरु पनि उस्तै थिए । महिलाहरुलाई आयआर्जनका लागि उत्पादनमूलक गतिविधिमा संलग्न हुने धेरै कम अवसरहरु थिए । 

एनसेलका  कर्पोरेट संवाद विज्ञ मिलन शर्माका अनुसार स्थानीय समुदाय नै यो परियोजनाका मालिक हुन् । उनीहरुलाई व्यवसायिक खेती, लघु उद्यमको तालिम समेत दिइएको छ र आफूले उत्पादन गरेको कृषिउपज बजारमा लैजाने च्यानल पनि बनाउने काम गरिएको छ । ‘यो सम्पूर्ण प्रणालीको प्रभावकारी संचालनका लागि आवश्यक सबै सहयोग हामीले प्रदान गरेका छौ।’ शर्माले भने–‘समग्रमा भन्ने हो भने यो परियोजनाले गरिबी निवारणका लािग कसरी नयाँ प्रविधिको दिगो रुपमा अबलम्बन गर्न सकिन्छ भन्ने कुरा देखाउनेछ ।’

शर्माका अनुसार संभवत देशमै पहिलो पटक यो क्षेत्रमा पानी वितरण प्रणालीमा सिम मिटरिङ्ग प्रविधि लागू गरिएको छ । यो प्रणालीमा सिमकार्डको सहयोगबाट के–कति पानी घरायसी प्रयोजन र सिचाईका लागि आपूर्ति भयो भन्ने तथ्याङ्क हेर्न सकिन्छ । 

यो कार्यक्रमलाई दिगो बनाउन तीनै गाउँमा समुदायमा आधारित संस्था स्थापना गरिएको र तिनीहरुले यो प्रविधि तथा प्रणालीको स्वामित्व ग्रहण गरेर निरन्तरता दिने वचन दिएका रिन्युएबल वल्र्डका वरिष्ठ प्राविधिक प्रबन्धक बाबुराम पौडेलले बताए । रिन्युएबल वल्र्ड यो कार्यक्रम संचालन गर्ने साझेदार संस्था हो । 

एनसेलले सन् २०१४ मा अन्र्तराष्ट्रिय गैरसरकारी संस्था रिन्युएबल वल्र्डसंगको साझेदारीमा वाटर फर एग्रिकल्चर लाइभलिहुड प्रोजेक्ट अन्र्तगत यो कार्यक्रम शुरु गरेको थियो । ग्रामीण प्रविधि केन्द्र यो कार्यक्रमको प्राविधिक साझेदार हो र  आधिखोला सामुदायिक विकास केन्द्रले स्थानीय स्तरमा यो कार्यक्रम संचालन गरेको छ ।