काठमाण्डौ । एनसेल प्रा. लि.(एनसेल) र आजीयाटा ग्रुपबर्हाद(आजीयाटा)ले साउन ३२ गते मंगलबार एनसेलको रिब्राण्डिङको घोषणा गर्दै एनसेल–आजीयाटा सम्बद्ध कम्पनीको नयाँ ब्राण्ड लोगो अनावरण गरेका छन् । 

एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिङस्मा आजीयाटाको एकल लगानी रहेको छ ।

एनसेलको नयाँ ब्राण्डमा रुपान्तरणसँगै आजीयाटाको अन्तर्राष्ट्रिय दक्षता तथा एनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवा तथा सशक्त स्थानीय धरोहरको बेजोड मेल भएको बताइएको छ । आधुनिक प्रविधि, नवीनता र डिजिटलाइजेसनलाई अपनाउँदै नेटवर्क विस्तार गर्ने र सम्पूर्ण ग्राहकको सुविधालाई अझ  बढी सुदृढ बनाउने उर्जा प्राप्त भएको कम्पनीले जनाएको छ । 

रिब्राण्डिङसँगै कम्पनीको नयाँ अध्याय सुरु भएको विज्ञप्तिमार्फत जनाइएको छ । आजीयाटा सम्बद्ध कम्पनीको रुपमा एनसेल उत्कृष्ट नेटवर्कको विकासमा दिर्घकालिन रुपमा लगानी गर्दै देशका अति विकट क्षेत्रमा रहेका नागरिकलाई समेत संचारमार्फत जोड्दै नेपालको विकासमा योगदान पु¥याउने प्रतिबद्धता समेत सार्वजनिक गरिएको छ ।

एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने–‘एनसेल एक मोवाईल नेटवर्क प्रदायक मात्र होईन, हामी नेपालको व्यावसायिक नागरिक हौं र हामी राष्ट्रको आकांक्षा बमोजिम सामाजिक, आर्थिक समृद्धिका लागि सरकारसँग सहकार्य गर्न प्रतिवद्ध छौं ।’

एनसेलले नेपाली उपभोक्तालाई आपसमा जोड्ने आफ्नो प्रतिबद्धता बमोजिम टुजी, थ्रीजी जीएसएम नेटवर्क विकासका लागि हालसम्म ७४ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । फोरजी र एलटिई जस्ता आधुनिक प्रविधिले नेपाली उपभोक्तालाई आफ्नो मोवाईल सेटमै भिडियो स्ट्रिमिङ, संगीत, गेम्स तथा कारोवार गर्ने जस्ता  थप विकसित फिचर तथा एप्लिकेसनको प्रयोग गर्न सम्भव बनाउने योजना रहेको बताइएको छ । 

सन् २०१६ का लागि एनसेलले घोषणा गरेको रु १२ अर्बको पुँजीगत लगानी बाहेक एनसेलले आफ्ना ग्राहकका लागि उत्कृष्ट सेवा संचालन सुनिश्चित गर्ने प्रतिवद्धता अन्तर्गत आगामी २ वर्षमा थप ७० अर्ब रुपैयाँ पुजीगत तथा संचालन लगानी गर्ने घोषणा समेत गरेको छ ।

एशियाको प्रमुख दुरसंचार समूहका रुपमा रहेको आजीयाटा दक्षिण एशियामा दीर्घकालसम्म सेवा प्रदान गर्दै आएको छ । आजीयाटाको श्रीलंका तथा बंगलादेशमा २० भन्दा बढी वर्षको उपस्थिति छ भने पाकिस्तान तथा भारतमा पनि लगानी रहेको छ । आजीयाटा आफू उपस्थित देशहरुमा ठूला करदाताका रुपमा रहेका कम्पनीहरु छन् ।

नयाँ ब्राण्डको अनावरणसँगै एनसेलले साउन ३२ गतेबाट लागू हुने गरी आफ्ना ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरिएको छ । जसअन्तर्गत एनसेलका सम्पूर्ण ग्राहकले अन नेट ५० मिनेटको टक टाईम तथा ५०० एसएमएस निःशुल्क प्राप्त गर्न सक्छन् ।

एनसेलका सबै ग्राहकले एष्ट्रिक्स १७१२१ ह्यास डायल गरी यो योजनामा निःशुल्क सहभागी हुन सक्छन् र प्राप्त ५० मिनेट टक टाईम तथा ५०० एसएमएस एनसेलको कुनै पनि अर्को नम्बरमा कल गर्न र एसएमएस पठाउन प्रयोग गर्न सक्छन् । यसरी प्राप्त टक टाईम र एसएमएसको समयावधि एक हप्ताको रहेको छ ।

यो योजनाभदौ १४ गतेसम्म लागू हुने र योजना अवधिमा एकपटक मात्र निःशुल्क टकटाइम तथा एसएमएस प्राप्त हुनेछ ।

एनसेल नेपालको सबैभन्दा ठूलो करदाता रहेको छ । हालकम्पनीले करिब १ करोड ४० लाखग्राहकलाई सेवा प्रदान गरिरहेको छ भने करिब ४० हजार नेपाली प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् । एनसेलले देशमा ८५ अर्ब भन्दा बढीको स्थिर सम्पत्ति सृजना गरेको छ ।

उता, एसियाको एक अग्रणी दूरसञ्चार समूहको रुपमा रहेको आजीयाटा हाल १० वटा देशमा उपस्थित छ र करिब २९ करोड ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । मोबाइल नेटवर्क संचालन, संचार पूर्वाधार सेवा, डिजिटल सेवा जस्ता विविध क्षेत्रमा अनुभव संगालेको यो समूहले आफ्नो ‘एडभान्सिङ् एसिया’ को परिकल्पनामा उत्कृष्ट कनेक्टिभिटी, प्रविधि र जनशक्तिलाई एकसाथ समेटेको छ ।

आजीयाटा गु्रपका कम्पनीहरुमा मलेसियामा सेलकम, इन्डोनेसियामा एक्सएल, श्रीलंकामा डायलग, बंगलादेशमा रोबि, क्याम्बोडियामा स्मार्ट र नेपालमा एनसेलको ब्राण्डमा सञ्चालित छन् । आजीयाटा ग्रुपको भारतको आईडिया र सिंगापुरको एमवानमा पनि लगानी छ ।