काठमाण्डौ । खरीद बिक्रीमा पूँजीगत लाभकर नतिरेको विदेशी लगानीमा संचालित निजी स्तरमा देशकै ठूलो दूरसंचार प्रदायक कम्पनी एनसेल बहिस्कारको अभियान भूसको आगो झै देशभर फैलन थालेको छ । 

देशका विभिन्न क्षेत्रबाट युवाहरुले स्वस्फूर्त रुपमा नेपाललाई एनसेल खरीद बिक्रीमा पूँजीगत लाभकर नतिरी टेलियासोनेरा कम्पनीका मालिक भागेका आक्रोशमा एनसेल बहिस्कार अभियानलाई तीव्र पारेका हुन् । 

केही दिनअघिदेखि झापा र काठमाण्डौबाट सुरु भएको एनसेल बहिस्कार अभियान बिस्तारै देशका अन्य भागमा समेत भूसको आगो झै फैलिन थालेको छ । सामाजिक सञ्जालहरुमा एनसेलको दादागिरी र सरकारी निकम्मापनको विरोध भइरहेको बेला सुरु भएको अभियानलाई उर्जा दिने काम सांसदहरुले समेत गरेका छन् । संसद बैठकमा नेपाली कांग्रेस, एमाओवादी लगायतका दलका सांसदहरुले सरकारकै निकम्मापनका कारण देशले अरबौ राजश्व उठाउन नसकेको भन्दै एनसेल बहिस्कार र यसको खारेजीसम्मको माग गरेका छन् । हुँदा हुँदा अब एनसेलबाट पूँजीगत लाभकर उठाउन नसकेको बिषय सरकार परिवर्तनको बिषयसँग समेत जोडिएको छ । कांग्रेसका सभासदहरुले सरकार परिवर्तनका आवश्यकताको सान्दर्भिकताका बुँदामा एनसेलको कर उठाउन नसक्नुलाई समेत प्रस्तुत गर्न थालेका छन् । 

कांग्रेस सभासद रामहरि खतिवडाले एनसेलको स्वामित्व हस्तान्तरणमा कर छली भएको बिषय गम्भीर रहेको उल्लेख गर्दै दूरसञ्चार सेवा प्रदायक एनसेलमा कर नउठ्नुमा समेत प्रधानमन्त्रीको असफलता रहेको दाबी गरे । संसदमा बोल्दै उनले भने–‘एनसेलका मालिकसँग कर किन नतिरेको भनेर हामीले सोधेका थियौं, उनीहरु हाम्रो सेटिङ प्रधानमन्त्रीसँग समेत छ भन्छन्, कुरा के हो प्रष्ट पार्नुपर्छ, जनतालाई गुमराहमा राख्न पाइन्न ।’

उता, बुधबार भएको सार्वजनिक लेखा समितिको बैठकमा कांग्रेसका अर्का सभासद धनराज गुरुङले कर नतिर्ने हो भने एनसेलमाथि प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिए । उनले सार्वजनिक लेखा समितिले सरकारलाई एनसेल खारेजीका लागि स्पष्ट निर्देशन दिनुपर्नेमा जोड दिए । 

इटहरीमा एनसेलको विरुद्धमा भएको प्रदर्शनका सहभागी । 

कांग्रेसकै केही पूर्व अर्थमन्त्रीहरुले समेत केही दिनअघिदेखि एनसेलबाट कर लिनुपर्ने बताउँदै आएका छन् । कांग्रेसका युवा नेता विश्व प्रकाश शर्माको अगुवाईमा झापाबाट समेत सुरु भएको एनसेल बहिस्कार अभियानले अन्य दलका युवाहरुलाई समेत तताउन थालेको छ । 

बुधबारदेखि सुरु भएको सरकार परिवर्तनको रस्साकस्सीकै बीच एमाओवादी निकट युवा संगठन वाइसिएलले समेत सरकारकै लापरबाहीका कारण एनसेलले पूँजीगत लाभकर नतिरेको आरोप लगाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै वाइसिएलले एनसेल कम्पनीको मूल्य नेपाली जनताले तिरेको सानो–सानो रकमबाट सिर्जना भएको भन्दै त्यसबाट उन्मुक्ति खोजेमा प्रतिरोध गर्ने चेतावनी दिएको छ । 

