काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अन्तराष्ट्रिय स्तरको ब्राण्डका लागि लगानीकर्ताले मरिहत्ते गर्दा त्यसले बजार प्रभावित भएको छ । यो बैंकको एफपीओ खुलेको पहिलो दिन नै बजारमा त्यसको प्रभाव देखिएको हो । फलस्वरुप नेप्से परिसूचक ८.१४ अंकले घटी १३४७.०९ को बिन्दुमा आइपुुगेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको उच्च कारोबारसँगै कारोबार रकम ५३ करोडको छेउछाउ पुुगेको छ । सामान्य अवस्थाको सेयर कारोबार(इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको कारोबार छाडेर) हेर्ने हो भने नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको देखिन्छ । यसरी परिसूचक र कारोबार दुवै एकसाथ घट्नुुले आगामी दिन बजारमा अझ धेरै जोखिमहरु आउनसक्ने संकेत गर्छ । स्ट्याण्डर्ड चार्टर्डको एफपीओले यो जोखिमलाई अझ बढाइदिनेछ । यसले बजार अरु केही दिन घट्ने संभावना बढेको विश्लेषकको भनाई छ । 

मंगलबार बजारका अधिकांश सूचकमा रातो पोतियो । उत्पादनमूलक समूह ४.६६ अंकले बढे पनि बाँकी सबै समूहको सूचकमा रातो पोतियो । सबैभन्दा बढी वाणिज्य बैंक समूह ११.७२ अंकले बढ्यो । यस्तै, विकास बैंक र बित्त समूहमा क्रमशः १.४९ र २.२ अंकको गिरावट देखियो । होटल समूह २७.२, जलविद्युत समूह १०.४७, बिमा समूह ५.६६ र अन्य समूह १.७३ अंकले घटे । 

क वर्गका कम्पनीको कारोबार सुस्ताएका कारण सेन्सेटिभ इण्डेक्स १.७७ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६१ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार १ सय ३७ कम्पनीका कुल ५२ करोड ८५ लाख बढीमा ९ लाख ४५ हजार २ सय २८ कित्ता सेयर किनबेच भए । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको २१ करोड ९ लाख बढीको संस्थापक सेयर खरीदबिक्री भयो । एशियन लाइफ इन्स्योरेन्सले २ करोड २६ लाख, सानिमा बैंकले २ करोड ७ लाख, एनबी बैंकले १ करोड ९२ लाख, एनसीसी बैंकले १ करोड ५९ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ५५ लाख बढीको कारोबार गरे । मंगलबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक र ४ स्थान विमा कम्पनीहरुले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
सेयर मूल्यमा ४.४० प्रतिशतको बढोत्तरी गरी सेती फाइनान्स सबैभन्दा धेरै कमाउने कम्पनीमा दर्ज भयो । यस्तै, हिमालयन डिस्टीलरी लिमीटेड र सिन्धुु विकास बैंकले ४ प्रतिशतको हाराहारीमा कमाए । 

मंगलबार सबैभन्दा बढी ओरिएन्टल होटल लिमीटेडका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य ५.६८ प्रतिशतले घट्यो । यस्तै, अपी पावर कम्पनी र महालक्ष्मी विकास बैंकको सेयर मूल्य क्रमशः ५.२८ र ५ प्रतिशतले ओरालो लाग्यो ।