‘सम्पत्ति जुन देशमा सिर्जना भएको हुन्छ, राजश्व त्यही देशले पाउनुपर्छ ।’ अध्यक्ष आरसी शर्मा र महासचिव दीपशिखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘नेपाली जनताले तिरेको शुल्कबाट आर्जित सम्पत्तिमा लाग्ने करको मालिक नेपाली जनता नै हुन् । नेपाली जनतालाई छलेर केही सीमित व्यक्ति तथा संस्थालाई लाभ हुने गरी करबाट उन्मुक्ति दिन पाइन्न ।’

नेपालको आयकर कानुनले पनि कर लिने व्यवस्था ग्यारेण्टी गरेको भन्दै यदि कसैले कानुनको गलत व्याख्या गरेर कर उन्मुक्ति दिन खोजे त्यसको कडा प्रतिरोध गर्ने वाइसिएलले चेतावनी दिएको छ । वाइसिएलले सरकारकै मुख्य व्यक्ति र केही कर्मचारीको मिलेमतोमा केही करोड गोजीमा हालेर एनसेललाई अर्बौ रुपैयाँको कर छुट दिइएको भन्दै यो प्रकरणमा भएको भ्रष्टाचारको भण्डाफोर गरिछाड्ने चेतावनी समेत दिएको छ । वाइसिएलले यो प्रकरणमा प्रभावकारी काम नगरेको भन्दै संसदको अर्थ, विकास तथा लेखा समितिका अधिकारीको नियतमाथि समेत प्रश्न उठाएको छ । समितिले एनसेलको खरीदबारे छलफल गरेजस्तो गरी मुद्धा किनारा नलगाई छाड्नुले समितिकै अधिकारी समेत बिकेका आरोप लगाइएको छ । 

यसैबीच, पूँजीगत लाभकर नतिरेको भन्दै इटहरीका युवाहरुले ‘नो ट्याक्स नो एनसेल’ अभियान नै सुरु गरेका छन् । उनीहरुले एनसेलका केही दर्जन सीमकार्ड बुधबार कम्पनीको स्थानीय बिक्रेतालाई फिर्ता गरिदिएका छन् ।  इटहरीको मुख्य चोकमा भेला भएका युवाहरुले ‘एनसेल पे योर ट्याक्स, नो ट्याक्स नो एनसेल’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । उनीहरुले एनसेलको स्थानीय बिक्री केन्द्रमा पुगेर सीमकार्ड फिर्ता गरेका थिए । अभियानमा युवाहरुलाई साथ दिन सहभागी भएका प्रा.डा.टंकप्रसाद न्यौपानेले आफ्ना नागरिकबाट सानो भन्दा सानो कारोबारमा कर असूल्ने राज्यले एनसेललाई अर्बौ कर छुट दिने प्रपञ्चमा लागेको भन्दै विरोध जनाए । युवा तथा अभियन्ताहरुले एनसेलले कर नतिरेसम्म बहिस्कारको अभियान जारी रहने स्पष्ट पारे । 

झापामा सुरु भएको एनसेल बहिस्कार अभियान । 

उता, झापामा पनि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता विश्वप्रकाश शर्माको अगुवाईमा एनसेल मोबाइल बहिस्कार अभियान चलिरहेको छ । ‘४० अर्ब नतिर्ने एनसेलविरुद्ध ४० युवाको चार दिने अभियान’ नाम दिइएको अभियानमा एनसेलबाट फोन नगर्ने र एनसेलबाट आएको फोन नउठाउने क्रम चलिरहेको छ । अभियान्ताहरुले ‘एनसेललाई कि कर तिराउ कि ताला लगाउ’ भन्ने माग गरेका छन् । नेता शर्माले यो अभियानलाई प्रभावकारी ढंगले देशव्यापी बनाउने तयारी गरिएको जानकारी दिए ।